यातायात व्यवस्था विभागले नयाँ वर्षदेखि देशभरका महानगर तथा उपमहानगरपालिकाभित्र प्रदुषण जाँच पास नभएका गाडीलाई निषेध गर्ने भएको छ।
यद्यपी विभागसँग प्रदुषण जाँच गर्ने मेसिन भने आइसकेको छैन। मेसिन आउने अवधिलाई नै मध्यनजर गरेर दुई महिनाको समय राखिएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए।
‘प्रदुषण जाँच गर्ने मेसिन ल्याउन गरिएको टेन्डर मूल्याङ्कन गर्ने क्रममा छौँ, मूल्याङ्कनपछि कम्पनीले देशै भरका कार्यालयमा प्रदुषण जाँच्ने मेसिन जडान गरिदिन्छ’ उनले भने ‘मेसिन जडान भएपछि प्रदुषण गर्ने सवारी साधनलाई कडाई गरिनेछ।’
यसैबीच यातायात व्यवस्था विभागले चैत १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई पुर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ।
२०७२ साल चैत १ गतेको मन्त्रिपरिषदको निर्णयबाट समेत प्रस्ताव स्वीकृत भइसकेकाले यसलाई कार्यान्वयनमा लैजानेगरी विभाग अघि बढेको हो।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजनामा उल्लेख भए बमोजिम बीस वर्ष भन्दा पुराना सम्पुर्ण सार्वजनिक सवारी साधनहरु २ वर्षभित्र अर्थात २०७४ फागुन ३० भित्र देशभरबाट विस्थापन गर्नुपर्ने व्यवस्था छ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सो अवधिभित्र सार्वजनिक सवारी धनी, यातायायात व्यवसायी, व्यवस्थापक, सञ्चालक लगायत सम्बन्धित सबैलाई आ–आफ्नो सार्वजनिक सवारी साधनहरु पत्रु एवं विस्थापित गरिसक्न अनुरोध गरिएको जानकारी दिए।
यो निर्णयको बेवास्ता गरी सञ्चालन गरेको भेटिएमा त्यस्ता सवारी साधनहरु जफत गरी कानुनी कारबाही गरिने उनले बताए।
त्यस्तै १५ वर्ष माथिका सार्वजनिक सवारीको हेरफेर दर्ता नगरिने विभागले जनाएको छ। विभागले यातायात व्यवस्था कार्यालयहरुलाई समेत जाँचपास, नवीकरण, बाटो इजाजत लगायतका काम कारबाहीहरु निर्देशनबमोजिम गर्न, गराउन निर्देशन दिएको छ।