सिन्डिकेट तोड्ने सरकारी निर्णयको विरोधमा यातायत ब्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ५ वटा ब्यवसायीहरुको संगठनले वैशाख महिनाभर आन्दोलन गर्ने घोषणा गरेको हो ।
नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायत व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएन र ढुवानी यातायत महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।
यस्तो छ आन्दोलनको कार्यक्रमसरकारले यातायात व्यवस्थापन कार्यविधि निदेर्शिका २०६० संशोधन गर्दै सवारी साधनमा रुट नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।
जुन व्यवस्थाले मुलुकभर रुट परमिट लिन चाहने व्यवसायीको लागि बाटो खुलेको थियो। लामो समयदेखि लादिएको सिन्डिकेट हटाउन यो व्यवस्था महत्वपूर्ण बन्ने अपेक्षा गरिएको थियो।
त्यस्तै सवारी कम्पनीमा दर्ता हुनुपर्ने, असारदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नवीकरण नहुने लगायतका कामको थालनी भएको थियो।
यसबाट व्यवसायीको सिन्डिकेट हट्ने सरकारको विश्वास छ। तर व्यवसायी भने सरकारले गरेको व्यवस्था फिर्ता हुनुपर्ने भन्दै घुँडा टेकाउन आन्दोलनमा जुटेका हुन्।
सरकार भने यातायात व्यवसायीसामु नडग्ने अडान लिएको छ। गृह मन्त्रालयले मंगलवार सुचना जारी गर्दै यातायात जस्तो अत्यावश्यक क्षेत्रमा बन्द, हटताल नगर्न आग्रह गरेको छ।
सर्वेच्च अदालतले २०६७ माघ १९ गते सिन्डीकेट, कार्टेलिङ लगाएतको कृयाकलाप नगर्न नगराउन र गर्न नदिन साथै यो आदेशकोे कार्यान्वयनको शिलशिलामा सेवा प्रदायक संस्था वा व्यक्तिले कुनैपनि प्रकारको वाधा तथा अवरोध नगर्नु भनी आदेश समेत दिएको थियो।
व्यवसायीले यो आदेश नमाने ऐन अनुसार कारवाही हुने मन्त्रालयले जनाएको छ।