बेलायतको लक्जरी अटोमोबाइल उत्पादक 'ल्यान्डरोभर' को सबभन्दा प्रतिष्ठित 'एसयुभी' गाडी हो, रेन्ज रोभर। यसलाई संसारकै अग्रणी लक्जरी सवारीमध्ये एक मानिन्छ।
पछिल्लो समय चिनियाँ कम्पनी चेरी अटोमोबाइल्सले एउटा यस्तो गाडी ल्याएको छ, जसलाई रेन्ज रोभरसँग तुलना गरिन्छ।
हुन त यी दुवै ब्रान्डको बजार र मूल्य आनका तान फरक छ। तर केही यस्ता कारण छन्, जसले चेरीको नयाँ गाडीलाई रेन्ज रोभरसँग दाँज्ने गरिन्छ। खासगरी बाहिरी डिजाइन, भित्री सजावट र आरामदायी सुविधाहरूका कारण यसलाई संसारभरका अटो–समीक्षकले 'मिनी रेन्ज रोभर' भन्ने गरेका छन्।
हामी कुरा गर्दै छौं, चेरी अटोमोबाइल्सले जेइको ब्रान्डअन्तर्गत ल्याएको 'जेइको जे–५' गाडीको।
यो इलेक्ट्रिक गाडी (इभी) अहिले नेपाली बजारमा पनि भित्रिएको छ। नेपालका लागि चेरीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालि (शारदा ग्रुप) ले भृकुटीमण्डपमा भर्खरै सम्पन्न 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' मा यो मोडलको इभी सार्वजनिक गरेको हो।
अटोमोबाइल्स आयातकर्ता तथा उत्पादकहरूको संगठन 'नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन' (नाइमा) ले उक्त प्रदर्शनी आयोजना गरेको थियो।
शारदा ग्रुपले चेरीकै अन्य उत्पादन 'जेइको जे–६' र 'ओमोडा इ–५' गाडी पनि प्रदर्शनीमा राखेको थियो। यी दुवै मोडल केही समयदेखि नै नेपाली सडकमा गुड्दै आएका छन्। जेइको जे–५ भने नेपाली बजारका लागि नयाँ हो।
सहरी क्षेत्र र कच्ची बाटो दुवैलाई उपयुक्त हुने गरी डिजाइन गरिएको यो गाडी ६० लाख ९९ हजार रूपैयाँ पर्छ। नाइमा एक्स्पोमा ५६ लाख ९९ हजारमा बुकिङ गर्ने सुविधा थियो।

अब हामी यसको विशेषताबारे चर्चा गरौं।
यसको सबभन्दा ठूलो विशेषता स्टाइलिस डिजाइन हो, जसले यही स्तरका अन्य गाडीको दाँजोमा जेइको जे–५ लाई विशिष्ट स्थानमा पुर्याएको छ।
यसको बाहिरी स्वरूप रेन्ज रोभरजस्तै देखिन्छ। यो गाडीको उचाइ १.६५ मिटर छ भने चौडाइ १.८६ र लम्बाइ ४.३९ मिटर छ। यसले बाहिरबाट हेर्दा गाडी जति भव्य देखिन्छ, भित्र उत्तिकै फराकिलो र आरामदायी छ।
यसबाहेक अगाडि र पछाडिका पांग्राबीचको दुरी २.६२ मिटर छ। यसलाई प्राविधिक भाषामा 'ह्विलबेस' भनिन्छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।
यो गाडीको 'ग्राउन्ड क्लियरेन्स' अर्थात् सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी ७.३ इन्च छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यसलाई कच्ची बाटोको निम्ति उपयुक्त मानिएको हो।
अब हामी गाडीको शक्ति, ब्याट्री क्षमता, चार्जिङ र गतिबारे कुरा गरौं।
कम्पनीका अनुसार जेइको जे–५ को मोटर पावर १५५ किलोवाट छ। यसले यो मोडल शक्तिशाली गाडीको वर्गमा पर्छ भन्ने बुझाउँछ।
भन्नुको मतलब, यो गाडी तीव्र गतिमा हाँक्न सकिन्छ। मोटरको शक्ति जति बढी भयो, गाडीले उति छिटो तीव्र गति लिने क्षमता राख्छ। मध्यम र लामो दुरीको यात्राका लागि यो क्षमता राम्रो मानिन्छ। पहाडी क्षेत्रको कच्ची बाटोमा पनि कुदाउन सहज हुन्छ।
यसको ब्याट्री क्षमता ५८.९ किलोवाट–घन्टाको छ। यसको मतलब, जेइको जे–५ मा प्रयोग भएको ब्याट्रीले एक घन्टामा ५८.९ किलोवाट शक्ति प्रयोग गर्छ। एसयुभी गाडीहरूका लागि यो ब्याट्री क्षमता राम्रो हो।
ब्याट्री पूरा चार्ज हुँदा ४६१ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यो भनेको काठमाडौंबाट पोखरा गएर फेरि फर्केर आउन सकिने दुरी हो। सहरी क्षेत्रमा मात्र चलाउँदा गाडीको गति स्वाभाविक रूपले कम हुने हुँदा अझ लामो दुरी तय गर्न सकिन्छ।
यो ब्याट्री घरमा चार्ज गर्दा शतप्रतिशत चार्ज हुन करिब पाँच–छ घन्टा लाग्छ। डिसीको फास्ट चार्जिङबाट एक घन्टामै पूरा चार्ज हुन्छ।

गाडीमा केही स्वचालित प्रविधि पनि छन्।
उदाहरणका लागि – अँध्यारोमा वा गुड्दा गुड्दै कतै अँध्यारो ठाउँ आयो भने हेडलाइट आफै बल्छ। पानी पर्दा सिसा पुछ्ने वाइपर पनि आफै चल्छ।
नेपालमा मनसुन बेला र हिउँदमा हुस्सु लाग्दा अगाडिको दृश्य राम्ररी नदेखेर चालकलाई गाह्रो पर्छ। जेइको जे–५ मा यस्तै अवस्थाका लागि भनेर पाँचवटा क्यामरा जडान गरिएका छन्, जसले गाडी वरिपरिको दृश्य ३६० डिग्रीमा हेर्न मिल्छ।
एउटा क्यामरा गाडीको अगाडि भागमा ग्रिलको ठ्याक्कै तल छ। दोस्रो क्यामरा गाडीको पछाडि भागमा छ। त्यस्तै, दायाँ र बायाँ लुकिङ ग्लासमुनि र अगाडिको बम्परमा पनि एक-एकवटा क्यामरा राखिएको छ।
सुरक्षा दृष्टिले पनि जेइको जे–५ एकदमै राम्रो मानिन्छ। किनभने, दुर्घटना जोखिम कम गर्न यसमा केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्।
उदाहरणका लागि – यो गाडीमा 'लेन किप असिस्ट' प्रविधि छ। गाडी सडक लेनबाट बाहिर गयो भने यसले अलार्म बजाएर चालकलाई सतर्क पार्छ।
'अटोमेटिक इमर्जेन्सी ब्रेकिङ' सुविधाले गाडीको अगाडि वा दायाँबायाँ कुनै अर्को गाडी, पैदलयात्रु वा कुनै चिज आयो भने सेन्सरले पत्ता लगाउँछ र ठोक्किनबाट बचाउन स्वत: ब्रेक लगाउँछ। यस्तो सुविधाले दुर्घटना जोखिम निकै कम गर्छ।
अगाडि गुडिरहेको गाडीको गतिअनुसार आफ्नो गति स्वचालित रूपले समायोजन गर्नु यो गाडीको अर्को मुख्य विशेषता हो। यसका लागि 'एडप्टिभ क्रुज कन्ट्रोल' प्रविधि प्रयोग गरिएको छ।
यसमा 'ब्लाइन्ड–स्पट डिटेक्सन' सुविधा पनि छ। हरेक गाडीको पछाडि वा छेउमा केही ठाउँ यस्तो हुन्छ, जुन चालकले लुकिङ ग्लासमा हेर्दा पनि देख्दैन। त्यस्तै ठाउँमा कोही पैदलयात्रु वा साइकल–बाइक आयो भने दुर्घटना पर्छ। यो गाडीले भने त्यस्ता नदेखिने ठाउँमा कोही व्यक्ति वा गाडी आउँदा चालकलाई सूचना दिन्छ। यसले भिडभाडमा गाडी हुइँक्याउन र लेन परिवर्तन गर्दा दुर्घटना जोखिम घटाउन मद्दत गर्छ।
भृकुटीमण्डपमा आयोजित नाइमा मोबिलिटी एक्स्पोमा 'जेइको जे–५' सार्वजनिक क्रममा अभिनेत्री बेनिशा हमाल। तस्बिर स्रोत: ओमोडा एन्ड जेइको नेपालको फेसबुकबाट
यो गाडीमा सेल्फ पार्किङ वा आफै पार्किङ हुने सुविधा पनि छ। यसका लागि गाडीले आफ्नो क्यामरा प्रयोग गरेर पार्किङ गर्ने ठाउँ स्क्यान गर्छ। त्यो ठाउँमा गाडी अट्छ कि अट्दैन वा कसरी घुमाउने भनेर गाडीले आफै हेर्छ। त्यसपछि चालकले गाडी पार्क गर्न ब्रेक र स्टेयरिङमा मात्र ध्यान दिए पुग्छ।
त्यस्तै, गाडीमा ४८० लिटर क्षमताको 'बुट स्पेस' छ, जसलाई बोलीचाली भाषामा सामान राख्ने डिक्की भनिन्छ। यो डिक्की स्वचालित रूपमा खुल्ने र बन्द हुने बटन पनि छ।
भित्री डिजाइनको कुरा गर्दा यसमा कालो वा खैरो रङ प्रयोग गरिएको हामी पाउँछौं। भित्री डिजाइन पनि रेन्ज रोभरसँग मिल्दोजुल्दो छ। सिट वरिपरि विभिन्न सामान राख्न १०-११ वटा क्याबिन बनाइएका छन्।
यो गाडीमा १.४५ वर्गमिटरको सिसाको छत छ, जसलाई आवश्यकताअनुसार खोल्न मिल्छ। त्यस्तै, १३.२ इन्चको टचस्क्रिन छ, जसमा एप्पल र एन्ड्रोइडका मोबाइल फोन ब्लुटुथको माध्यमबाट जोड्न सकिन्छ। स्क्रिनको तल तारबिनै फोन चार्ज गर्ने ठाउँ पनि छ।
यो गाडी पाँचवटा रङमा उपलब्ध छन् — खैरो, कालो, हरियो, सेतो र चाँदी रङ।
सन् २०२५ को सुरूआतमा सार्वजनिक भएको चेरीको जेइको जे–५ ले पछिल्लो समय चीन, मलेसिया सहित युरोपेली बजारमा निकै चर्चा पाएको छ।
***
यी पनि पढ्नुहोस्: