जहाँसम्म नजर पुग्छ, त्यहाँसम्म आँपको बगैंचा छ। आँपका बोट नभएको ठाउँ कतै छैन भने पनि हुन्छ।
चित्रपुर लटरम्म आँपले गुलजार देखिन्छ।
यहाँ कयौं बिघामा आँप बगैंचा फैलिएको छ। गाउँलाई चिरेर जाने सडकको पूर्व र पश्चिम दुबैतिर आँखाले भ्याएसम्म आँपको बगैंचा देखिन्छ।
हरिया रूखमा झ्यांगिएका रंगीन आँपका गुच्छाले बगैंचालाई सुन्दरता र मिठासले भरेका छन्।
धनुषा जिल्लाको पश्चिम–उत्तरतर्फ पर्ने बटेश्वर गाउँपालिका–१, चित्रपुरमा आँप बगैंचाको इतिहास करिब सात दशक पुरानो छ।
वडाध्यक्ष अशोककुमार महतो भन्छन्, 'यो वडामा मात्रै कम्तीमा पाँच सय बिघा जमिनमा आँपको बगैंचा छ। यहाँ कम्तीमा २० प्रजातिका आँप छन्।'
यो वडालाई आँपको पकेट क्षेत्र पनि घोषणा गरिएको छ। वीरगञ्ज, कलैया र सिरहा लगायत ठाउँबाट आउने व्यापारीले यहाँका आँप काठमाडौं लगायत अन्य ठूला सहरमा पुर्याउँछन्।
अहिले आँपको नगरी बनेको चित्रपुर सधैं यस्तो थिएन।
कुनै बेला यहाँ चन्दन, सखुवाका रूख बाक्लै थिए। घना जंगलमा हिंस्रक जनावर बस्थे। यो ठाउँ मनमोहक होइन, भयानक थियो।
सात दशकअघिसम्म जंगलै जंगल भएको ठाउँमा आँपको बगैंचा कसरी बन्यो? सबभन्दा पहिले यहाँ कसले आँप रोप्यो? यो आँप चित्रपुरका बासिन्दाका लागि कति फलदायी भएको छ?
हामीले यिनै प्रश्न चित्रपुरका पुराना बासिन्दाहरूलाई सोध्यौं।
तत्कालीन भुइँचक्रपुर गाविसमा पर्ने चित्रपुर बदलिन थालेको २००७ सालतिर हो।
सात सालतिर छिमेकी बस्ती र बाहिरबाट आएका केही व्यक्तिले यहाँका रूख काट्न थाले। बसाइँ सरेर आएका उनीहरूले रूख ढालेर खेतबारी बनाए। खेती गर्न थाले, घर बनाए।
यो क्रम बढिरह्यो।
जमिन किनबेच चल्यो, जंगलतिरको जमिन, सस्तोमा पाइने भएपछि सिरहा र धनुषातिरका मानिस पनि आए।
बिस्तारै बस्ती बाक्लियो, जंगल पातलियो।
त्यति बेला यहाँ आउने अधिकांश मानिस कोइरी (कुशवाहा) समुदायका थिए। उनीहरूको पुर्ख्यौली पेसा कृषि थियो। जंगल फाँडेर खेती गर्नमा यो समुदाय माहिर मानिन्थ्यो।
सिँचाइ सुविधा नभएकाले यहाँ धेरैजसो रहर दाल, मकै र सखरखण्डको खेती हुन्थ्यो। यहाँका मानिस करिब सात किलोमिटर टाढाको शान्तिपुरबाट पिउने पानी बोकेर ल्याउँथे।
पछि यहाँका मानिसले भारतबाट अम्बा र कटहरका बिरूवा ल्याए। बस्ती बढ्दै जाँदा अम्बा र कटहर बगैंचा बढ्दै गयो। चित्रपुर अम्बा फल्ने ठाउँका रूपमा चिनिन थाल्यो। त्यो समय यहाँका मानिस धनुषाको सखुवा, महोत्तरीका चौलिखा र बर्दिबास, सर्लाहीको लालबन्दीसम्मका बजारमा अम्बा र कटहर बेच्न जान्थे।
यहाँ सबभन्दा पहिला बस्न आउने तीन-चार परिवारमध्येका एकजना थिए रघुनन्दन महतो।
उनी सिरहाको चोहर्वाबाट बसाइँ नक्टाझिझ भन्ने ठाउँमा सरेर आएका थिए। उनको नम्बरी जमिन नै बीस बिघा थियो। चित्रपुरमा ऐलानी समेत गरी २५ बिघा खेत जोडे।
त्यही समयमा चित्रपुर आएका अर्का व्यक्ति थिए भागवत महतो। उनी १३ बिघा जमिनका मालिक थिए।
रघुनन्दन र भागवत आपसमा प्रतिस्पर्धी थिए।
२०१८ सालतिर, रघुनन्दनले नक्टाझिझबाट आँपका तीनटा बिरूवा ल्याएर चित्रपुरमा रोपे।
