सुर्खेतको पञ्चपुरी नगरपालिका–४, बाबियाचौरका कृषक ललित रोकायाले साउन २९ गते वीरेन्द्रनगर आएर युरिया मल किने।
अघिल्ला वर्ष कृषि सामग्री कम्पनीबाट २५ रुपैयाँ किलोमा किन्दै आएको रोकायाले यो वर्ष पसलबाट धुलोजस्तो मललाई ६० रुपैयाँ तिर्नुपर्यो।
‘धान रोप्ने बेला अलिअलि मल पाइएको थियो, त्यही प्रयोग गरियो,’ रोकायाले भने, ‘पछि आउला र मल छरूँला भनेर बस्दा नआएपछि वीरेन्द्रनगर गएर महँगोमा धुलोजस्तो मल किनेँ।’
कर्णाली प्रदेशमा वार्षिक ५ हजार ४ सय ४५ टन मल खपत हुन्छ। त्यसमध्ये सबभन्दा बढी सुर्खेतमा तीन हजार टन, सल्यानमा एक हजार दुई सय, रुकुम पश्चिम आठ सय, दैलेखमा चार सय र जाजरकोटमा ४५ टन मल चाहिन्छ।
अघिल्ला वर्ष यही परिमाणमा आपूर्ति भइरहेको थियो। यो वर्ष भने धान लगाउने मुख्य सिजनमै कर्णालीका कृषकले युरिया मल पाएनन्। पछि आउने आश गरेका कृषकले लकडाउनका कारण मल नपाएपछि बजार मूल्यभन्दा दोब्बरमा किन्नुपरेको छ। मल अभावले उत्पादन घट्ने निश्चित भएको उनीहरू बताउँछन्।
रोकायाले अघिल्ला वर्ष कम्तीमा २५ मुरी धान उत्पादन गर्थे। यो वर्ष मुस्किलले १० मुरी उत्पादन हुने अनुमान गरेका छन्।
कृषिमै निर्भर रोकायाको परिवारलाई धानले वर्षभरि खान पुग्थ्यो। ‘मल नपाएर पोहोरजस्तो आशलाग्दा बोट छैनन्, सुक्न लागेका छन्,’ उनले भने, ‘अब त धानमा मल प्रयोग गर्ने सिजन पनि गइसक्यो, पाइहाले पनि काम लाग्दैन।’
वर्षा सक्रिय भएकाले समयमै धान रोपेका वीरेन्द्रनगरका कृषक शशि आचार्य पनि मल नपाएपछि उत्पादन घट्ने चिन्तामा छन्। ‘छिट्टै धान रोपेकाले उत्पादन धेरै हुने आश थियो, मल नभएपछि त पोहोरको भन्दा कम हुने देखियो,’ उनले भने।
आचार्य जिल्ला कृषि सहकारी संघ सुर्खेतका मल संयोजक पनि हुन्।
‘हामीले धानमा हाल्न मिल्ने समयभर युरिया मल धेरै प्रयास गर्यौं, नपाएपछि अधिकांश कृषकले रोप्ने बेला छरेको मलबाहेक अरू प्रयोग गर्न पाएका छैनन्,’ उनले भने, ‘केही मानिसले बजारबाट गुणस्तरहिन धुलो युरिया मल महंगोमा किनेर ल्याएका छन्। उहाँहरूले बाध्य भएर त्यही प्रयोग गर्नुभयो होला। तर, त्यसको कामै छैन।’
कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख टोपाराम गौतम लकडाउनका कारण समयमा युरिया मल आउन नसकेको बताउँछन्। उनका अनुसार अहिले केही मात्रामा डिएपी र पोटास मल सुर्खेत आइपुगेको छ।
जिल्ला कृषि सहकारी संघका मल संयोजक तथा कृषक आचार्यले अहिले आएको डिएपी र पोटास मल आलु, तोरी, गहुँजस्ता बाली लगाउन प्रयोगमा आउने बताए। ‘अहिले त खासगरी धानमा युरिया प्रयोग गर्ने सिजन हो,’ उनले भने।
बजारमा किनेको मलमा मूल्य धेरै तिर्नुपरेको कृषकको गुनासोका आधारमा अगुवा कृषकहरूले अनुगमन माग गरेका छन्। मल संयोजक आचार्यले कृषिमन्त्रीलाई भेटेर कालोबजारी नियन्त्रण र गुणस्तर अनुगमन गरिदिन आग्रह गरेको बताए।
कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मन्त्रालय मातहतको टिमलाई अनुगमनमा खटाइएको जानकारी दिएकी छन्।
‘कृषकले बजारबाट मल किन्ने गरेका छौं भनेपछि सम्बन्धित कृषि सामग्री र साल्ट ट्रेडिङको टिमलाई अनुगमन गर्नू भनेर पठाएकी छु,’ मन्त्री केसीले भनिन्, ‘उहाँहरूले मलको गुणस्तर जाँच गर्न प्रयोगशालामा पठाइसकेको जानकारी दिनुभएको छ।’
मन्त्री केसीले मूल्य र गुणस्तरमा कुनै समस्या आएको भए अनुगमन समूहले आफूलाई जानकारी गराउने बताइन्।
‘लकडाउनले हाम्रो प्रयासबाट मात्र मल भित्र्याउन सम्भव भएन। अब मल नभएपछि बजारबाट नकिन्नुस् भन्ने कुरा पनि भएन,’ उनले भनिन्, ‘बरू बजारमा किनेको मल कस्तो छ भन्नेबारे ल्याबमा जाँच हुन्छ। मूल्य र गुणस्तरमा समस्या आए नियमअनुसार नियामक निकायले कारबाही गर्छ।’
यी पनि हेर्नुहोस्: