रकमका आधारमा बिहीबार सेयर कारोबार दुई गुणाले बढेको छ। अघिल्लो दिन ३८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस दिन ७६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
कारोबार रकममा उल्लेख्य वृद्धि देखिँदा नेप्से परिसूचक भने पाँच अंकले बढ्यो। अघिल्लो दिनको तुलनामा ५. ७७ अंकले बढेको नेप्से १३६६ अंकमा कायम भएको छ। होटल र अन्य समूहबाहेकका सबै समूह बढेका छन्। होटल ८ र अन्य २ अंकले ओर्लिएका छन्।
बैंकिङ ३, विकास बैंक ३, जलविद्युत १७, फाइनान्स ३, बिमा ७५, उत्पादन १० र माइक्रोफाइनान्स १६ अंकले बढे। आजको कारोबारपछि बजारको पुँजीकरण १६ खर्ब ३ अर्ब कायम भएको छ।
कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ७३ लाखको कारोबार भयो। राष्ट्रिय बिमा कम्पनीको संस्थापक तथा चिलिमे हाइड्रोको कारोबार पनि उच्च रह्यो।
सूर्योदय लघुवित्तका लगानीकर्ताले यस दिन सबैभन्दा धेरै साढे ९ प्रतिशत कमाए। महिला सहयात्रा माइक्रोफाइनान्स र हाथवे इन्भेष्टमेन्ट कम्पनीको मूल्य ७ प्रतिशतले बढ्यो। गुमाउनेमा मितेरी डेभलपमेन्टका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ।