नाइमा मोबिलिटी एक्स्पो
बिजुलीबाट चल्ने बाइकहरूमा धेरै उपभोक्ताको एउटै गुनासो सुनिन्छ — यस्ता बाइक स्टाइलिस हुँदैनन्!
सेगवेले ल्याएको नयाँ मोडलको बिजुली बाइक यस्तो गुनासो गर्नेहरूलाई जबाफ हो।
तपाईंहरू बिजुली बाइक हाँकेर 'स्टाइलिस' र 'कूल' देखिन चाहनुहुन्छ भने 'सेगवे साइबर' मोडलको इ–बाइक उपयुक्त रोजाइ हुनसक्छ।
चिनियाँ कम्पनी 'सेगवे-नाइनबोट' को नेपालका लागि आधिकारिक वितरक आइ–हब प्रालिले भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' मा साइबर इ–बाइक सार्वजनिक गरेको छ। अटोमोबाइल्स आयातकर्ता तथा उत्पादकहरूको संगठन 'नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन' (नाइमा) ले आयोजना गरेको यो प्रदर्शनी आइतबारसम्म चल्नेछ।
यो स्टोरीमा हामी साइबर इ–बाइक सहित प्रदर्शनीमा सार्वजनिक चार मोडलका दुई–पांग्रे सवारीको विशेषताबारे तपाईंहरूलाई जानकारी दिनेछौं।
त्योभन्दा अगाडि यो बिजुली बाइकको उत्पादक सेगवे–नाइनबोटबारे छोटो जानकारी दिऊँ।
'सेगव' कम्पनीको स्थापना सन् १९९९ मा अमेरिकाको न्यू ह्याम्सायरमा भएको थियो। यसले सन् २००१ मा आफ्नो पहिलो उत्पादन 'सेग्वे पर्सनल ट्रान्सपोर्टर' बजारमा ल्यायो। यो एक जनाले मात्र चढ्न मिल्ने दुई–पांग्रे सवारी हो, तर साइकल होइन। ब्याट्रीबाट चल्ने यो सवारी छोटो दुरीको आवागमनमा धेरै लोकप्रिय भएको थियो।
सन् २०१५ मा चिनियाँ कम्पनी 'नाइनबोट' ले किनेपछि यसलाई 'सेगवे–नाइनबोट' भन्न थालियो। यसले इ–स्कुटर, इ–बाइक लगायत विभिन्न प्रकारका विद्युतीय दुई–पांग्रे सवारी उत्पादन गर्दै आएको छ।
तिनैमध्ये नेपालको आधिकारिक वितरक आइ–हबले साइबर इ–बाइक लगायत चार मोडलका दुई–पांग्रे बिजुली सवारी सार्वजनिक गरेको हो। यसमा एउटा इ–बाइक, दुई थरीका इ–स्कुटर र एउटा इ–साइकल छ।
अब चर्चा गरौं यी चार थरीका दुई–पांग्रे सवारीको विशेषताबारे।
हामीले यसबारे इ–हबका बजार व्यवस्थापक धीरेन्द्र कुशवाहासँग कुरा गरेका छौं।

कुशवाहाका अनुसार 'सेगवे साइबर' नामको इ–बाइक अन्य इ–बाइकको दाँजोमा बलियो र स्टाइलिस छ। फरक डिजाइनकै कारण भृकुटीमण्डपको स्टलमा धेरै उपभोक्ताको ध्यान तानेको छ। ती उपभोक्ताले राखेका जिज्ञासाको जबाफ दिन बजार व्यवस्थापक कुशवाहालाई भ्याइनभ्याइ थियो।
उनी यो इ–बाइक नेपालजस्तो भौगोलिक संरचना भएको ठाउँमा र यहाँका बाटाघाटामा उपयुक्त भएको बताउँछन्।
'यहाँको जस्तो उकालो–ओरालो र कठिन बाटोहरूलाई लक्ष्य गरेर यो इ–बाइक डिजाइन गरिएको हो। यसमा अगाडि र पछाडि बलियो 'सस्पेन्सन' प्रणाली जडान गरिएकाले खाल्डाखुल्डीमा यात्रा गर्दा बाइक हल्लिने, थर्किने र चालकको ज्यान दुख्ने हुँदैन। यात्रा सहज र आरामदायी हुन्छ,' उनले भने, 'कठिन बाटोहरूमा कुदाउन सजिलो होस् भनेर फराकिलो चौडाइ भएको बलियो टायर प्रयोग गरिएको छ।'
नेपाली बजारमा यो इ–बाइकको मूल्य ५ लाख ५० हजार रूपैयाँ पर्छ।
कुशवाहाका अनुसार यो बाइकमा दुईवटा ब्याट्री प्रयोग गर्न मिल्छ। तर एउटा मात्र ब्याट्रीले पनि मज्जाले गुडाउन सकिन्छ। एउटा ब्याट्रीको क्षमता १४४० वाट–घन्टाको छ। यसलाई फुल चार्ज गरेर अधिकतम गतिमा लगातार चलाउँदा लगभग ७७ किलोमिटर यात्रा गर्न सकिन्छ।
यो भनेको काठमाडौंबाट त्रिशूलीसम्मको दुरी हो। तपाईंले कम गतिमा चलाउनुभयो भने यो दुरी अझै बढ्न सक्छ। भन्नुको मतलब, मध्यम गतिमा चलाउँदा र समथर बाटोमा ७७ किलोमिटरभन्दा धेरै गुड्न सक्छ।
त्यस्तै, दुईवटा ब्याट्री सँगै प्रयोग गर्दा कुल क्षमता २८८० वाट–घन्टा हुन्छ। तपाईं एकपटकको फुल चार्जमा १६० किलोमिटरसम्म यात्रा गर्न सक्नुहुन्छ।
काठमाडौंमा फुल चार्ज गरेर हिँड्दा सौराहाको राष्ट्रिय निकुञ्ज सजिलै पुगिन्छ। बाइकको गति र ब्याट्रीले धान्न सक्ने दुरीको नियम यहाँ पनि लागू हुन्छ।


