बिजुली गाडी भन्नेबित्तिकै अहिले पनि धेरैको मनमा एउटा प्रश्न आउन छाडेको छैन — फुल चार्जमा कति किलोमिटर ढुक्कसँग कुदाउन सकिएला?
मनमा यस्तो प्रश्न आउनुका पछाडि कारण छ।
पछिल्लो समय काठमाडौं लगायतका सहरी क्षेत्रमा बिजुली गाडीको प्रयोग ह्वात्तै बढेको छ। देशभरि चार्जिङ स्टेसनहरू पनि ठूलो संख्यामा खुलेका छन्। तैपनि लामो दुरीको यात्रा जाँदा सबैतिर सहज रूपले चार्जिङ स्टेसन फेला पर्ला कि नपर्ला भन्ने चिन्ता हटेको छैन। यही चिन्ताका कारण एकचोटिको पूरा चार्जले सकेसम्म धेरै किलोमिटर यात्रा गर्न सकियोस् भन्ने चाहना हुनु स्वाभाविक हो।
यस्तै चिन्ता गर्नेहरूका लागि चिनियाँ अटोमोबाइल कम्पनी स्काइवेलको 'बिई–११' मोडल उपयुक्त विकल्प हुन सक्छ।
नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले नाडा अटो शोमा सार्वजनिक गरेको यो मोडलका कार एकचोटि पूरा चार्ज गरेपछि ४०० देखि ६०० किलोमिटर ढुक्कसँग चल्ने कम्पनीले जनाएको छ।
स्काइवेलले चीनमा 'इटी–५' नामले सार्वजनिक गरेको कारलाई अन्तर्राष्ट्रिय बजारका निम्ति बिई–११ भनेर ब्रान्डिङ गरेको हो।
इटी–५ को ब्याट्री क्षमता ८६ किलोवाट–घन्टाको छ। पूरा चार्जमा ६२० किलोमिटर गुड्ने यो कारको मूल्य १ करोड १० लाख रूपैयाँ पर्छ। बिई–११ त्यसैको सस्तो रूप हो।
कम्पनीका अनुसार नेपाली बजारमा बिई–११ का दुई संस्करण उपलब्ध छन्। ब्याट्री क्षमता र मूल्यबाहेक डिजाइन र अरू विशेषतामा खासै अन्तर छैन।
एउटा संस्करणमा ५१ किलोवाट–घन्टा क्षमताको ब्याट्री छ। यसलाई ७५ लाख ९० हजार रूपैयाँ मूल्य तोकिएको छ। यो कारको ब्याट्री पूरा चार्ज हुँदा ४१० किलोमिटर मज्जाले गुड्छ।
अर्को संस्करणको ब्याट्री क्षमता ७१ किलोवाट–घन्टाको छ र मूल्य ८५ लाख ९० हजार पर्छ। पूरा चार्ज हुँदा ५२० किलोमिटर यात्रा गर्न सकिन्छ।
ब्याट्री क्षमतालाई सरल भाषामा बुझ्ने हो भने हामीले घरमा एक किलोवाट–घन्टा क्षमताको हिटर एक घन्टा चलाउँदा एक किलोवाट बिजुली खपत हुन्छ। त्यसैले स्काइवेल बिई–११ का ब्याट्रीले एक घन्टा गाडी गुड्दा ५१ देखि ८६ किलोवाट बिजुली खपत गर्छ भन्ने बुझ्नुपर्छ।

दुवै संस्करणका बिई–११ मा चुम्बक भएको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले १५० किलोवाटको अधिकतम शक्ति दिन्छ। यो भनेको २०१ हर्सपावर बराबरको शक्ति हो। बोलीचालीको भाषामा भन्दा यो इलेक्ट्रिक कारले २०१ वटा घोडा बराबरको शक्ति दिन्छ भन्ने बुझिन्छ।
भन्नुको मतलब, यो कार शक्तिशाली वर्गमा पर्छ। मोटरको शक्ति जति बढी भयो, गाडी उति छिटो गुड्छ। त्यसैले यो तीव्र गतिमा हुइँकिन सक्ने र कम समयमा धेरै रफ्तार लिने कार हो। यो अधिकतम १६० किलोमिटर प्रतिघन्टाको गतिमा गुडेको पाइएको छ। यसले १० सेकेन्डभन्दा कम समयमा १०० किलोमिटरको रफ्तार समात्ने क्षमता राख्छ।
मध्यम र लामो दुरीको यात्राका लागि यो क्षमता राम्रो मानिन्छ। ब्याट्री क्षमता धेरै भएकाले राजमार्गमा यात्रा गर्दा पटक पटक चार्ज गर्नुपर्ने झन्झट हुँदैन।
ब्याट्री चार्जिङको कुरा गर्दा एसी चार्जरले पूरा चार्ज हुन ७–८ घन्टा लाग्छ। डिसी फास्ट चार्जिङ प्रयोग गर्ने हो भने ३० देखि ४५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन्छ।
अब कुरा गरौं, गाडीको बाहिरी बनावट र भित्री डिजाइनको।
यसको लम्बाइ ४.७ मिटर छ भने चौडाइ १.९ र उचाइ १.६ मिटर छ। यसबाट थाहा हुन्छ, यो गाडी बाहिरबाट हेर्दा जति ठूलो देखिन्छ, भित्र पनि उत्तिकै फराकिलो र आरामदायी छ।
यसको 'ग्राउन्ड क्लियरेन्स' अर्थात् सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी ७.५ इन्च (१९० एमएम) छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यो गाडी कच्ची बाटोको निम्ति पनि उपयुक्त हुन्छ।
यसबाहेक अगाडि र पछाडिका पांग्राबीचको दुरी २.८ मिटर छ। यसलाई प्राविधिक भाषामा 'ह्विलबेस' भनिन्छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।
गाडीको भित्री बनावटको कुरा गर्दा यसका सिटहरू पछाडि ढल्काएर आरामले सुत्न मिल्ने गरी डिजाइन गरिएका छन्। अगाडि र पछाडिका दुवै सिट आवश्यकताअनुसार ढल्काउन सकिने हुँदा लामो दुरीको यात्रामा थकाइ लागे आराम गर्न सहज हुन्छ।
यसको छतमा ४७ देखि ५५ इन्च लामो सिसाको छत प्रयोग गरिएको छ। यो छत आवश्यकताअनुसार खोल्न मिल्छ। यात्रामा हावा खाँदै जाने हो भने तपाईं छत खोल्न सक्नुहुन्छ। भित्रैबाट बाहिरको दृश्य हेर्न पनि यो उपयुक्त छ। त्यस्तै, घामको प्रकाश चर्को छ भने अर्को छोप्ने कभर पनि प्रयोग गर्न सकिन्छ। छत र कभरलाई तपाईं एउटा बटन थिचेर खोल्न र बन्द गर्न सक्नुहुन्छ।

यो गाडीमा दुर्घटना जोखिम कम गर्न केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्। यसलाई प्राविधिक भाषामा 'एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम' भनिन्छ, जसले गाडीमा जडान गरिएको सुरक्षा प्रणालीलाई बुझाउँछ।
उदाहरणका लागि — यसमा अटोमेटिक स्पिड कन्ट्रोल सुविधा छ। अगाडि अरू कुनै सवारी साधन छ भने यसले क्यामराको मद्दतले आफ्नो गति आफै समायोजन गर्छ। अर्थात् अगाडिको गाडीको गति कम हुँदा यसको गति पनि स्वत: कम हुन्छ। ताकि, गाडी ठोक्किनबाट बचोस्।
यसमा चारवटा क्यामरा जडान गरिएका छन्। एउटा क्यामरा अगाडि छ भने एउटा पछाडि। त्यस्तै, दायाँ र बायाँका लुकिङ ग्लासमुनि एक–एकवटा क्यामरा छन्। यी क्यामरले वरिपरिका दृश्य ३६० डिग्रीमा हेर्न मद्दत गर्छ।
यिनै क्यामरा र सेन्सरको मद्दतले 'अटोमेटिक इमर्जेन्सी ब्रेकिङ' सुविधा पनि गाडीमा उपलब्ध छ। गाडीको अगाडि वा दायाँबायाँ कुनै अर्को गाडी, पैदलयात्रु वा कुनै चिज आयो भने सेन्सरले पत्ता लगाउँछ र ठोक्किनबाट बचाउन स्वत: ब्रेक लगाउँछ। यस्तो सुविधाले दुर्घटना जोखिम निकै कम गर्छ।
यति मात्र होइन, गाडी चलाउँदा चलाउँदै चालकको ध्यान बाटोबाट हटेको अवस्थामा सतर्क गराउने प्रविधि पनि प्रयोग गरिएको छ। यस निम्ति गाडीमा जडान गरिएका क्यामराले चालकको अनुहार निरन्तर अनुगमन गरिरहेको हुन्छ। चालक निदायो वा अन्यत्र ध्यान दियो भने यो सिस्टमले आवाज वा भाइब्रेसन निकाल्छ।
गाडीमा 'लेन किप असिस्ट' प्रविधि छ। गाडी सडक लेनबाट बाहिर गयो भने यसले अलार्म बजाएर चालकलाई सतर्क पार्छ।

दुर्घटना पर्दा यात्रुहरूको सुरक्षा निम्ति गाडीमा ७ वटा एयरब्याग राखिएका छन्। गाडी कतै ठोक्किँदा वा दुर्घटना पर्दा यी एयरब्याग आफै खुल्छन्। यसले यात्रुको शरीर गाडीको भित्तामा ठोक्किनबाट बचाउँछ। दुर्घटना पर्दा यात्रुहरूलाई धेरै चोटपटक लाग्ने भित्तामा ठोक्किएर हो। एयरब्याग राम्रो र बलियो छ भने यस्तो जोखिम कम हुन्छ।
दुवै संस्करणका बिई–११ मा ५२० लिटर क्षमताको डिक्की छ, जसलाई 'बुट स्पेस' भनिन्छ। यसमा ३–४ वटा ठूला सुटकेस सजिलै अट्छन्। पछाडिका सिट फोल्ड गर्ने हो भने ११५० लिटरको ठाउँ बन्छ, जसमा ६–७ वटा ठूला सुटकेस मज्जाले अट्छन्।
परिवारका सदस्य वा साथीसंगीसँग धेरै सामान लिएर लामो यात्रा गर्दै हुनुहुन्छ भने यो गाडी उपयुक्त विकल्प हुन सक्छ।
यसको एउटा संस्करण (७२ किलोवाट–घन्टा) मा 'भिटूएल' (भेहिकल–टू–लोड) प्रणाली पनि छ। यो प्रविधिमार्फत् तपाईं गाडीलाई अन्य घरायसी उपकरणको निम्ति बिजुली स्रोतका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। बिजुली कटौती हुँदा वा आपतकालीन अवस्थामा यो सुविधा निकै उपयोगी हुनसक्छ।
सामान्य भाषामा भन्नुपर्दा, तपाईंको गाडीले आपतकालीन अवस्थामा घरमा बिजुली आपूर्ति गर्ने 'पावर बैंक' को काम गर्छ।
***
यी पनि पढ्नुहोस्: