सिभिल बैंकले ‘ट्याब बैंकिङ’ सेवा थालेको छ। ‘घरमै बसी, बैंकिङ खुसी’ भन्ने नाराका साथ बैंकले थालेको यस सेवाको डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे।
यस सेवाअन्तर्गत ग्राहकले आफ्नो घर, अफिस तथा चाहेकै स्थानबाट खाता खोल्न, चेक डिपोजिट गर्न तथा बैंकिङ सुविधाहरु लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए।
ग्राहकले एक कल फोन गरेपछि बैंकका कर्मचारी ट्याब लिएर घरमै आउनेछन्। त्यही ट्याबबाट कर्मचारीहरुले ग्राहकको सम्पूर्ण विवरण भर्नुका साथै तस्वीर खिच्ने, नागरिकताको प्रतिलिपी लिने तथा औंठाछाप समेत लिने छन्।
यस सेवाबाट बुढाबुढी, महिला तथा बिरामी र फरक क्षमताका व्यक्तिहरुलाई विशेष लाभ पुग्ने बैंकले जनाएको छ। सो अवसरमा डेपुटी गभर्नर श्रेष्ठले प्रविधिको भरपुर प्रयोग गरेर बैंकहरुले वित्तीय पहुँच बढाउन सक्ने बताए।
यद्यपी ट्याब बैंकिङ नौलो तरिका भएकाले यसबाट आउन सक्ने जोखिमप्रति भने बैंक सजग रहनुपर्नेमा उनले जोड दिए। शहरी क्षेत्रमै बसोबास गर्नेहरु समेत बैंकिङ पहुँचबाहिर रहेकाले उनीहरुलाई पहुँचमा ल्याउन सिभिल बैंकको यो अभियानले मद्दत पुग्ने श्रेष्ठले विश्वास गरे।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकमा गएर खाता खोल्न झन्झटिलो मान्नेहरुका लागि ट्याब बैंकिङ सेवाले राहत पुग्ने बताए। हाल १० वटा ट्याबबाट यो सेवा सुरु गरिएको जानकारी दिँदै उनले पछि विस्तार गर्दै लगिने बताए।
बैंकले यस आर्थिक वर्षभित्र शाखा संख्या ७० पुर्याउने लक्ष्य लिएको उनले बताए। हाल बैंकको शाखा संख्या ६० छ। चालु आर्थिक वर्षको नौ महिनामा बैंकले ३५ करोड खुद नाफा कमाएको जानकारी दिँदै उनले गत वर्षको यस अवधिमा भन्दा १२७ प्रतिशतले नाफा बढेको बताए।
त्यस्तै बचतमा हुने मुद्दती निक्षेप संकलनमा पनि उल्लेख्य वृद्धि भएको उनले बताए।