दुई वर्षमै फल लाग्यो। अर्को वर्ष लटरम्म फल्यो।
रघुनन्दनको बारीमा मगमगाउँदा आँप देखेपछि भागवत पनि उक्सिए। एकैपटक १० कट्ठा जमिनमा आँप रोपेर बगैंचा नै बनाए। दुई-तीन वर्षमै आँप बेचेर उनले आम्दानी लिन थाले।
उता रघुनन्दनले पनि लगत्तै आँपको बगैंचा बनाए।
'भागवत र रघुनन्दनले आँपबाट आम्दानी गर्न थालेपछि अरूले पनि बगैंचा बनाउन थाले,' चित्रपुरका बासिन्दा ८५ वर्षीय पूर्वशिक्षक रामभरोस महतोले भने।
धेरै दुःख नगरी आम्दानी हुने भएपछि आँप बगैंचा फटाफट विस्तार भयो। सबैजसो बासिन्दाले आफ्नो घर वरिपरि आँप बगैंचा बनाए। आँपसँगै कटहर पनि रोपे।
हेर्दाहेर्दै, करिब एक दशकमा चित्रपुरमा विशाल आँप बगैंचा बन्यो। त्यसअघि चित्रपुरका बासिन्दाले आँप बेच्न त के, खान पनि सहजै पाउँदैन थिए। सिरहातिरबाट केही मानिस आँप लिएर चित्रपुर आउँथे र अन्नसँग साट्थे।
'रघुनन्दन गाउँका सबैलाई आँप बाँड्थे। त्यो आँप धेरै मिठो थियो। मिठो आँप खान पाइने र आम्दानी पनि हुने भएपछि यहाँका सबैजसोले बगैंचा बनाए,' तत्कालीन लक्ष्मीनिवास गाविस वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका रामभरोसले भने।
चित्रपुरका बासिन्दा शिवनारायण महतोले पनि गाउँमा यही लहर चलेका बेला आँप बगैंचा बनाएका थिए। उनी २०२२ सालमा यहाँ आएका हुन्। उनीसँग जम्मा एक बिघा खेत र सवा कट्ठा घडेरी थियो। रहर, मकै, कोदो, खैनी र अम्बा खेती गर्थे। आम्दानी राम्रै थियो।
छरछिमेकले थोरै श्रममा आँपबाट राम्रो आम्दानी लिएको देखेपछि २०२८ सालमा उनकी आमाले महोत्तरीको चौलिखा बजारबाट साढे दुई रूपैयाँ दरमा आँपका दसवटा बिरूवा ल्याएर रोपिन्। त्यो आँप बमोई र कलकतिया जातको थियो।
ती बोटबाट राम्रो आम्दानी भयो।
'मैले सुरूमा अम्बा रोपेको थिएँ। सस्तोमा बेच्नुपर्थ्यो। त्यो पनि अचानक गाउँभरमै रोग लागेर बोट सुक्यो,' शिवनारायणले भने, 'अनि मैले पनि अलिअलि गर्दै आँप रोप्दै गएँ।'
२०४० सालपछि चित्रपुरका छिमेकी बस्तीमा पनि आँप फैलियो।
शिवनारायणले त्यही समयमा जनकपुरबाट एकैपटक आम्रपाली, बमोई, कलकतीय, मालदह, दसहरी आँपका धेरै बिरूवा ल्याए। आम्दानी राम्रो हुँदै गयो। उत्साहित भएर उनले २०४५ सालमा एकैपटक सात बिघामा आँप रोपे। चित्रपुर सिंगो गाउँ २०५५ सालपछि आँपले ढाकिएको उनी बताउँछन्।
उनका अनुसार बारा र पर्सातिरका व्यापारी गाउँमा आएर आँपका प्रजाति सिफारिस गर्थे। तिनैको सिफारिसअनुसार उनले धेरैजसो आम्रपाली रोपे।
'मेरो खेतमा १५ प्रजातिका आँप छन्। मैले एकातिरबाट एउटा प्रजाति र अर्कोतिरबाट अर्को प्रजाति मिलाएर रोपेको छु।'
उनले आम्रपाली आँप एक कट्ठामा आठ बोटका दरले लगाएका छन्। अरू जातको आँप एक कट्ठामा चार बोट छन्।
गत सिजनमा उनले आँप बगैंचा एकैमुष्ट १० लाख रूपैयाँमा बेचेका थिए। उनका दाइले १२ लाख रूपैयाँमा बेचे।
यसपालि तीनवटा साना कित्ता छोडेर १० लाखमा ठेक्का (एकैमुस्ट बिक्री) लागेको थियो। तर खडेरीले आँप धेरै झरेको उनले बताए।
'व्यापारीले पाँच लाखभन्दा एक पैसा बढी दिन सक्दिनँ भन्न थालेको छ,' उनले भने, 'खडेरीले २५ वटा बोट पनि सुक्यो। खर्च पनि बढेको छ।'
