राजधानीको भृकुटीमण्डपमा पुँजी बजारसम्वन्धी एक्स्पो हुने भएको छ। वैशाख २६ र २७ गते ‘क्यापिटल मार्केट एक्स्पो’ संचालन हुने भएको हो। नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसर पारेर नेपालमै पहिलो पटक ‘क्यापिटल मार्केट एक्स्पो’ हुन लागेको हो।
कार्यक्रमको इभेन्ट मेनेजरमा मिडिया इन्टरनेशनल रहेको छ। दुई दिनसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने प्रदर्शनीमा पुँजी बजारसँग सम्वन्धित कम्पनी एवम् संस्थाहरुले आ–आफ्नो स्टल संचालन गर्नेछन्।
प्रदर्शनीमा मर्चेन्ट बैंकर, सेयर ब्रोकर, म्युचुअल फण्ड, क्रेडिट रेटिङ कम्पनी, नेपाल धितोपत्र बोर्ड लगायतका स्टल रहने बताइएको छ।
कार्यक्रममा पुँजी बजारका बारेमा हालसम्म प्रकाशन भएका विविध अध्ययन सामग्रीहरुको निःशूल्क वितरण, पुँजी बजारका विज्ञहरुको उपस्थितीमा अन्तक्र्रिया कार्यक्रम संचालन र सहभागीहरुका मनमा उठेको जिज्ञासाहरुको सम्बोधन समेत गरिनेछ।
धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीले बोर्डको स्थापना भएको २६ वर्षमा पहिलोपटक क्यापिटल मार्केट एक्स्पोको आयोजना गर्न लागिएको बताए।
‘अहिले सेयर बजारमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति बढिरहेको अवस्था छ, बजारमा जोखिम कम गर्नका लागि सेयर बजारबारे सचेतना अभिवृद्धि गर्नु अत्यन्तै आवश्यक छ’ उनले भने। एक्स्पोको अवलोकन गरी लगानीकर्ता, विद्यार्थी एवम् सर्वसाधारणहरुले भरपूर लाभ उठाउन उनले आग्रह गरे।
सेयर बजारमा संलग्न हुन चाहने लक्षित गरेर मेला आयोजन हुन लागेको मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बताए। एक्स्पोको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नेछन्। प्रवेश निःशूल्क रहेको छ।