हामीले चीनदेखि भारत, जापानदेखि कोरिया र अमेरिकादेखि बेलायतसम्मका अटोमोबाइल कम्पनीले उत्पादन गरेका साना–ठूला सवारी काठमाडौंका सडकमा देखेका छौं। तर के तपाईंहरूले नेपालमै बनेको इलेक्ट्रिक रिक्सा (इ–रिक्सा) बारे सुन्नुभएको छ?
यो स्टोरीमा हामी नेपालमै उत्पादन हुने 'सामुराई इ–रिक्सा' को कुरा गर्दैछौं। यसको उत्पादन 'मेगाटेक' नामक कम्पनीले गरेको हो।
सामान्यतया रिक्सा भनेको मान्छे ओसारपसार गर्ने साधन भन्ने बुझिन्छ। सामुराई इ–रिक्साको उपयोग भने अरू पनि थुप्रै कामका लागि भइरहेको छ।
मेगाटेकले अहिलेसम्म सात प्रकारका इ–रिक्सा उत्पादन गरेको छ, जसको प्रयोग सातवटा विभिन्न काममा हुन्छ। स्कुलका विद्यार्थी ओसार्ने रिक्सादेखि घर–घरमा पानी ओसार्ने, फोहोर उठाउने, कुखुरा लगायत पशुपन्छी ओसार्ने, तरकारी बेचबिखन गर्ने, विभिन्न सरसामग्री ढुवानीमा प्रयोग हुने रिक्सा उपलब्ध छन्। यी सबै बिजुलीबाट चल्छन्।
यसबाहेक यात्रुवाहक इ–रिक्सा र कारखानामा कामदारहरू ओसार्ने इ–रिक्सा पनि बजारमा ल्याइएको छ।

मेगाटेकले केही समयअघि भृकुटीमण्डपमा सम्पन्न 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' र 'नाडा अटो शो' मा आफ्ना उत्पादनहरू प्रदर्शनमा राखेको थियो। तीमध्ये केही मोडल दुई वर्षअघि नै प्रयोगमा आइसकेको र केही नयाँ भएको कम्पनीका महाप्रबन्धक विकास उप्रेतीले जानकारी दिए।
उनका अनुसार विभिन्न थरीका इ–रिक्सा उत्पादनमा ७० प्रतिशत कच्चापदार्थ नेपालकै प्रयोग गरिएको छ भने मोटर, कन्ट्रोलर लगायतका सामग्री चीनबाट आयात गरिन्छन्।
सन् १९९८ मा विराटनगरमा स्थापना भएको मेगाटेकले विद्युतीय तथा सूचना प्रविधि सामग्रीको बिक्रीबाट व्यावसायिक यात्रा सुरू गरेको थियो।
त्यसै क्रममा यसले लेनोभो, स्यानडिस्क, एसियन ब्याट्री, सिस्को लगायतका ब्रान्डसँग साझेदारी गर्यो। पछि सार्वजनिक क्षेत्रमा वातावरणमैत्री सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले बिजुली रिक्सा उत्पादनमा हात हालेको हो।
कम्पनीले मोरङको बूढीगंगामा बिजुली रिक्सा उत्पादन गर्दै आएको छ। दैनिक १० देखि १५ वटा इ–रिक्सा उत्पादन हुने र अहिलेसम्म हजारवटा भन्दा बढी बजारमा ल्याइसकेको महाप्रबन्धक उप्रेतीले जानकारी दिए।
अब हामी मेगाटेकले नेपालमै उत्पादन गर्दै आएका केही प्रमुख इ–रिक्साबारे चर्चा गरौं —
तरकारी बेच्ने इ–रिक्सा

तरकारी ढुवानी वा बेचबिखनमा प्रयोग हुने यो रिक्साको पछाडि तीन तहमा १८ वटा तख्ता बनाइएका छन्। प्रत्येक तख्ताको लम्बाइ १.७५ फिट, चौडाइ १.६६ फिट र उचाइ ०.३४ फिट छ।
सबै तख्ता दुवै तिरबाट खोल्न मिल्ने गरी बनाइएकाले यसमा राखिएका तरकारी बिग्रँदैनन्।
यसमा एक जना चालक र चालकसँगै एक सहयोगी पनि बस्न मिल्ने गरी सिट बनाइएको छ। यो इ–रिक्साको मूल्य ४ लाख ५० हजार रूपैयाँ पर्छ।
यसमा ११०० वाटको मोटर जडान गरिएको छ भने १६०–१८० एम्पियर–घन्टा क्षमताको ब्याट्री चारवटा प्रयोग गरिएको छ। साधारण भाषामा भन्नुपर्दा यो ब्याट्री धेरै चार्ज स्टोर गर्ने र लामो समय चल्ने खालको हुन्छ। ब्याट्री पूरा चार्ज हुन ८ देखि १० घन्टा लाग्छ। एकचोटिको पूरा चार्जमा ७० देखि ८० किलोमिटर गुड्छ।
यसले २५० किलो सामान बोक्ने क्षमता राख्छ। यसको लम्बाइ ९.८७ फिट, चौडाइ ३.६७ फिट र उचाइ ६.६६ फिट छ। यो रिक्साको सबभन्दा तल्लो भाग र भुइँबीचको दुरी, जसलाई प्राविधिक भाषामा 'ग्राउन्ड क्लियरेन्स' भनिन्छ, त्यो ६.५ इन्च (१६५ एमएम) छ।
किसानहरूले आफ्नो तरकारी, फलफूल आफै घर–घरमा लगेर बिक्री गर्न सकून् भन्ने उद्देश्यले यो रिक्सा डिजाइन गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, पसलहरूमा तरकारी ढुवानी गर्न पनि उपयोगी हुन्छ।
स्कुल भ्यान

