ऋषिराम र चन्द्रकला अर्यालले व्यावसायिक तरकारी खेती सुरू गरेको २२ वर्ष भयो।
सुरूका केही वर्ष उनीहरूले डेढ–दुई रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेका थिए। अहिले बीस रोपनी जग्गामा खेती गर्ने उनीहरू गाउँपालिकाकै उत्कृष्ट किसानका रूपमा चिनिन्छन्।
उनीहरू गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ भट्टेचौरका हुन्।
'हामीले व्यावसायिक खेती थाल्ने समयमा गाउँमा तरकारी किनेर खाने, बेच्ने चलन खासै थिएन,' ऋषिरामले भने, 'फलेको तरकारी छरछिमेकमा बाँडेर खाइन्थ्यो।'
ऋषिराम साँझ बिहान आमाबुबालाई खेतीमा सघाउँदै पढ्थे। उनका धेरैजसो सहपाठी रोजगारीका लागि भारत र तेस्रो मुलुक गए। एसएलसी (एसइई सरह) मा अनुत्तीर्ण भएपछि ऋषिरामले भने खेतीलाई नै आफ्नो पेसा बनाए।
'विदेशका त कुरा छोडौं, मैले छिमकी भारतको जमिन पनि टेकेको छैन। एक–दुई पटक बुटवल र भैरहवासम्म गएको छु, त्योबाहेक कहीँ गएको छैन। अहिलेसम्म जहाज चढेको छैन। यी सबको रहर पनि छैन,' ऋषिरामले भने।
५० वर्षीय ऋषिराम र उनकी ४५ वर्षीया श्रीमती चन्द्रकला तरकारी खेतीमै रमाएका छन्। यो सबै कामलाई व्यावसायिक बनाउन उनीहरूले 'पुष्पाञ्जली कृषि तथा पशुपक्षी फर्म' दर्ता गरेका छन्।
यस वर्ष समयमा पानी नपरेपछि उनीहरूले धान रोप्ने खेतमा पनि तरकारी नै रोपे। उनीहरू सिजन अनुसार गोलभेँडा, बोडी, सिमी, बन्दा, काउली, टमाटर, पालुंगो, लौका, काँक्रा, मुला, खुर्सानी, साग लगायत १५–२० थरीका तरकारी फलाउँछन्।


गत वर्षदेखि मरौटी र अकबरे खोर्सानीको पनि खेती सुरू गरेका छन्। हल्का पिरो, टर्रो र अनौठो स्वाद हुने, पहेँलो–रातो फूल हुने मरौटी गाउँघरमा औषधिका रूपमा प्रयोग हुन्छ। रूघाखोकी लाग्दा, शरीर वा दाँत दुख्दा, मुखमा घाउ, खटिरा आउँदा समेत मरौटीको फूल चपाइन्छ। त्यस्तै सुत्केरीलाई ज्वानो, टिमुर र मरौटीको सुप खुवाउने पनि चलन छ।
'औषधि र मसला दुवै गुण भएको मरौटी खेतबारीका ढिस्का र कान्लामा समेत सजिलै फल्छ। बजार पनि राम्रो रहेछ। त्यसैले व्यावसायिक खेती सुरू गरेका हौं,' ऋषिरामले भने।
यस वर्ष झन्डै दुई रोपनीमा २ हजार बोट अकबरे र डेढ रोपनीमा मरौटी खेती गरेका छन्। बजारमा माग अनुसार मरौटी साढे तीन सयदेखि चार सय रूपैयाँ किलोमा बिक्ने उनले बताए।
दुई दशकअघि नै तरकारी खेती थाले पनि अर्याल दम्पतीलाई यसैबाट जीवनस्तर उकास्न सकिन्छ भन्ने हौसला १२ वर्षअघि 'ली–बर्ड' नामक गैरसरकारी संस्थाले थपिदिएको हो। त्यो बेला यो संस्थाले किसानलाई प्राविधिक सेवा दिनुका साथै उन्नत जातका तरकारी र फलफूलका बिरूवा उपलब्ध गराउँदै कृषिप्रति आकर्षित गरेको थियो।
'त्यो संस्थाको सहयोगमा गाउँका ४० जना कृषकको सहभागितामा आँकुरा बहुउद्देश्यीय कृषक समूह गठन गरेर खेती विस्तार गर्दै लगियो,' ऋषिरामले भने।
त्यस्तै पछिल्लो चार–पाँच वर्षदेखि बुटवलको 'पैंचो पसल' ले हरेक आइतबार र बुधबार गाउँबाटै तरकारी र फलफूल संकलन गर्दै आएको छ। यस कारण उत्पादन बिक्रीमा अहिले समस्या छैन।
अर्याल दम्पतीले तरकारी खेतीबाट वार्षिक आठ–दस लाख रूपैयाँ आम्दानी गरिरहेका छन्।
'बिरूवा लगाउने समयमा दुई–चार दिन खेताला लगाए पनि अरू बेला सबै काम हामी आफै गर्छौं। वर्षमा १०–१२ लाख रूपैयाँको तरकारी बिक्छ। मल र बीउमा दुई–अढाई लाख रूपैयाँ खर्च भए पनि अरू बचत हुन्छ,' उनले भने।
परिवार मिलेर काम गर्ने हो भने गाउँमै कृषिमा पर्याप्त सम्भावना रहेको ऋषिराम बताउँछन्।
'विदेश गए पनि १०–१२ घन्टा काम गर्नैपर्छ। नेपालमा दैनिक ४–५ घन्टा गर्दा राम्रै कमाउन सकिन्छ,' उनले भने।
तरकारी खेतीको आम्दानीबाट उनीहरूले घरव्यवहार चलाउनुका साथै छोराछोरीलाई काठमाडौं राखेर पढाइरहेका छन्। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी र छोरा स्नातक तह पढिरहेका छन्।
अर्याल दम्पतीले खेतीबाहेक भैंसी, बाख्रा र कुखुरा पालेको छ। बिजुलीका सामानको पसल पनि चलाएको छ। ऋषिराम साँझ–बिहान खेतबारीमा काम गरेर दिउँसो पसलमा बस्छन्। चन्द्रकला बिहानदेखि साँझसम्म खेतबारी र पशुपक्षीको स्याहारमा व्यस्त हुन्छिन्।

अर्याल दम्पती गाउँपालिकाकै उत्कृष्ट किसानका रूपमा चिनिन्छ। गाउँपालिका उपाध्यक्ष तारा थापाले उनीहरूको मेहनत र सफलता देखेर अहिले गाउँमा धेरै व्यक्तिले व्यावसायिक खेती थालेको बताइन्।
तरकारी र फलफूल खेती गर्न चाहने किसानलाई गाउँपालिकाले उन्नत जातको बीउ, बिरूवा र प्रविधिमा सहयोग गर्दै आएको छ। पशुपालन गर्ने किसानलाई दुग्ध उत्पादनमा आधारित अनुदान पनि वितरण गरिएको उपाध्यक्ष थापाले बताइन्।
'गाउँपालिकाले कृषिलाई बजेटमा विशेष प्राथमिकता दिएको छ। मेसिनरी औजार, टनेल र मल्चिङ प्लास्टिक उपलब्ध गराउने, उत्पादनमा आधारित अनुदान तथा बजारीकरणमा सहयोग गर्दै आएको छ,' उपाध्यक्ष थापाले भनिन्।
गत वर्ष गाउँपालिकाले सबै वडाबाट छानेर दुई दर्जनभन्दा बढी किसानलाई सम्मान गरेको थियो। त्यसमध्ये सबभन्दा धेरै बोडी र भिन्डी उत्पादन गरेको भन्दै ऋषिराम ३० हजार रूपैयाँसहित उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएका थिए।


