गत बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीन सोच र प्रविधि प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएका तीन स्टार्ट–अप कम्पनीलाई पुरस्कृत गर्यो। पुरस्कृत उद्योगलाई दुई लाख रूपैयाँ नगदसहित कदर पत्र दिएर सम्मान गरिएको हो।
पुरस्कार पाउनेमध्ये एक कम्पनी हो झापाको बिर्तामोडस्थित 'हाई हिमालय अर्गानिक प्रालि'।
आफ्नो उद्योगले पुरस्कार पाउँदा सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस भएको कम्पनीका सञ्चालक प्रदीप घिमिरेले बताए।
'पुरस्कार पाउँदा निकै खुसी भएँ। कृषि कर्म सरकारको प्राथमिकतामा रहेछ भनेर उत्साहित भएको छु,' उनले भने।
उद्योग चलाउन आफूले ऋण लिएको भन्दै उनले पुरस्कारवापत् पाएको रकमले ऋण तिर्ने बताए।
'मैले बजारमा धेरै पैसा तिर्न बाँकी छ। पुरस्कार पाएको यो पैसाले ऋण तिरिहाल्छु,' प्रदीपले भने।
प्रदीपले हाई हिमालय अर्गानिक कम्पनीबाट प्रांगारिक जिवाणु मल बनाउँदै आएका छन्। 'थ्री-स्टार' ब्रान्डमा उनले मल बेच्न थालेको ६ महिना भयो।
उनका अनुसार जिवाणु मल उत्पादक कम्पनी कम छन्। जिवाणु मलको कच्चा पदार्थ प्रांगारिक मल हो। प्रांगारिक मलमा रोग-कीरासँग लड्न सक्ने र वातावरण सुधार्ने खालका जिवाणुहरू विकास गरेपछि जिवाणु मल तयार हुन्छ।
'जिवाणु मल प्रांगारिक मलको विकसित रूप हो,' प्रदीपले भने, 'माटो र बालीमा हुने जिवाणुहरू हानिकारक, निरपेक्ष र लाभदायी गरी तीन प्रकारका हुन्छन्। वर्षौंदेखि माटोमा अत्यधिक विषादी प्रयोग हुँदा अहिले लाभदायक जिवाणु छैनन्। त्यसको पुनर्भरण जिवाणु मलले गर्छ।'
लाभदायी जिवाणु सक्रिय र सशक्त भएमा निरपेक्ष जिवाणुले पनि लाभदायी जिवाणुको काम गर्छन्। त्यस्तै हानिकारक जिवाणु सशक्त भए निरपेक्ष जिवाणुले हानिकारक जिवाणुकै काम गर्छन्। त्यसैले लाभदायी जिवाणुको संख्या बढाएर कृषि प्रणाली र वातावरण सुधार गर्न सकिने उनले बताए।
जिवाणु मल सबै बालीमा प्रयोग गर्न सकिन्छ। यसले माटो नरम बनाउँछ, पानी सोस्ने र संरक्षण गर्ने क्षमता वृद्धि गर्छ। रोग-कीराको संक्रमण रोक्छ। बिरूवाले हावाबाटै नाइट्रोजन र माटोबाट फस्फोरस लिन थाल्छ। तीन/चार पटक प्रयोग गरेपछि उत्पादनको परिमाण र गुणस्तर दुबै बढ्ने उनले बताए।
प्रदीपको कम्पनीले हाल धूलो कम्पोस्ट र झोल रूपमा प्रांगारिक जिवाणु मल बनाइरहेको छ। झोल मल पनि एउटा बिरूवाको जरामा हाल्ने र अर्को पातमा हाल्ने खालको छ।
'हामी गाईवस्तुलाई खुवाउन मिल्ने किटनाशक झोल औषधि पनि बनाउँछौं। यो गाईवस्तुले खान मिल्ने गरी बनाइएको हुन्छ,' उनले भने, 'यो खुवाउँदा गाईवस्तुको स्वास्थ्यलाई राम्रो गर्छ।'
धूलो मल किलोको ४० रूपैयाँ पर्छ। यो २५ किलोको बोरामा पाइन्छ। झोल मल र किटनाशक औषधि पनि पनि ४० रूपैयाँ लिटरमै पाइन्छ जुन २० लिटरको ग्यालिनमा उपलब्ध छ। झोल मल कसरी, कहाँ प्रयोग गर्ने भनेर किसानले थाहा पाउने गरी सबै विवरण ग्यालिनमा लेखिएको प्रदीपले बताए। पातमा हाल्ने र जरामा हाल्ने मल र किटनाशक औषधिको ग्यालिनको रङ पनि फरक हुन्छ।
प्रांगारिक जिवाणु मल हाल कोशी प्रदेशमा, विशेषगरी इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा बिक्री भइरहेको छ।
प्रदीपको घर इलाम हो। सानैदेखि खेतीपाती गरेर हुर्किएका उनले पछि पत्रकारिता गरे। पत्रकारिता क्रममै एक जना वैज्ञानिकले जिवाणु मलका बारेमा बताएपछि यसमा उनको रूचि जाग्यो।
'यस विषयमा म आफै अध्ययन गर्न थालेँ। कृषि अनुसन्धान तथा नार्कका वैज्ञानिकहरू भेटेँ। वैज्ञानिकहरूको सहकार्यमा केही वर्ष अर्गानिक अभियान पनि चलाएँ,' उनले भने।
सन् २०१९ मा उनकी श्रीमती जागिर क्रममा पूर्वी टिमोर जाने भइन्। प्रदीप पनि छोरी र श्रीमतीसँगै उतै गए। त्यहीँको एक विश्वविद्यालयमा अस्ट्रेलियन रिसर्च काउन्सिलले कृषिसम्बन्धी कार्यक्रम चलाइरहेको थाहा पाए। उनले आवेदन दिए र छानिए पनि।
'त्यो तीन वर्षको कार्यक्रम भए पनि हामीले दुई वर्षमै सक्यौं। हामीले मलको अनुसन्धान र प्रवर्द्धनमा काम गर्यौं। मैले त्यहीँ नै प्रांगारिक जिवाणु मल बनाउने तरिका सिकेको हुँ,' उनले भने।
प्रदीपले मल बनाउने तरिका सिकेपछि त्यहीँका एक व्यवसायीसँग सहकार्य गरी प्रांगारिक जिवाणु मलको उद्योग खोले। उनी नेपालमा पनि यस्तो उद्योग खोल्न चाहन्थे। लगानी नभएकाले त्यो चाहना पूरा भएन।
'यो मलको कारखाना खोल्न कम्तीमा तीन करोड रूपैयाँ चाहिन्छ। त्यो लगानी मैले आँट्न सक्ने अवस्था थिएन,' उनले भने, 'विदेशमा त एकदमै थोरै लगानी गरेको थिएँ। त्यो पनि यहाँ आउने बेला त्यसै छाडेर आएँ।'
नेपालमा सरकारले कृषिलाई प्राथमिकता दिँदै लगानी गरिरहेको उनले थाहा पाएका थिए। उनले आफ्नो योजना बताएर कोशी प्रदेश सरकारको कृषि मन्त्रालयलाई लगानीका लागि आग्रह गरे। मन्त्रालयले लगानी गरिदिने भएपछि सन् २०२२ मा प्रदीप नेपाल फर्किए। फर्किनेबित्तिकै मल कारखाना खोल्न मन्त्रालयमा प्रस्ताव पेस गरे। एकजना साझेदार खोजेर झापामा एक बिघा जमिन भाडामा लिए।
तर उनीहरूले सोचेजस्तो भएन।
'सरकारबाट न समयमा पैसा पायौं, न भनेजति पायौं। साउनमा प्रस्ताव पेस गरेको थिएँ, मन्त्रालयले चैतमा मात्रै लगानी गरिदिने सम्झौता गर्यो, त्यो पनि जेठमा सक्ने गरी,' प्रदीपले भने, 'सरकारले समयमा निर्णय गर्न नसक्दा चाहेजस्तो कारखाना बनाउन सकेनौं। सबै पैसा दिएको भए अहिले जिवाणु मलको नमूना कारखाना बनाउँथेँ।'
सरकारले दिएको पैसाले जेनतेन कारखाना बनाएर बाँकी सामान प्रदीप र उनका साझेदारले मिलेर किने। अनि मल उत्पादन गरी परीक्षणको काम थाले।
जिवाणु मलको कच्चा पदार्थ भनेको गाईवस्तुको मलमुत्र, धानको पराल, गहुँको ढोड, झार, पातपतिंगर, स्याउला, सड्ने-गल्ने वस्तु लगायत हुन्। उनीहरूले यी वस्तु स्थानीय तहहरूबाटै संकलन गरे। झोल र कम्पोस्ट दुवै मल बनाएर किसानलाई परीक्षण गर्न दिए।
डेढ वर्ष परीक्षणमै बिताएका उनीहरूले ६ महिनायता व्यावसायिक उत्पादन थालेका छन्। किसानबाट राम्रो प्रतिक्रिया पाएपछि बजार पनि बिस्तारै बढ्दै गएको उनले बताए।
हाल धूलो कम्पोस्ट मल एकपटकमा ५० देखि एक सय टन उत्पादन हुन्छ। झोल मल महिनामा ६० देखि ७० हजार लिटर उत्पादन हुन्छ। कम्पनीमा उनीहरूबाहेक एक दर्जन हाराहारी कर्मचारी छन्।
हालसम्म उद्योगमा तीन करोड रूपैयाँभन्दा बढी लगानी भइसकेको प्रदीप बताउँछन्। केही पैसा आफै लगानी गरेका छन् त केही बैंकबाट ऋण लिएका छन्।
'लगानी गर्न सक्दिनँ भनेर पछि हट्न नसकिने रहेछ। भौतिक संरचना बनेपछि लगानी गरेर पनि सञ्चालन गर्नैपर्यो,' प्रदीपले भने, 'मेरो सपना र योजना भनेको लगानी बढाएर नमूना उद्योग खोल्ने हो। अझ सातै प्रदेशमा यस्तै उद्योग खोल्ने सपना छ। मल बनाउने विधि र सूत्र हामी दिन्छौं, लगानी निजी क्षेत्रले गरून् भन्ने चाहना हो।'