पहिले आँपको खेती निकै सजिलो थियो। बोट र फलमा कीरा लाग्ने समस्या थिएन। कुनै विषादी चाहिँदैन थियो। बोटले थेग्नै नसक्ने गरी फल लाथ्यो। परिश्रमबिनै धेरै आम्दानी हुन्थ्यो।
अहिले भने बोट र फललाई रोगबाट जोगाउन खर्च हुन थालेको छ।
'२०५५ सालपछि विषादी नछर्की आँप नफल्ने भएको छ। ठेक्का नलागेको आँपमा किसानले आफै विषादी छर्किनुपर्छ। विषादी छर्किनेलाई ज्याला, वर्षको दुई पटक जोताइ गर्दा एक लाख रूपैयाँ खर्च हुन्छ,' उनले भने।
धेरैजसो व्यापारी आँपको चिचिला लाग्दै बगैंचामा आउँछन् र ठेक्का लिन्छन्।
सरकारले बटेश्वर गाउँपालिकाको वडा नम्बर १ लाई आँपको पकेट क्षेत्र घोषणा गरे पनि किसानले सुविधा पाएका छैनन्। तीनवटै तहका सरकारले आँप किसानका लागि केही नगरेको वडाध्यक्ष अशोक महतोले बताए।
'गाउँपालिका अध्यक्षज्यूले पनि केही चासो लिनुभएको छैन। प्रदेश र संघलाई त वास्तै भएन,' उनले भने, 'यहाँका किसानलाई सबभन्दा पहिले सिँचाइको जरूरी छ। खडेरीले यसपालि धेरै आँप झर्यो। ठेक्का लिएको व्यापारीले आधा पैसा पनि दिन मानेको छैन।'
आँप किसानका लागि मलखाद, किटनाशक विषादी र कोल्डस्टोर (शीतभण्डार) आवश्यक रहेको उनले बताए।
'कोल्डस्टोर भएको भए किसानले आँप जम्मा गरेर, मौकामा राम्रो मूल्य लिएर बेच्न सक्थे,' उनले भने।
अर्कातिर सुरूदेखि नै सिँचाइ अभाव रहेको चित्रपुरमा केही वर्षयता झन् समस्या चुलिएको छ। पानी चाहिने समयमा वर्षा नहुँदा आँपका दाना सानो हुन थालेका छन्।
आँपखेतीका अगुवा भागवत महतोका छोरा ६५ वर्षीय पुन्यदेव समयसँगै यहाँको आँप फेरिएको बताउँछन्।
'मेरो तीन बिघा बगैंचामा सुरूमा रोपेका चारवटा बोट बाँकी छन्। त्यसमा फल्ने आँप मिठो र ठूलो छ,' उनले भने, 'नयाँ बोटमा त्यस्तो छैन। अब त वनजस्तो भयो तर पहिलाको जस्तो ठूलो फल लाग्दैन।'
सिरहाको बल्डारा गाउँका देवेन्द्र पुर्वेले यस वर्ष चित्रपुरमा ४० लाख रूपैयाँको आँपको ठेक्का लिएका छन्। उनी पनि यहाँको आँपको रङ र आकार फरक पर्दै गएको बताउँछन्।
'यतातिरको जमिनमा बालुवा धेरै छ। घामले छिटो जमिन तात्छ र आँप चम्किलो हुन पाउँदैन। पाकेको आँप पनि पहेँलो हुन पाउँदैन,' उनले भने।
उनका अनुसार लहानतिरको आँप चम्किलो र पाकेपछि पहेँलो हुन्छ।
कृषि ज्ञान केन्द्र धनुषाका बागवानी विकास अधिकृत प्रदीप यादवका अनुसार जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा आँपखेती हुन्छ। वास्तविक तथ्यांक संकलन गर्ने र कृषकका समस्या समाधान गर्ने विषयमा भने कतैबाट पनि अध्ययन नभएको उनको भनाइ छ।
'नेपालमा उत्पादन हुने आँपको भरपर्दो तथ्यांक छैन। हामीले धनुषामा २३ हजार एक सय टन आँप उत्पादन हुने अनुमान गरेका छौं। तर तथ्यांकको आधार माग्नुभयो भने भन्न गाह्रो छ,' उनले भने, 'पहिलेदेखिको खेती, हाम्रो कार्यालयबाट भएको बेर्ना वितरण, स्थानीय तहबाट कर्मचारी र जनप्रतिनिधिले दिएको मौखिक विवरणका आधारमा तथ्यांक अनुमान गरेका हौं।'
सिँचाइको प्रबन्ध र प्राविधिक सहयोग हुन सके आँपखेतीको भविष्य निकै राम्रो हुनेमा किसानहरू बताउँछन्।