सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङको नमुना देखाएपछि सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको जित निकालेको हो। जारी एनपिएलमा सुदूरपश्चिमसँगै विराटनगर किंग्सले लगातार तीन खेलमा जित निकालेका छन्। कर्णाली भने तीन खेलमध्ये दुई खेलमा पराजित भइसकेको छ।
सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णाली चार बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो।
खराब सुरुवात गरेको कर्णालीको कुनै पनि बेला ब्याटिङ सम्हालिन सकेन। ओपनर प्रियांक पाञ्चाल शून्यमा आउट भए। उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो ओभरमै विनोद भण्डारीबाट स्टमपिन गराए।
अघिल्लो खेलमा शतक प्रहार गरेका मार्क वाटलाई दीपेन्द्रले नै १७ रन बनाएर खेलिरहदा चौथो ओभरमा एलबिडब्लूको धरापमा परे। अर्को ओभरमा विल बोसिस्टोलाई हेमन्त धामीले विकेट पछाडि बिनोद भण्डारीबाट ३ रनमा क्याच गराए।
छैटौं ओभरमा दीपेन्द्रले नाजिबुल्लाह जाद्रानलाई एलबिडब्लूको धरापमा परेपछि कर्णालीले पावरप्लेमा चार विकेट गुमायो। पावरप्ले भित्रै आफ्नो तेस्रो विकेट लिएपछि दीपेन्द्रले समरसल्ट गरेर सेलिब्रेसन गरे। दीपेन्द्रले पावरप्लेमा आफ्नो बलिङको जादू देखाएपछि कर्णाली संकटमा परेको थियो।
त्यसपछि कर्णालीका कप्तान सोमपाल कामी १४ रन र पवन सर्राफले २७ रन जोडे। सोमपाल र पवनले पाँचौ विकेटका लागि ३२ रनको साझेदारी गरे। गुल्सन झालाई दीपेन्द्रले १३ रनमा १४औं औभरको अन्तिम बलमा बोल्ड गरे। यसपछि दीपेन्द्र झनै खुसी भए भने उनले फेरि समरसल्ट गरे।
लगातार विकेट गुमाइरहेको कर्णालीका नन्दन यादव १ रन र युवराज खत्री शून्यमा आउट भए। अर्जुन घर्ती अन्तिम विकेटको रूपमा १३ रनमा आउट भए।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र ४ विकेट लिए। उनले ४ ओभरमा २३ रन खर्चिए। हर्मित सिंहले २ विकेट हात पारे भने १ मेडन फ्याँक्दा १९ रन दिए। अभिनास बोहराले पनि २ विकेट लिए भने स्कट कुगेइलिन र हेमन्त धामीले १-१ विकेट हात पारे।
टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ९ विकेटको क्षतिमा १३९ रन बनायो। सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३९ रन बनाउन सके।
कर्णालीका कप्तान सोमपाल कामीले रोयल डक लिए। उनले सुदूरपश्चिमका ओपनर जोश ब्राउनलाई इनिङग्सको पहिलो बलमै बोल्ड गरेर रोयल डक गराए। पहिलो ओभरमै उत्कृष्ट बलिङ गरेका सोमपालले पहिलो ओभरमा मेडन राखे।
त्यसपछि विनोद भण्डारी पाँचौ ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा परे। भण्डारीले १३ बलमा १ चौकाको मद्दतमा ११ रन मात्र जोड्न सके।
क्रिस लिन आठौं ओभरमा आउट भएपछि खेल कर्णालीले नियन्त्रणमा लियो। लिनलाई युवा स्पिनर युवराज खत्रीले विल बोसिस्टोबाट क्याच गराएका थिए। २० बलमा १८ रन बनाएका लिनले २ चौका प्रहार गरे।
इशान पाण्डे दुई रनमा रनआउट हुँदा आरिफ शेखलाई १३औं ओभरमा नन्दन यादवले २७ रन बनाएर खेलिरहदा बोल्ड गरे। उनले २५ बलमा ३ चौका प्रहार गरे।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहबीच साझेदारी हुँदा सुदूरपश्चिमको इनिङ्गस सम्हालिएको थियो। उनीहरूबीच छैटौं विकेटका लागि ४८ रनको साझेदारी भयो।
१६ बलमा १ चौका र १ छक्काको मद्दतमा १९ रन जोडेका हर्मितलाई कर्णालीका कप्तान सोमपालले १७औं ओभरमा बोल्ड गरेका थिए। अर्को ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी ३९ रन जोडेर आउट भए। सुदूरपश्चिमका लागि सबैभन्दा बढी रन जोडेका ऐरीलाई मार्क वाटले नाजिबुल्लाह जाद्रानबाट क्याच गराए।
१९औं ओभरमा नरेन साउद हिट विकेट भए। अन्तिम ओभरको पहिलो बलमा स्कट कुगेइलिन नन्दन यादवबाट बोल्ड भए। उनले ८ बलमा १ छक्काको मद्दतमा १० रन बनाए।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ३२ रन खर्चिए। नन्दन यादवले २ विकेट लिने क्रममा ३ ओभरमा ११ रन मात्र खर्चिए।
मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १-१ विकेट हात पारे।