यो इ–रिक्सा काठमाडौंमा गुड्ने ट्याम्पोजस्तै देखिन्छ। तर यसको रङ पहेँलो हुन्छ।
यसले ८०० किलोसम्म वजन बोक्न सक्छ। सामान्यतया ठूला विद्यार्थी ८ जना र साना विद्यार्थी १० जनासम्म अटाउँछन्। अहिले लहान र जनकपुर क्षेत्रमा यसको प्रयोग भइरहेको कम्पनीले जनाएको छ। यसको मूल्य ६ लाख रूपैयाँ पर्छ।
यो इ–रिक्साको लम्बाइ १०.२४ फिट, चौडाइ ३.९५ फिट र उचाइ ७.१५ फिट छ। यसमा २ हजार वाटको मोटर प्रयोग गरिएको छ भने १४० एम्पियर–घन्टा क्षमताका ६ वटा ब्याट्री छन्। ब्याट्री पूरा चार्ज हुन ८ देखि १० घन्टा लाग्छ। एकचोटिको पूरा चार्जमा ८० किलोमिटरसम्म गुड्छ।
यो रिक्साको 'ग्राउन्ड क्लियरेन्स' ६.५ इन्च (१६५ एमएम) छ।
फोहोर उठाउने इ–रिक्सा

यसमा पछाडितिर दुई तख्ता छन्। तीमध्ये एउटामा कुहिने फोहोर (हरियो रङ) र अर्कोमा नकुहिने फोहोर (निलो रङ) राखिन्छ।
यसले ३०० किलोसम्म फोहोर बोक्न सक्छ भने चालक एक जना मात्र बस्न मिल्ने ठाउँ छ। यसको मूल्य ६ लाख ५० हजार रूपैयाँ पर्छ।
यसमा १५ सय वाटको मोटर प्रयोग गरिएको छ भने १४० एम्पियर–घन्टा क्षमताका चारवटा ब्याट्री छन्। ब्याट्री पूरा चार्ज हुन १० देखि १२ घन्टा लाग्छ। एकचोटिको पूरा चार्जमा ७० देखि ८० किलोमिटरसम्म गुड्छ।
यसको 'ग्राउन्ड क्लियरेन्स' ६.५ इन्च (१६५ एमएम) छ।
कुखुरा ढुवानी गर्ने इ–रिक्सा

यो झट्ट हेर्दा सामान्य रिक्साजस्तै देखिन्छ, तर भित्र तख्ताहरू छुट्टयाइएका हुन्छन्। जनकपुरमा यो मोडलको इ–रिक्सा प्रयोगमा आइसकेको कम्पनीले जनाएको छ।
यसले ५०० किलोसम्म वजन बोक्न सक्छ भने अगाडि चालक एक जना मात्र बस्न मिल्ने ठाउँ छ।
यो इ–रिक्साको मूल्य ५ लाख ५० हजार रूपैयाँ पर्छ। यसमा १५०० वाट क्षमताको मोटर जडान गरिएको छ भने १६० देखि १८० एम्पियर–घन्टा क्षमताका पाँचवटा ब्याट्री प्रयोग गरिएका छन्।
ब्याट्री पूरा चार्ज हुन ८ देखि १० घन्टा लाग्छ। एकचोटिको पूरा चार्जमा ८० देखि १०० किलोमिटरसम्म गुड्छ।
यसको 'ग्राउन्ड क्लियरेन्स' ६.५ इन्च (१६५ एमएम) छ।
पानी ट्यांकर
सहरी क्षेत्रभित्र साँघुरो बाटो भएको घरमा पानी ढुवानी गर्ने प्रयोजनका लागि यो इ–रिक्सा डिजाइन गरिएको हो। बाटो सरसफाइ र सडक किनारका फूलमा पानी हाल्न पनि यो रिक्सा प्रयोगमा आउँछ।
यसमा १०२६ लिटरको पानी ट्यांक जडान गरिएको छ। त्यसबाहेक चालक एक जनालाई पनि बोक्ने क्षमता राख्छ।
यसमा २ हजार वाटको मोटर प्रयोग गरिएको छ भने ब्याट्रीको क्षमता १०५ एम्पियर–घन्टा छ। ब्याट्री पूरा चार्ज हुन १० देखि १२ घन्टा लाग्छ। एकचोटिको पूरा चार्जमा रिक्सा ८० किलोमिटरसम्म गुड्छ।
यो रिक्साको लम्बाइ ५.६१ फिट, चौडाइ ३.२८ फिट र उचाइ २.२० फिट छ भने 'ग्राउन्ड क्लियरेन्स' ६.७ इन्च (१७० एमएम) छ।
यो रिक्सा अरू मोडलभन्दा महँगो पर्छ। यसको मूल्य ९ लाख रूपैयाँ छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***



