अघिल्ला दुई दिन कारोबार बन्द रहेको सेयर बजार बुधबार भने दोहोरो अंकले बढेको छ। ११ अंकले नेप्से बढेर १३६० अंकमा कायम भएको छ। कुल १५८ कम्पनीको ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
क वर्गका कम्पनीको मापक सेन्सिटिभ इन्डेक्स २ अंकले बढ्यो। बिमा समूहमा उल्लेख्य वृद्धि भएको छ। सो समूह १०७ अंकले बढेको छ।
त्यस्तै माइक्रोफाइनान्स ४६, अन्य १६, होटल २३, जलविद्युत २६, विकास बैंक ८ र वाणिज्य बैंक समूह २ अंकले बढे। उत्पादन र फाइनान्स समूह भने रातो अंकमा रहे। उत्पादन २० र फाइनान्स ३ अंकले घटे। कारोबारका आधारमा स्वदेशी लघुवित्तका लगानीकर्ता अग्रस्थानमा रहे।
यस दिन सो कम्पनीको २ करोड ७५ लाख रुपैयाँको कारोबार भयो। सो कम्पनीका लगानीकर्ता कमाउनेमा पनि अगाडि देखिए। कम्पनीको मूल्य ९. ९ प्रतिशतले बढेर प्रतिकित्ता १७७६ पुगेको छ।
नेसनल लाइफ इन्स्योरेन्सको १ करोड ४८ लाखको कारोबार भयो। नेपाल बैंकको १ करोड ४३ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोको १ करोड ३७ लाखको कारोबार भयो।
सेयर संख्याको आधारमा नेपाल बैंकको कारोबार उच्च रह्यो। मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाए।
सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाए।