प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख स्वकीय सचिव नियुक्त गरेका आदर्श श्रेष्ठ विवादमा तानिएका छन्।
सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए।
प्रधानमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणपछि पदबहाली गरेलगत्तै श्रेष्ठलाई स्वकीय सचिव बनाएका हुन्। त्यसपछि उनी सर्वोच्च अदालतको जिम्मेवारीबाट अलग भएका छन्।
श्रेष्ठले स्वकीय सचिव नियुक्त भएपछि आफ्नी श्रीमती संगीतालाई पनि असोज २ गते सहसचिव स्तरको स्वकीयका रूपमा नियुक्त गरेका थिए।
उनले श्रीमतीसहित अरू नातेदारलाई पनि सचिवालयमा राखेको आरोप छ। तर श्रीमतीबाहेक अरूलाई नियुक्त गरेको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
प्रधानमन्त्रीको स्वकीय सचिवालयमा १४ जना कार्यरत छन्। तिनमा चार जना शाखा अधिकृत, पाँच जना प्रशासन सहायक, एक जना सवारी चालक र एक जना कार्यालय सहयोगी छन्।
प्रधानमन्त्रीको निजी सचिवालयमा नियुक्त भएपछि विवादमा तानिएका आदर्श सिन्धुलीका हुन्। प्रश्नको घेरामा रहेका आदर्शलाई सेतोपाटीले पटक पटक सम्पर्क गर्ने प्रयास गरेको छ। उनको फोन नउठेपछि सार्वजनिक रूपमा उठेका प्रश्नको उत्तर खोज्दै हामीले उनलाई मेसेज पनि गरेका छौं।
हामीले श्रेष्ठलाई प्रमुख स्वकीय सचिव कसरी नियुक्त भएको, श्रीमतीलाई किन नियुक्ति दिएको, सर्वोच्च अदालतमा रहँदा उठेका विवाद लगायत विषयमा प्रश्न सोधेका छौं। यो समाचार तयार पार्दासम्म उनको जबाफ आइसकेको छैन।
आदर्श एक दशकभन्दा लामो समयदेखि सर्वोच्च अदालतमा कार्यरत थिए। सर्वोच्चमा उनको प्रवेश आइटी महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदबाट भएको थियो। उनी करारमा नियुक्त भएका कर्मचारी हुन्।
आइटीको पृष्ठभूमि नभए पनि उनलाई आइटी महाशाखामा नियुक्त गरिएको भनी आलोचना भएको थियो।
त्यही पदमा कार्यरत रहँदा नै उनलाई प्रधानन्यायाधीशको निजी सचिवालयमा तानियो। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा उनले निजी सचिवालयमै रहेर काम गरेको सर्वोच्च अदालत स्रोत बताउँछ।
त्यति बेला सर्वोच्चमा अहिलेजस्तो डिजिटल र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था थिएन। प्रधानन्यायाधीशले नै पेसी तोक्ने गर्थे। प्रधानन्यायाधीशले बालुवाटार निवासबाटै पेसी सूची र कुन न्यायाधीशको इजलासमा कुन मुद्दा तोक्ने भन्ने फाइनल गर्थे। त्यसरी फाइनल भएको पेसी प्रकाशन गर्ने जिम्मा प्रधानन्यायाधीशको निजी सचिवालयको हुन्थ्यो।
सचिवालयले सर्वोच्चको सूचना पेटीमा ल्याएर पेसी सूची टाँस्ने गर्थ्यो। त्यस क्रममा आदर्श लगायत निजी सचिवालयका केही व्यक्तिबाट पेसी सूची प्रकाशन हुनुअघि नै सम्बन्धित मुद्दावालालाई जानकारी दिइने गरेको आरोप लाग्दै आएको थियो।
'यसरी हरेक बिहान बालुवाटारमै गएर पेसी सूची फाइनल गर्ने क्रममै आदर्श श्रेष्ठले सुशीला कार्कीसँग निकट सम्बन्ध बनाएका हुन सक्छन्,' सर्वोच्चका एक कर्मचारीले भने, 'उनका बारेमा धेरै कुरा सुनिन्थ्यो, तर कसैले हटाउन सकेनन्।'
गोपाल पराजुली प्रधानन्यायाधीश नियुक्त भएपछि भने आदर्शलाई निजी सचिवालयबाट हटाएर नायब सुब्बा स्तरको कम्प्युटर अपरेटरमै सारिएको सर्वोच्च अदालत स्रोत बताउँछ।
त्यसयता सर्वोच्चको आइटी महाशाखामै काम गर्दै आएका आदर्श सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि छलाङ मारेर स्वकीय सचिवका रूपमा बालुवाटार प्रवेश गरेका हुन्।
