यो वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। विशेषत तराईमा असारमा मनसुन नभएको कारण रोपाइँमा ढिलाइ भएको हो।
साउन लागेपछि भने तराई लगायत देशैभर धान रोपाइँ बढेको कृषि विभागको तथ्यांकले देखाएको छ।
साउन लागेपछि मात्रै देशभर ४ लाख ३८ हजार हेक्टर जग्गामा रोपाइँ भएको कृषि विभागले जनाएको छ।
असारमसान्तसम्म ८ लाख १६ हजार हेक्टर जग्गामा धान रोपाइँ भएको थियो। साउन २५ गतेसम्म आइपुग्दा भने १२ लाख ५४ हजार हेक्टर जग्गामा रोपाइँ पुगेको छ।
साउन लागेपछि कोशी प्रदेशमा एक लाख ४६ हजार र मधेश प्रदेशमा एक लाख ५९ हजार हेक्टर जग्गामा धान रोपाइँ भएको छ।
गत वर्ष असार मसान्तसम्म ६७ प्रतिशत जग्गामा र साउन मसान्तसम्म आइपुग्दा ९८ प्रतिशत जग्गामा धान खेति भएको थियो।
अहिले असार मसान्तसम्म ५९ प्रतिशत जग्गामा रोपाइँ सकिएको थियो। साउन २५ सम्म आइपुग्दा ९१ प्रतिशत पुगेको छ।
कृषि विभागका अनुसार अहिले धान रोपाइँ योग्य जमिन १३ लाख ७९ हजार हेक्टर छ।