स्थानीय सहकारी संस्थामा युरिया मल आइपुगेको जानकारी पाएर बुधबार बिहान सबेरै लाइनमा बसेका सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन्।
जिल्लामा आएको करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थालाई वितरण गरिएको थियो।
बुधबार सहकारी संस्थाले वितरण गर्ने जानकारी पाएर सबेरै लाइनमा बसेका सयौं किसान आफ्नो भागमा मल नपरेपछि निरास भएर फर्किए।
चितवनको भरतपुर महानगरपालिका-६ गीतानगरस्थित सर्वोदय सहकारी संस्थाका सचिव होमनाथ अधिकारीले १ सय २० बोरा मल किसानलाई १० किलोका दरले वितरण गरिएको बताए।
सहकारीमा विभिन्न वडाका गरी ५ हजार बढी किसानहरु आवद्ध रहेको उनले बताए।
मल लिन सहकारी संस्था अगाडिको सडकमा करिब २ हजार किसान लाइन लागेका थिए। मल नपाउने किसानलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो।
किसानहरूले आज मल पाएकाले अर्को पटक फेरि पाउने र नपाउने फेरि पनि पीडित बन्ने अवस्था रहने भन्दै नाम टिपाएरमात्र फर्काउन माग गरेका थिए। तर सहकारीले यसमा चासो देखाएन। निषेधाज्ञा कार्यान्वयनका लागि खटेका प्रहरीले किसानलाई लखेटेका थिए।
'वर्षभरि खाने अन्न नै मर्ने भयो, हामी कसरी बाँच्ने?,' गीतानगरका एक किसानले सेतोपाटीसँग भने, 'सरकारले बाँच्न पनि दिने भएन।'
उनले मल माग्ने किसानलाई प्रहरी लगाएर खेदिएको भन्दै दु:खेसो पोखे।
गीतानगरका किसान इन्द्रबहादुर अधिकारीले कृषि प्रधान देशको सरकारले किसानलाई उपेक्षा गरेको गुनासो गरे। दुई बिघा जमिनमा धान रोप्ने उनले यसपालि मल नपाउँदा धान बिग्रिएको बताए।
सहकारी संस्थाहरुले भने थप मल आएपछि अन्य किसानहरुलाई वितरण गर्दै जाने बताएका छन्।
तस्बिरहरू :