हामीले यसबारे प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलसँग कुरा गर्दा उनले प्रधानमन्त्री कार्कीसँग आदर्शको पहिलेदेखि निकट चिनजान रहेको र व्यक्तिगत हेरचाहको काम पनि उनले नै गर्दै आएको बताए।
रावलका अनुसार प्रधानमन्त्री कार्की र उनका श्रीमान दुर्गा सुवेदीको व्यक्तिगत हेरचाह आदर्शले गर्दै आएका थिए।
'उहाँहरू दुवै वयोवृद्ध हुनुहुन्छ। परिवारको सदस्यजस्तै भएर व्यक्तिगत हेरविचारको काम आदर्शजीले नै गर्दै आउनुभएको थियो। त्यही भएर प्रमुख स्वकीय सचिवका रूपमा परिवारभित्रैको विश्वासपात्र व्यक्ति छान्दा उहाँलाई नियुक्त गरिएको हो,' प्रेस संयोजक रावलले भने।
उनले अगाडि भने, 'यो प्रधानमन्त्री आफैले नियुक्त गर्न मिल्ने पद हो। आफूलाई जो मान्छे बढी विश्वसनीय र सुरक्षित लाग्छ, उसैलाई नियुक्त गरिन्छ। घरायसी हेरविचारको काम पनि गरिरहनुपर्ने र बेला बेला उपचारका लागि (दुर्गा सुवेदीलाई) लैजानुपर्ने भएकाले आदर्शजीलाई प्रमुख स्वकीय सचिव बनाइयो।'
आदर्श र उनकी पत्नी संगीताले संयुक्त रूपमा प्रधानमन्त्री र उनका श्रीमानको हेरविचार गर्दै आएको रावलको भनाइ छ।
यसअघि प्रधानमन्त्रीको सचिवालयमा ९४ जना सम्मलाई नियुक्त गरिने भए पनि कार्की प्रधानमन्त्री भएपछि त्यो प्रथा तोडेर सानो सचिवालय बनाइएको उनले दाबी गरे।
उनका अनुसार अहिले प्रधानमन्त्रीको निजी सचिवालयमा २६ जना कर्मचारी छन्। तिनमा दुई जना सल्लाहकार, सल्लाहकारको सचिवालयमा तीन जना, स्वकीय सचिवालयमा १४ जना, निजी सचिवालयमा चार जना र सरकारी कर्मचारी तीन जना छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक रावलले सोमबारै प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको निकट रहेर काम गर्नुपर्ने भएकाले आदर्श श्रेष्ठलाई नियुक्त गरिएको बताएका छन्।
'प्रधानमन्त्री निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घन्टा सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारण पनि विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्ति नियुक्त गरिएको हो,' उनले भनेका छन्, 'कानुनसम्मत नियुक्त गरिएको विषयलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ।'
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ मा 'स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने' व्यवस्था छ। त्यही व्यवस्थाबमोजिम प्रधानमन्त्रीबाट आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको विज्ञप्तिमा छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको अन्तरिम सरकार गठन भएको हो। यो आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य थियो।
आन्दोलनकै क्रममा नातावाद र कृपावादविरूद्ध 'नेपो बेबी' ट्रेन्ड समेत चलेको थियो। तर आन्दोलनपछि नियुक्त सरकार-प्रमुखका स्वकीय सचिवले नै आफ्नी श्रीमतीलाई जागिर खुवाएको भन्दै विरोध सुरू भएको छ।
रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टले आदर्शलाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
'राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरूपयोग मात्र नभई सुशासन, नैतिकता, जबाफदेहिता र पारदर्शिताविरूद्धको प्रत्यक्ष प्रहार हो,' जेनजी फ्रन्टले भनेको छ।