दसैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।
यात्रुको आवतजावत सुरू भइसकेकाले अग्रिम टिकट खुला गर्न आवश्यक नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए।
मंगलबार यातायात व्यवस्था विभागमा सबै पक्षको छलफल भएको थियो। छलफलमा अध्यक्ष स्वाँरले काठमाडौंबाट यात्रु बाहिरिने क्रम बढेकाले दसैंकै लागि भनेर टिकट बुकिङ खुलाउन आवश्यक नरहेको बताएका हुन्।
उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको समेत जानकारी दिए।
‘अब यो दशैंका लागि भनेर टिकटको खोल्नुपर्ने अवस्था हामीले देखेनौं। किनभने अहिले नै जस्तो युनिर्भसिटी अहिले नै बिदा भइसके। त्यो भएको हुनाले अब रहेका विद्यार्थीहरू लगायतका पब्लिक करिब ५० हजार मानिसहरू गोंगबु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ,’ उनले भने, ‘त्यो हुनाले अब अग्रिम बुकिङ आवश्यक छैन। दशैंका लागि विशेष बुकिङ हुँदैन। ३-४ दिन अघि नै टिकट दिने निर्णय गरेका छौं।’