एसपिजी अटोमोबाइल्स प्रालिले नाइमा नेपाल मोबिलिटि एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयुभी ‘जेइको जे–५’ सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ–५ र जेइको जे–६ इभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ।
एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे–५ एसयुभी आरामदायी विशेषताहरूसँगै अल–रोड–रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो।
जे–५ को सार्प–एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य छ। यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश छन्। जसले यसलाई सहरी यात्रा तथा हल्का अफ–रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ।
जे–५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित छ।
यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश छन्।
जेइको जे–५को लम्बाई ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटरको छ भने यसमा १८–इन्चको अग्लो एलोय ह्विल्स रहेको छ। १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयुभिले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ।
नाइमा २०२५ मा ‘जेइको जे–५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभी बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ।