अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय बैंकले गलत गरेमा कारबाही गर्ने निकाय रहेको भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन्।
राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको सुभारम्भका अवसरमा खतिवडाले नराम्रो काम गरे आफूलाई पनि कारबाही गर्ने संयन्त्र रहेको र राष्ट्र बैंकलाई पनि रहेको उल्लेख गरे।
राष्ट्र बैंकभित्र खराव नियतले काम गर्नेहरु पनि रहेको उल्लेख गर्दै उनले संस्थालाई बदनाम गर्न खोज्नेलाई कारबाही गर्न निर्देशन दिए।
कर्मचारीहरुले कारबाहीको फाइल लुकाउने, अनुशासनमा नबस्ने, काम नगर्ने जस्ता गतिविधि भए त्यसलाई राष्ट्र बैंकले नियमनमा ल्याउनुपर्नेमा उनले जोड दिए।
यसअघि राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कर्मचारीहरु अनुशासनमा नरहने गरेको बताएका थिए। पोशाक भत्ता लिने तर पोशाक नलगाउने, समयमै काम सम्पन्न नगर्ने, कर्मचारीको कारबाहीका लागि अध्ययन गरिएका फाइलहरु लुकाउनेजस्ता गतिविधि कर्मचारीबाट हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।
राष्ट्र बैंक पछिल्लो समयमा वित्तीय सुशासनका लागि कमजोर बन्दै गएको औंल्याउँदै गभर्नर खतिवडाले वित्तीय चक्रमा समस्याहरु बारम्बार आइरहने भएकाले राष्ट्र बैंक सधै मजबुत र चनाखो रहनुपर्नेमा जोड दिए।
कुनै बेला राष्ट्र बैंक खुकुलो बन्दा संकटले चरम रुप लिन सक्ने भन्दै उनले राष्ट्र बैंक सदा नीति तथा कार्यक्रमको कार्यान्वयनमा अडिग रहनुपर्ने बताए।
राष्ट्र बैंकका वित्तीय नीति तथा कार्यक्रम कहिलै पनि खुकुलो हुन नहुने भन्दै उनले नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे।