नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो–शो २०२५’ भृकुटीमण्डपमा सुरु भएको छ।
स्मार्ट फोनको सहयोगमा दीप प्रज्वलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको उद्घाटन गरेका हुन्।उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अब गाडी उत्पादन गर्ने बाटो खुलेको बताए।
‘अब हामीसँग गुणस्तरीय आइरन एन्ड स्टील हुनेछ। हामीलाई गाडी उत्पादनको बाटो खुल्नेछ,’ उनले भने, ‘अब हामीले गाडी उत्पादन गरेर विश्वबजारमा बेच्नुपर्छ।’
प्रधानमन्त्रीले नेपाल आधुनिक युगमा प्रवेश गरिसकेको र अहिले व्यवसायीहरू असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरे।
‘अहिले व्यवसायी असन्तुष्ट हुनु पर्ने कुनै कारण छैन। कसैले असन्तुष्ट हुने कसम खाएको छ भने के भन्नु,’ उनले भने।
नाडाका अध्यक्ष करण चौधरीले यो प्रदर्शनी केवल एक प्रदर्शनी केन्द्र मात्र नभएर व्यावसायिक केन्द्र पनि भएको बताए।
उनले नेपालमा बिक्री हुने गाडीमध्ये ४० प्रतिशत गाडी एक्स्पोको क्रममा बुकिङ हुने गरेको जानकारी दिए।
चौधरीले युवा पलायन रोक्ने अठोटका साथ काम गरिएको र प्राविधिक तालिम अहिलेको आवश्यकता भएकोमा जोड दिए।
उनले सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन दिएकोमा प्रशंसा गर्दै हालको बजेट स्वागतयोग्य रहेको बताए।
‘अहिले ल्याएको बजेट निकै स्वागत योग्य छ,’ उनले भने, ‘अहिले धेरै राम्रो भएको छ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मोबिलिटी क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिएको बताए।
उनले पछिल्लो दुई वर्षको तुलनामा गाडीको बिक्री ४० प्रतिशतले बढ्ने अनुमान गरिएको जानकारी दिए।
निजी क्षेत्रको सुझाव अनुसार कानुन सुधार भइरहेको र त्यसको प्रभाव बजेट तथा मौद्रिक नीतिमा देखिएको उनी बताउँछन्।
ढकालले लगानीका लागि अहिले उपयुक्त अवसर भएको उल्लेख गर्दै भने, ‘ब्याजदर घटेको छ, कानुन अनुकुल बनेको छ।’
युरो ६ मापदण्ड लागू गर्न थप समय आवश्यक भएको उनको धारणा छ।
यस प्रदर्शनीमा रोबोट र उड्ने ट्याक्सी जस्ता नयाँ प्रविधिहरू पहिलोपटक सार्वजनिक गरिएको छ।
नाडाका अनुसार प्रदर्शनीका क्रममा अटो डाइलग पनि आयोजना गरिनेछ। यस प्रदर्शनीमा १२५ वटा स्टल राखिएको छ। जसमध्ये ‘दिपाल इभिटोल फ्लाइङ ट्याक्सी’ र ‘युनिट्री रोबोट्स’ मुख्य आकर्षणका रूपमा रहेका छन्।