अब सेयर किन्नका लागि ब्रोकर कम्पनीहरुले नै ऋण दिने भएका छन्।
लगानीकर्ताले सेयर मूल्यको आधाभन्दा बढी रकम ब्रोकर कम्पनीहरुबाट ऋण स्वरुप पाउने छन्। यस्तो ऋण प्रदान गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन लेन्डिङ’को कार्यविधीलाई अन्तिम रुप दिएको छ।
केही दिनमै यो कार्यविधि पारित भई कार्यान्वयनमा जाने धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए। उनले भने ‘कार्यविधिमा केही विषय थप गरेर यसलाई अन्तिम रुप दिइएको छ, आजभोलि नै बोर्ड बैठकले यसलाई पारित गर्नेछ।’
धितोपत्र बोर्डले कार्यविधि पारित गरेपछि लगानीकर्ताले ब्रोकर कार्यालयबाटै सेयर खरिदका लागि ऋण सुविधा पाउने छन्। लगानीकर्ताले किन्ने सेयरमा पचास प्रतिशतभन्दा बढी रकम ब्रोकर कम्पनीहरुले ऋणस्वरुप दिनेछन्। लगानीकर्ताले सेयरको कुल मूल्यमा आधा रकम भएपछि खरिद गर्न सक्नेछन्। यद्यपी सबै कम्पनीका सेयरमा भने यो सुविधा रहने छैन।
बोर्डका अनुसार कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोवार सुविधा उपलब्ध हुनेछ।
यसरी लगानी गरेवापत अवधिअनुसार सेयरधनीले ब्रोकरलाई पुरा रकम नतिर्दासम्म सेवा शुल्क तथा व्याज भने बुझाउनुपर्नेछ। सेयरवापत लिएको ऋण रकम, शुल्क तथा व्याजदर पुरा नबुझाएसम्म खरिद भएको सेयर लगानीकर्ताले बेच्न पाउँदैनन्। हालसम्म ब्रोकरमार्फत मार्जिन सुविधा नहुँदा लगानीकर्तालाई सेयर धितो राखी बैंकमार्फत नै ऋण लिनुपर्ने बाध्यता रहँदै आएको छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार विभिन्न बैंकहरुबाट ४० अर्ब रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ।
मार्जिन कारोवार सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। मार्जिन कारोवार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने व्यवस्था छ।
ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा ब्रोकर कम्पनीलाई सो शेयर विक्री गर्न सक्ने अख्तियारी हुनेछ।
यस्तो मार्जिन ट्रेडिङमा ब्रोकर कम्पनीले सम्बद्ध बैंकसँग सम्झौता गरेर ऋण सुविधा दिनेछन्। जसले गर्दा लगानीकर्ता ब्रोकर कम्पनीसँग र ब्रोकर कम्पनी बैंकसँग जोडिने भएकाले यस्तो ऋणमा लगानीकर्तालाई लागत बढी पर्ने केहीको विश्लेषण छ।
लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘दीर्घकालीन लगानी गर्नेहरुका लागि यो उपयुक्त हुँदै होइन, लागत महँगो पर्न जान्छ।’ छोटो अवधिमा कारोबार गरिरहने, उतारचढावबाट फाइदा लिन खोज्नेलाई र तुरुन्त नगद भुक्तानी गर्न नसक्नेलाई राहत हुने उनले बताए।
विवेक नपुर्याई यस्तो कर्जा लिँदा लगानीकर्तामा जोखिम झन् बढ्ने उनको बुझाई छ। मार्जिन लेन्डिङले सेयर कारोबारमा ‘भोल्युम’ भने बढ्ने खरेलको दावी छ।
‘एक लाख रुपैयाँ हुनेले दुई लाखको सेयर किन्न पायो, यसले कारोबार बढ्यो’ उनले भने ‘तर भोलि बजार घट्दा उसको सम्पत्ति त घट्यो नै, ऋणवापतको शुल्क तथा व्याजले झनै नोक्सान पर्ने भो।’
पुँजी बजारका अन्य कमजोर पक्षहरु मजबुत नबनाएसम्म यो मार्जिन लेन्डिङको सुविधा उपयुक्त नहुने उनको तर्क छ। ‘सिस्टमहरु कमजोर छ, बेलाबेलामा नेप्सेकै साइट चल्दैन, मार्केट डिलर छैन, बजारमा उत्पादनमूलक उद्योगहरु छैनन्’ उनले भने ‘ति क्षेत्र सुधार गरेर मात्रै मार्जिन लेन्डिङतिर लाग्नुपर्थ्यो।’