मल अभावले देशभरिका किसान समस्यामा छन्। सरकारले समयमा उपलब्ध गराउन नसक्दा कालोबजारीमा दोब्बर मूल्यमा बिक्न थालेको छ। यो अवस्थामा किसानहरू के भन्छन्:
समयमा मल ल्याउन पनि नसक्ने यो कस्तो सरकार हो?
- डिल्लीबहादुर वली, तुलसीपुर उपमहानगरपालिका-१०, गौरीगाउँ
धान पसाउने (फुल्ने) तर्खर गर्दैछ। एक बिगाहा बढी खेतमा धान लगाएको छु। धानका लागि यो टपिङको समय हो। अहिले मल हाल्न पाए धानले धेरै गाँज (सहायक हाँगा) हाल्छ। जति धेरै गाँज फाल्यो उति धेरै धान फल्छ। मल पाए धान मज्जाले फर्किएर फुल्छ । तर, यही बेला बजारमा युरिया मल कतै पाइँदैन।
मलको खोजीमा म सधैं बजार धाउने गरेको छु। कृषि सामग्री कम्पनी, डिलर र मल बेच्ने सहकारीका मान्छेलाई फोन गर्छु। उनीहरूले जहिले पनि मल आएकै छैन भन्ने जवाफ दिन्छन्।
चैतयता रासायनिक मल किन्न पाइएको छैन। त्यतिबेला मिलेर सहकारीमार्फत् भारतबाट ल्याएका थियौं। युरिया एक बोराको ८ सय ६५ र डिएसपी प्रतिबोरा २ हजार ३ सय २५ परेको थियो। अहिले एक बोरा युरियाको २ हजारदेखि २ हजार ५ सयसम्म पर्छ। त्यो पनि सजिलै किन्न पाइन्न।
कालोबजारीयाहरूले लुकिछिपी कारोबार गरिरहेका छन्। भारतबाट भन्सार छलेर ल्याएको युरिया गुणस्तरहीन छ भन्ने सुनेका छौं। त्यही मल भए पनि किन्न नखोजेको होइन, तर पाइएको छैन। पहुँच भएकाहरूले मात्रै रातारात किनबेच गर्छन्।
टपिङको समयमा मल नपाए धानको उत्पादन घट्ने निश्चितजस्तै छ। अघिल्ला वर्षहरूमा एक बिगाहा जमिनमा उत्पादन गरेको धान प्रशस्त हुन्थ्यो। घरमा खाएर पनि बचेको ४० क्वीन्टलजति बेच्थ्यौं। यसपालि मल नपाउँदा उत्पादन स्वाँट्टै घट्छ कि भन्ने चिन्ता लागिरहेको छ।
राज्यको लापरबाहीले किसानको मेहनत पसिना त्यसै खेर जाने अवस्था आइसक्यो। अब के गर्ने के नगर्ने भन्ने तनाव मात्र भइरहन्छ। खेतीपातीका लागि समयमा मल ल्याउन पनि नसक्ने यो कस्तो सरकार हो? यसपालि सरकारकै कारण हामीलाई, भोकमरी पर्ने त्रास भयो। हाम्रो उत्पादन घट्ने भो।
मल पाइएन, धान फलेन भने लालाबाला कसरी पाल्ने?
- शरद चौधरी, तुलसीपुर-१६, लहरौला
एक बिगाहा जति जमिनमा धान खेती गरेका छौं। यो आफ्नै खेत होइन, अधियाँ हो। त्यसैले फलेको धान आधा मात्र पाइन्छ। आधा जग्गाधनीको हुन्छ।
अघिल्ला वर्षहरूमा एक बिगाहा खेतबाट ६०/७० मुरी जति धान फलाउँथेँ। ३०/३५ मुरी धान भाग लाग्थ्यो। यो उत्पादन घटे त्यति पनि पर्दैन। लालाबाला कसरी पाल्ने भनेर म त आत्तिएको छु।
यसअघि चैतमै किनेको एक-डेढ बोरा मल थियो।। त्यो मल साउनमै खेतमा हालिसकेँ। अहिले धान फूल खेल्न थालेको छ। मल चाहिएको छ तर कतै किन्न पाइन्न। मेहनत त्यसै खेर जान्छ कि भन्ने लाग्छ।
१९ जनाको परिवार छ, यो वर्ष भोकमरीको खतरा भो
- रामप्रसाद चौधरी, तुलसीपुर-१०, वनगाउँ
मैले धेरै भयो मल खोजेको। आजै बिहान पनि घोडा लिएर मल खोज्दै तुलसीपुर-१२, रझेनासम्म गएँ। सहकारीमा मल नपाएर रित्तै फर्किएँ।
यो वर्ष अधियाँ लिएको दुई बिगाहामा धान खेती गरेको छु। गत वर्ष त्यति खेती गर्दा ७० मुरीजति भाग आफूलाई आउँथ्यो। परिवारको चुलो बल्थ्यो। हाम्रो ९ जनाको परिवार छ।
अप्ठेरोमा त्यही धान मकै बेचेर घरको गर्जौ टार्थें। तत्कालै मल नपाए यो वर्ष उत्पादन घट्छ। यही अवस्था रहे अर्कौ वर्ष भोकमरी पर्ने खतरा छ।
मल किन नपाइएको हो भन्ने कुरा मैले बुझ्न सकेको छैन।
वर्षाले साथ दिए पनि राज्य निकम्मा भए कसको के लाग्छ?
- शिवराज बस्नेत, तुलसीपुर-१६, लहलौरा
धानमा हाल्ने मल किन्नै पाइएको छैन। नौ सयमा किन्न पाइने एक बोरा युरिया मल २४/२५ सय पर्छ। त्यही पनि सजिलै पाइन्न।
मैले दुई बिगाहामा धान खेती गरेको छु। १२/१३० मुरीसम्म धान फल्थ्यो। तत्कालै मल नपाए यसपालि खेती बिग्रने निश्चितजस्तै छ। निकम्मा र गैरजिम्मेवार सरकारका कारण किसानको मेहनत खेर जाने परिस्थिति आउन थाल्यो।
यो वर्ष मौसमले साथ दिएको थियो। नियमित वर्षाले धान यो वर्ष रहरलाग्दो गरी लहलहाएको छ। तर वर्षाले साथ दिए पनि राज्य निकम्मा भए कसको के लाग्छ? किसानले खेतीपातीका लागि आवश्यक मल समयमै नपाउने हो भने कसरी देश उँभो लाग्छ?
यो समयमा धानलाई रासायनिक मलको अति नै खाँचो हुन्छ। अहिलेसम्म सरकारले मल ल्याउन कुनै चासो देखाएन। अब धान काट्ने बेला ल्याइने मलको के अर्थ? कृषिप्रधान देश भन्दै भाषण गर्ने नेताहरूले किसानलाई मल चाहिन्छ भन्ने बुझ्नुपर्दैन? सबैले बुझ पचाउँदै आएका छन् भने के गर्नु र!
यी पनि हेर्नुहोस्: