सुनसरीको इनरुवा-४ का बौवालाल मेहताले चार बिगाहा खेतमा धान रोपेका छन्। पोहोर पनि उनलाई यही बेला युरिया अभाव भएको थियो। उनले भन्सार छलेर ल्याइएको मल १२ सय रुपैयाँ प्रतिबोराका दरले किनेका थिए।
यसपालि पोहोरभन्दा दुई सय बढी तिर्नुपरेको छ। ‘रोप्ने बेला मल पाइएन। अहिले धान पसाउन लाग्यो, जति भने पनि तिर्नैपर्यो,’ मेहताले भने।
सरकारले सहुलियतमा देला र हालौंला भनेर पर्खिंदा-पर्खिंदा नपाएपछि महँगोमा किन्नुपरेको उनले बताए।
बौवालालका बाबुबाजेले यही खेतमा सय मन धान फालाउँथे। अहिले उनी मुस्किलले ६० मन फलाउँछन्। ‘बेलामा मलै पाइँदैन, आठ सय प्रतिबोरा मल पाउँदा पो पर्याप्त हालिन्थ्यो। महँगो मल किन्नुपर्यो भने यही पाराले खेती गर्न नसकिएला,’ उनी भन्छन्।
किसानहरू बर्सेनि मलको मारमा पर्दा कसरी खेती गर्ने भन्ने प्रश्न उठेको छ।
‘हामी सोमबार मात्रै सिडिओकहाँ डेलिगेसन गयौं, अबको एक हप्तामा मल पाउने वातावरण बन्छ भनेका छन्,’ उनले भने।
बौवालालको जस्तै समस्या छ, मोरङ बुढीगंगा गाउँपालिका-६ का शम्भु तवदारको।
उनी ८ बिगाहा खेतमा धान र पाँच बिगाहामा केरा खेती गर्छन्। यसपालि उनले पनि दुई हजारका दरले २० बोरा मल किने।
धान र केरामा हाल्न उनले न युरिया सहज पाए, न डिएपी, न पोटास नै। यसले तवदारलाई खेतीप्रति नै वितृष्णा जागेको छ।
पोहोर साढे चार रुपैयाँ प्रतिकोसा केरा बारीमै हारालुछ बिकेको थियो। यसपालि मल अभावले केरा बगैंचामै बिग्रियो। कोसा राम्ररी लाग्न सकेन।
केरा खेतीमा दुई लाख घाटा सहनुपरेको तवदारले बताए। ‘सरकारले कृषिमा यति करोड बजेट विनियोजन गर्यो भनेर हामी किसानले समाचार मात्रै सुन्ने त हो नि,' उनले भने, 'त्यो करोड हाम्रो कृषि कर्ममा आइपुग्दो रहेनछ। केरामा त डुबेँ-डुबेँ, धानमा पनि गोवारा लाग्न थालको छ। खोइ सरकारले यसको उपचार कहिले गरिदेला?’
उनले अगाडि भने, ‘गाउँपालिका गएर समस्या राखेकै छौं, मल खोई मल खोई भनेकै छौं, कति धाउनु? आज आउँछ, भोलि आउँछ, एक हप्ता कुर्नुहोस् भन्छन्। हामी त कुरौंला, बालीले कुर्छ? अब पनि पर्खिराखे धान त खेतमै सुक्छ। त्यही भएर महँगोमा भए पनि किनेर हाल्न बाध्य भइयो।’
पैसा जुटाउन सक्नेले यसरी महँगो मल ल्याएर हाले पनि नहुनेको भने खेती नै धरापमा परेको छ।
गत वर्ष दुई बोरा युरिया किनेकी इनरूवा-६, मधेसाकी टीका गेलालले यो वर्ष दुई जना छिमेकी मिलेर मुस्किलले एक बोरा युरिया किनिन्। १४ सय हालेर किनेको आधी बोरा युरिया उनको खेतीलाई पर्याप्त भएन।
‘धान पोटाउन लागेकाले यो मल हाल्ने समय हो, तर छैन,’ उनले भनिन्।
मल अभाव र कालोबजारीबारे कृषि ज्ञान केन्द्र सुनसरी-मोरङका कार्यालय प्रमुख नुनलाल उरावलाई सोध्दा उनी भन्छन्, ‘बजारमा साल्ट ट्रेडिङले वितरण गरेको मलमा कालोबजारी छैन। अभाव भने छ। लकडाउनले बाहिरबाट आउनुपर्ने मल समयमा नआएकाले किसानको हातमा पुग्न नसकेको हो।’
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ का प्रवक्ता राजेन्द्र उप्रेती पनि पर्याप्त मल वितरण नभएको बताउँछन्।
'पन्ध्र दिन अघिसम्म कृषकले पाइसकेका भए यसको उपयोगिता बढी हुने थियो,' उनले भने, 'गत हप्ताबाट मात्र वितरण सुरू भएको छ। त्यसमाथि थोरैले मात्र पाउन सकेका छन्।’
मल आयातको जिम्मवारी कृषि सामग्री कम्पनी लिमिटेडले लिएको छ। कृषि सामग्रीले आयात गर्नुपर्ने ५० हजार टन मल नआउँदा यो अभाव देखिएको उप्रतीले बताए।
उनका अनुसार हालसम्म जम्मा ७०० टन मात्र मल आएको छ। जबकि, प्रदेश १ मा सात हजार टन मल चाहिन्छ।
यी पनि हेर्नुहोस्: