नाइमा मोबिलिटी एक्स्पो
के तपाईं नयाँ कार किन्ने योजनामा हुनुहुन्छ?
हुनुहुन्छ भने बजारमा एउटा नयाँ मोडलको बिजुली गाडी आएको छ, जुन मूल्य र गुणस्तर दुवै दृष्टिले राम्रो छनौट हुन सक्छ।
पुरानो कारको सट्टा नयाँ किन्न खोजेको भए पनि, वा जिन्दगीकै पहिलो कार किन्ने सुर कसेको भए पनि; दुवै अवस्थामा यो बिजुली गाडीलाई तपाईं आफ्नो छनौट सूचीमा राख्न सक्नुहुन्छ।
हामी कुरा गर्दै छौं, 'बिवाइडी एट्टो–१' को।
नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' मा यो कार सार्वजनिक गरेको हो। अटोमोबाइल्स आयातकर्ता तथा उत्पादकहरूको संगठन 'नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन' (नाइमा) ले आयोजना गरेको यो प्रदर्शनी आइतबारसम्म चल्नेछ।
चिनियाँ कम्पनी बिवाइडीले पछिल्लो समय संसारभरि धुम मच्चाइरहेको छ। यसका एक-से-एक मोडलले अमेरिकी उत्पादक टेस्लालाई समेत कडा टक्कर दिइरहेको छ। एट्टो–१ त्यसैमध्ये एक हो।
अरू देशमा 'बिवाइडी सिगल' र 'बिवाइडी डल्फिन मिनी' नामले ब्रान्डिङ गरिएको यो कार संसारभरि सुपरहिट छ। चिनियाँ बजारमा त पहिलो दिन नै १० हजारभन्दा बढी बिक्री भएको थियो। युरोपेली तथा दक्षिण अमेरिकी मुलुकहरूमा पनि 'हटकेक' बनेको छ। ब्राजिलमा ५० प्रतिशतभन्दा बढी बिजुली गाडीको बजार सिगलले नै ओगटेको तथ्यांक छ।
'विश्व कार पुरस्कार' जितेको बिवाइडीको यो मोडल अहिलेसम्म १० लाखभन्दा बढी बिक्री भइसकेको साइमेक्स इंकका बिक्री प्रबन्धक आशुतोष गौतमले बताए।

नेपालमा पनि यो कारले सार्वजनिक भएको दुई दिनमै उपभोक्ता आकर्षित गर्न सफल भएको छ।
भृकुटीमण्डपको प्रदर्शनीमा बिवाइडी एट्टो–१ बारे सोधपुछ गर्न आउनेहरूको दिनैभरि भिड लागिरहेको देखिन्छ। उनीहरू यसका विशेषता, मूल्य र अन्य बिजुली गाडीको दाँजोमा यसका फाइदाबारे उत्सुकतासाथ प्रश्न सोधिरहेका हुन्छन्।
पछिल्ला दुई दिनमै २५० भन्दा बढी ग्राहकले यो कार बुकिङ गरिसकेको बिवाइडी स्टलका एक कर्मचारीले जानकारी दिइन्। उनका अनुसार प्रदर्शनीमै कार बुकिङ गर्नेहरूलाई नगद छुट, एक वर्षको अटो बिमा, ३.३ किलोवाटको होम चार्जर र १० वर्षको नि:शुल्क बिवाइडी एप सुविधा दिइएको छ।
हामीले साइमेक्स इंकका बिक्री प्रबन्धक आशुतोषसँग यो कारको विशेषताबारे पनि कुराकानी गरेका छौं।
उनका अनुसार मुख्य विशेषता यसमा प्रयोग भएको 'ब्लेड ब्याट्री' हो। यो ब्याट्री परम्परागत ब्याट्रीजस्तो गह्रौं र ठूलो आकारको हुँदैन। ब्लेडजस्तो लाम्चो र पातलो आकारमा डिजाइन गरिएको हुन्छ। त्यसलाई कारको 'चेसिस' (फ्रेम) वा मुख्य भागमै मिलाएर राखिन्छ। यसले कार बलियो र मजबुत बनाउँछ। ब्याट्री तात्तिने समस्या आउँदैन। दुर्घटना हुँदा ब्याट्रीमा आगो लाग्ने खतरा पनि कम हुन्छ।
यति मात्र होइन, यस्तो खालको ब्याट्री प्रयोगले कारलाई हलुको राख्छ र सडकमा हाँक्दा सन्तुलित महसुस हुन्छ।
साइमेक्स इंकले ब्याट्री क्षमताका आधारमा दुई किसिमका बिवाइडी एट्टो–१ नेपालमा उपलब्ध गराएको छ — डाइनामिक र प्रिमियम।
डाइनामिकमा ३० किलोवाट आवरको ब्याट्री छ। यो ब्याट्री फुल चार्ज गरेपछि २३० किलोमिटर यात्रा गर्न पुग्छ। अर्थात्, काठमाडौंमा फुल चार्ज गरेको डाइनामिक एट्टो–१ हाँकेर पोखरासम्म सजिलै पुग्न सकिन्छ। यो ब्याट्री ३.३ किलोवाटको चार्जरले १० घन्टामै फुल चार्ज हुन्छ।
त्यस्तै, प्रिमियमको ब्याट्री क्षमता ३९ किलोवाट आवरको छ। फुल चार्ज गरेपछि ३०० किलोमिटर गुड्छ। यो क्षमता काठमाडौंबाट लुम्बिनी जान पर्याप्त हुन्छ। यो ब्याट्री ३.३ किलोवाटको चार्जरले १२ घन्टामै फुल चार्ज हुन्छ।
सबभन्दा महत्त्वपूर्ण कुरा त, बिवाइडी एट्टो–१ मा अत्यधिक छिटो ब्याट्री चार्ज गर्ने सुविधा पनि छ। लगभग आधा घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। त्यसबाहेक घरमै चार्ज गर्न पनि कुनै अप्ठ्यारो पर्दैन।
कम्पनीका अनुसार यसको ब्याट्री १० देखि १५ वर्ष सजिलै टिक्छ।
ब्याट्रीको क्षमताअनुसार कारको मूल्य फरक छ। डाइनामिक मोडल २८ लाख ९५ हजार रूपैयाँ पर्छ भने प्रिमियम मोडल ३२ लाख ९९ हजार पर्छ।
यो गाडी १३० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्छ। त्योभन्दा महत्त्वपूर्ण कुरा, यसले कम समयमै तीव्र गतिमा हुइँकिने क्षमता राख्छ। लगभग साढे ५ सेकेन्डमै शून्यबाट ५० किलोमिटर प्रतिघन्टाको रफ्तार समात्छ।
बिवाइडी एट्टो–१ को अर्को विशेषता हो, 'भिटूएल' (भेहिकल–टू–लोड) प्रणाली।
यो प्रविधिमार्फत् तपाईं आफ्नो गाडीलाई अन्य घरायसी उपकरणहरूको निम्ति बिजुली स्रोतका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। खासगरी बिजुली कटौती हुँदा वा आपतकालीन अवस्थामा यो सुविधि निकै उपयोगी हुनसक्छ।
सामान्य भाषामा भन्नुपर्दा, तपाईंको कारले आपतकालीन अवस्थामा घरमा बिजुली आपूर्ति गर्ने 'पावर बैंक' को काम गर्छ।

यो कार हरियो, सेतो, कालो र निलो गरी चार थरीका रङमा उपलब्ध छन्। यसमा ६ वटा एयर ब्याग राखिएका छन्। गाडी कतै ठोक्किँदा वा दुर्घटनामा पर्दा स्वत: खुल्ने यी एयर ब्यागले यात्रुहरूको जीउज्यान सुरक्षित राख्न मद्दत गर्छ।
यो कार बिवाइडीका अरू मोडलभन्दा सानो आकारको छ। त्यसैले काठमाडौंजस्तो बढी घन्चमन्च भइरहने सहर र साँघुरा सडकहरूमा कुदाउन सजिलो हुन्छ। व्यस्त सहरी क्षेत्रका कामकाजी उपभोक्तालाई लक्ष्य गरेर नै बिवाइडीले यो मोडल ल्याएको आशुतोष बताउँछन्।
यसको लम्बाइ २.९ मिटर छ भने चौडाइ १.७ र उचाइ १.५ मिटर छ। यसमा चालकसहित पाँच जना आरामसँग यात्रा गर्न सक्छन्। सपरिवार घुमफिरमा जान यो कार उपयुक्त छ।
बिवाइडीले ब्याट्री चार्ज कति प्रतिशत सकियो र कति बाँकी छ भनेर मोबाइल एपबाटै हेर्ने सुविधा दिएको छ। गाडीभित्र एसी घटबढ गर्ने, ढोकाको लक बन्द गर्ने र खोल्ने सुविधा पनि एपमै छ।
यो मोबाइल एपले गाडीको नियमित अपडेट पनि दिन्छ। गाडी कहाँ छ र पछिल्लो समय कुन-कुन ठाउँमा गुडेको छ भनेर हेर्न सकिन्छ।
यति मात्र होइन, कारको स्टेयरिङमै फोन उठाउने र गीतहरूको आवाज तलमाथि गर्ने बटन छ। कार हाँक्दा हाँक्दै कसैको फोन आए मोबाइल स्क्रिन छुनु पर्दैन। एक्लै यात्रा गर्ने क्रममा यी सुविधा चालकलाई निकै उपयोगी हुने छन्। यसले गाडी हाँकिरहँदा चालकको ध्यान बाटोबाट हट्दैन।
यो कारको ब्रेक एकदमै बलियो छ भने हल्का वजनका पाङ्ग्रा प्रयोग गरिएका छन्। यसमा २५० लिटर क्षमताको सामान राख्ने ठाउँ छ।
बिवाइडीले यो मोडलको कार सन् २०२२ देखि विश्व बजारमा ल्याएको हो।
तपाईं पनि सस्तो मूल्य र धेरै सुविधा भएको स्टाइलिस बिजुली कारको खोजीमा हुनुहुन्छ भने बिवाइडी एट्टो–१ उपयुक्त हुन सक्छ। सहरी क्षेत्रका लागि त यो राम्रो विकल्प हो।
भृकुटीमण्डपमा जारी प्रदर्शनीमा एकै छतमुनि ५० भन्दा बढी कम्पनीका मोटरसाइकल, स्कुटर, टेम्पो र विभिन्न मोडलका कार राखिएका छन्।
***