भदौ २३ गतेको जेनजी आन्दोलनमा उच्छृंखल गतिविधिका लागि प्रयोग भएका मोटरसाइकलहरू प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
आन्दोलनका क्रममा साइलेन्सर पड्काउँदै बिजुलीबजार क्षेत्र र काठमाडौंका अरू ठाउँहरूमा कुदाइएका मोटरसाइकललाई विभिन्न मितिमा नियन्त्रणमा लिएको थियो।
त्यस्ता झन्डै एक दर्जन मोटरसाइकल जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो।
जेनजी आन्दोलनमा बानेश्वर क्षेत्रमा साइलेन्सर पड्काउँदै हिँड्ने टिओबी समूहको भनिएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
टिओबीका मुख्य व्यक्ति भनिने तेन्जिन दावा लामा हिरासतमै छन्।
प्रहरीले शनिबार टिओबीबारे अनुसन्धानका खुलेका कुराहरू पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार टिओबीको स्थापना सन् २०२४ को जुन १० मा भएको खुलेको छ। यसको संस्थापक अध्यक्ष तेन्जिन लामा हुन्।
बौद्धको फुलबारी कम्प्लेक्समा सन् २०१७ देखि टिओबी नाम गरेको एउटा ट्याटु हाउस सञ्चालनमा रहेको त्यसैबाट अघिल्लो वर्षदेखि मात्रै टिओबी समूहको धारणा सुरूवात भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
स्थापना कालयता टिओबीमा ५७ जना जोडिएको पनि खुलेको छ। यद्यपि यो कहिँ दर्ता भएको छैन। उनीहरूले सुरूवातमा मोटरसाइकल भएका साथीहरूबीच भेटघाट गरी घुम्ने र सामाजिक सेवा गर्ने प्रयोजनका लागि समूह बनाएका थिए।
प्रारम्भिक चरणमा टिओबीको पूरा रूप 'द ओरिजिनल ब्रदर्स' रहेको पनि खुलेको छ। पछि तिब्बतियन मूलबाट आएकोहरूको संख्या आधाभन्दा बढी भएकाले तेन्जिन दावा लामाले आफ्नो ज्याकेटमा तिब्बतियन ओरिजिनल ब्लड राखेको अनुसन्धानबाट खुलेको छ।
ज्याकेटमा उल्लिखित टिओबीको लोगो पनि तेन्जिन दावा आफैले बनाएका थिए।
संस्थापक सदस्यहरू तेन्जिन दावा लामा, सोनाम शेर्पा र एरेन राई हुन्।
यसमा रहेका ५७ सदस्यमध्ये अहिले पनि २५ जना सक्रिय रहेको प्रहरीले जनाएको छ। भदौ २३ को आन्दोलनमा ३१ जना र २० वटा मोटरसाइकल प्रयोग भएको खुलेको छ।