धर्मेन्द्र बलिउडका यस्ता अभिनेता हुन्, जसले करिब ६ दशक लामो करिअरमा राजेश खन्ना, अमिताभ बच्चन, शाहरूख खान वा सलमान खानभन्दा बढी हिट फिल्म दिएका छन्, तर उनी कहिले पनि बलिउडका 'सुपरस्टार' कहलिएनन्।
मुम्बईको आफ्नै घरमा सोमबार निधन भएका धर्मेन्द्रले एक्सनदेखि रोमान्टिक हिरोसम्मका विविध भूमिका निर्वाह गरेका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार उनले आफ्नो करिअरमा ३०० भन्दा बढी फिल्म खेलेका थिए। तीमध्ये ७५ वटा सुपरहिट भए।
सुपरहिट फिल्मको यो संख्या अमिताभ बच्चन, राजेश खन्ना, शाहरूख खान र सलमान खानको भन्दा बढी हो।
अमिताभ बच्चनले अहिलेसम्म ५७ सुपरहिट फिल्म दिएका छन् भने राजेश खन्नाका ४२ फिल्म सुपरहिट थिए। त्यस्तै, शाहरूख खानले ३५ र सलमान खानले ३८ सुपरहिट फिल्म दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यति धेरै हिट फिल्म दिए पनि धर्मेन्द्र आफ्नो पुस्ताका सबभन्दा 'ठूला' स्टार भने कहलाएनन्।
धर्मेन्द्रको खास नाम धर्मेन्द्र केवलकिशन देओल हो। उनले २४ वर्ष उमेरमा 'दिल भी तेरा हम भी तेरे' (१९६०) बाट आफ्नो फिल्मी करिअर सुरू गरेका थिए।
पहिलो केही वर्षमा उनी 'बन्दिनी', 'आई मिलन की बेला', 'काजल' जस्ता हिट फिल्ममा सहायक भूमिकामा देखिए।
उनको वास्तविक स्टारडम सन् १९६५ को युद्धमा आधारित फिल्म 'हकीकत' बाट सुरू भयो। त्यसपछि आयो 'फूल और पत्थर', जसले उनलाई 'स्टार' का रूपमा स्थापित गरिदियो।
१९७० को दशकमा उनी लगातार शीर्ष स्टारका रूपमा चिनिन थाले। अनुपमा, आदमी और इन्सान, मेरा गाँव मेरा देश, सीता और गीता, शोले, लोफर, यादोँ की बारात, धरमवीर लगायत थुप्रै फिल्म हिट भए।
८० को दशकमा उनी एक्सन फिल्मतर्फ मोडिए। अधिकांश कम बजेटका भए पनि बदले की आग, गुलामी, लोहा, एलान-ए-जंग जस्ता फिल्मले राम्रो व्यापार गरे।
उनी जब बलिउडमा प्रवेश गरेका थिए, यहाँ 'सुपर स्टार' को ख्याति दिलीप कुमारले ओगटेका थिए।
त्यसपछि केही समय राजेश खन्नाले र उनीपछि अमिताभ बच्चनले सुपरस्टारको उपाधि लिए। धर्मेन्द्रलाई भने कहिले पनि सुपरस्टार भनिएन।
धर्मेन्द्रका धेरैजसो हिट फिल्म दुई वा दुईभन्दा बढी हिरोवाला थिए—जस्तै शोले, यादोँ की बारात, मेरा गाँव मेरा देश, धरमवीर आदि। उनले अमिताभ बच्चन, विनोद खन्ना र जितेन्द्रसँग थुप्रै फिल्म खेलेका छन्।
उनकै समयका अरू अभिनेता भने लगातार एकल हिट फिल्म दिइरहेका थिए।
उनले पनि एकल हिट फिल्म नदिएका होइनन्। तर ती साना बजेटका हुन्थे।
धर्मेन्द्रले आफ्नो करिअरमा ६ ब्लकबस्टर र ७ सुपरहिट फिल्म दिएका छन्। सँगसँगै १५० वटा फिल्म फ्लप पनि भएका छन्। बलिउड इतिहासमै यति धेरै फ्लप फिल्म दिने उनी मिथुन चक्रवर्तीपछि दोस्रो अभिनेता भएको हिन्दुस्तान टाइम्स लेख्छ।
धर्मेन्द्र आफ्नै निर्णयप्रति सधैं स्पष्ट थिए। उनले ८० को दशकमा 'बी-ग्रेड एक्सन' मा किन खेले भन्ने प्रश्नमा हिन्दुस्तान टाइम्ससँग भनेका थिए, 'म ५० वर्ष कटे पनि हेलिकप्टरबाट हाम फाल्दैछु, यो आफैमा ठूलो कुरा हो। म फिल्मलाई प्रेम गर्छु। त्यसैले अवसर पाएँ भने साइन गरिदिन्छु।'
त्यो समय उनले खेलेका धेरै फिल्म एउटै जस्तै लागे पनि ती केही चल्थे, धेरै फ्लप हुन्थे।
'जनताले आज पनि मलाई दौडिरहेको, लडिरहेको हेर्न चाहन्छन् र त्यही देखेर मान्छे खुसी हुन्छन् भने त्यसमा के गलत छ,' उनी भन्थे।
सन् ९० दशकमा धर्मेन्द्रका छोराहरू सनी देओल र बबी देओल स्टार बनेसँगै धर्मेन्द्र पनि बिस्तारै 'सिनियर' भूमिकातर्फ उन्मुख भएका थिए।
उनको पहिलो यस्तो भूमिका 'प्यार किया तो डरना क्या' (१९९८) मा थियो। पछि उनी छोरासँग 'यमला पगला दीवाना' श्रृंखला र 'अपने' मा देखिए।
कोरोना महामारीपछि ८० वर्ष नाघिसकेका धर्मेन्द्र फेरि दुई फिल्ममा देखिए — रक्की और रानी की प्रेम कहानी र तेरी बातोँमें ऐसा उलझा जिया।
अहिले उनी श्रीराम राघवनको नयाँ फिल्म 'इक्कीस' मा देखिन लागेका छन्, जुन अर्को महिना रिलिज हुँदैछ। उक्त फिल्मको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए। उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ।
धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहना देओल छन्।