यसको अर्को विशेषता दुईदेखि साढे दुई घन्टामा ब्याट्री पूरा चार्ज हुनु हो।
कम समयमै ब्याट्री चार्ज हुने भएकाले मध्यम वा लामो दुरीको यात्रामा जान अप्ठ्यारो मान्नुपर्दैन। ब्याट्री सकिन लाग्यो भने तपाईं छोटो समयमै चार्ज गरेर फेरि यात्रा सुरू गर्न सक्नुहुन्छ।
यो इ–बाइकमा तपाईं ब्याट्री बन्द गरेर प्याडल मार्न पनि सक्नुहुन्छ। यसो गर्दा शरीरलाई खासै जोड पर्दैन। किनभने, यसमा पाँच तहका गेयर छन्। चालकले आफ्नो आवश्यकताअनुसार गेयर तल–माथि गर्न सक्छन्।
'यो इ–बाइक त्यसै पनि वातावरणमैत्री सवारी हो। त्यसमाथि प्याडल मार्ने सुविधा राखिएकाले यसले वातावरण संरक्षणमा ठूलो योगदान दिन्छ। सँगसँगै, हाम्रो स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ,' उनले भने।
उनका अनुसार यो बाइक एक घन्टामा ३५ किलोमिटरको गतिले कुदाउन सकिन्छ। बाइकमा जडान गरिएको सेन्सरले उकालोमा गति बढाउन मद्दत गर्छ।
'काठमाडौं उपत्यका वरिपरि चलाउन त यो बाइक एकदमै राम्रो छ। सँगसँगै, नगरकोट जान र पोखरा, स्याङ्जा लगायत मध्यम दुरीका ठाउँसम्म जान पनि सहज हुन्छ,' उनले भने।
यो इ–बाइक एक जना मात्र यात्रा गर्ने गरी बनाइएकाले सिट सानो छ। तर आवश्यक परे दुई जना पनि चढ्न सक्ने उनी बताउँछन्।
'सेगवे साइबर' बाइकमा धेरै आधुनिक सुविधा जोडिएका छन्। यसको उच्च प्रविधिको डिस्प्लेले बाइकको गति र ब्याट्री चार्ज देखाउँछ। यसलाई मोबाइल एपबाट नियन्त्रण गर्न सकिन्छ। एपले बाइक कहाँ छ भनेर पत्ता लगाउन सक्छ। बाइक चोरीको बिगबिगीबाट जोगिन यो उपाय प्रभावकारी हुनेछ।
यति मात्र होइन, बाइकलाई टाढैबाट लक गर्न सकिन्छ। बाइकका बत्ती अँध्यारोमा स्वचालित रूपले चम्किन्छन्, जसले रातको यात्रा सुरक्षित बनाउँछ।
'साइकलको जस्तै प्याडल राखेर अत्याधुनिक बाइकको डिजाइनमा तयार पारिएकाले सेगवे साइबर स्टाइलिस र कूल देखिन्छ,' कुशवाहाले भने।
पछिल्लो समय स्वास्थ्यका कारण साइकल चढ्न चाहने, तर दैनिक कामकाजका लागि बाइक नभई नहुने सहरी उपभोक्ताका लागि यसले साइकल र बाइक दुवैको काम गर्ने उनी बताउँछन्।

सेगवे इ–बाइक सफारी
सेगवे–नाइनबोटले 'सेगवे साइबर' सँगै नेपाली बजारमा ल्याएको 'सेगवे इ–बाइक सफारी' विद्युतीय साइकल (इ–साइकल) हो।
शक्तिशाली ब्याट्री र स्मार्ट प्रविधियुक्त यो बिजुली साइकल सहरी क्षेत्रको आवागमनलाई वातावरणमैत्री र सहज बनाउने उद्देश्यले डिजाइन गरिएको छ।
इ–हबका बजार व्यवस्थापक कुशवाहाका अनुसार यसमा ९३६ वाट–घन्टा क्षमताको ठूलो ब्याट्री जडान गरिएको छ। एकपटक पूरा चार्ज गरेपछि अधिकतम गतिमा चलाउँदा ५८ किलोमिटर यात्रा गर्न सक्छ। सामान्य गतिमा चलायो भने अझै लामो दुरी धान्छ। यसको अधिकतम गति ३२ किलोमिटर प्रतिघन्टा हो।
यसको ब्याट्री पूरा चार्ज गर्न साढे पाँच घन्टाभन्दा कम लाग्ने कम्पनीले जनाएको छ। उपभोक्ताले आफ्नो घरमा सजिलै ब्याट्री चार्ज गर्न सक्छन्।
यो बिजुली साइकलको मुख्य विशेषता ठूलो मोटाइ भएको बलियो टायर हो। अगाडि र पछाडि दुवै टायरमा पूर्ण सस्पेन्सन जडान गरिएकाले खाल्डाखुल्डी र उकालो–ओरालोमा पनि सजिलै यात्रा गर्न सकिन्छ। त्यस्तै, हाइड्रलिक डिस्क ब्रेक प्रयोग गरिएकाले भनेको ठाउँमा रोक्न पनि सजिलो छ।
यसमा सामान्य साइकलको जस्तो प्याडल पनि छ। शरीर स्वस्थ राख्न तपाईंहरू आवश्यकताअनुसार ब्याट्री बन्द गरेर प्याडल पनि चलाउन सक्नुहुन्छ।
यसबाहेक युएसबी चार्जिङ पोर्ट, हेडलाइट, टेललाइट लगायतका सुविधा पनि छन्। यो मोडलको इ–साइकलले नेपालमा बिजुली सवारीको लोकप्रियता अझ बढाउने विश्वास कुशवाहाले व्यक्त गरे।
उनका अनुसार यसको मूल्य ३ लाख ५० हजार रूपैयाँ छ।

इ१२५ एमके२
सेगवे–नाइनबोटले आफ्नो इ–स्कुटर शृंखलाअन्तर्गत यो मोडल बजारमा ल्याएको हो।
पछिल्लो समय सहरी क्षेत्रमा बाइकभन्दा स्कुटरको प्रयोग बढिरहेको छ। त्यसमा पनि बिजुली स्कुटरप्रति धेरैले चासो देखाइरहेका छन्। तपाईं पनि बिजुली स्कुटर किन्ने सोचमा हुनुहुन्छ भने यो राम्रो विकल्प हुन सक्छ।
नेपाली बजारमा ३ लाख ५० हजार रूपैयाँ पर्ने यो इ–स्कुटरको मुख्य विशेषता ब्याट्रीको शक्ति हो।
कुशवाहाका अनुसार यसमा ३,६०० वाट क्षमताको लिथियम ब्याट्री प्रयोग गरिएको छ, जसले ७० किलोमिटर प्रतिघन्टाको गति दिन्छ। एकचोटि पूरा चार्ज गर्दा ६० देखि १०० किलोमिटर यात्रा गर्न पुग्छ। अतिरिक्त ब्याट्री राखेर दुरी अझ बढाउन सकिन्छ। ब्याट्री चार्ज गर्न ७ देखि ८ घन्टा लाग्छ।
साढे २३ लिटर क्षमताको सिट बकेट (स्टोरेज), बलियो टायर र आरामदायी सिट यो स्कुटरका थप विशेषता हुन्।

इ१५० एमके२
नेपालका लागि सेगवेको आधिकारिक बिक्रेता इ–हबले बजारमा ल्याएको यो दोस्रो मोडलको इ–स्कुटर हो। यसको मूल्य ५ लाख रूपैयाँ रहेको कुशवाहाले जानकारी दिए।
उनका अनुसार यसमा ७,५०० वाट क्षमताको लिथियम ब्याट्री प्रयोग गरिएको छ, जसले ९० किलोमिटर प्रतिघन्टाको अधिकतम गति दिन्छ। एकपटक पूरा चार्ज गरेर ७५ देखि १२० किलोमिटर यात्रा गर्न सकिन्छ। अतिरिक्त ब्याट्री राखेर योभन्दा लामो दुरी यात्रा गर्न पनि सकिन्छ।
यसको ब्याट्री ५ देखि ६ घन्टामा पूरा चार्ज हुन्छ। वैकल्पिक फास्ट चार्जिङ सुविधा रहेकाले कम समयमा पनि चार्ज गर्न सकिन्छ।
यसमा साढे २३ लिटर क्षमताको स्टोरेज छ। आरामदायी सिट र बलियो टायरले यो इ–स्कुटरलाई थप सुरक्षित बनाएको कुशवाहा बताउँछन्।
'सेगवेका यी दुई मोडलका इ–स्कुटरले स्टाइलिस र ट्रेन्डी विद्युतीय स्कुटर खोजिरहेका युवाहरूको माग पूरा गर्छ,' उनले भने।
***
यो पनि पढ्नुहोस्: