भरतपुर महानगरपालिका- २७, स्थित मेघौलीका किसान कुमार गुरूङले खेतीपाती गर्न थालेको ३७ वर्ष भयो। धान र तरकारी नै उनको परिवारको आम्दानीको स्रोत हो। त्यसैले उनको चिन्ता समयमै बीउ र रासायनिक मलको बन्दोबस्त मिलाउनेतर्फ हुन्छ।
यसपालि भने गुरूङ परिवार निरास बनेको छ। ५८ वर्षीय कुमारले बीउको बन्दोबस्त त बेलैमा मिलाए तर रसायनिक मलको जोहो गर्न सकेनन्।
साढे ४ बिघा जमिनमा धान खेती गर्ने गुरूङले समयमै मल जोहो नहुने देखेपछि केही साताअघि ५०/५० किलो तौलको तीन बोरा मल कालोबजारीबाट खरिद गरे। त्यसका लागि उनले दोब्बर मूल्य तिरेका थिए। तर त्यति मल पर्याप्त थिएन।
‘सरकारले नदिने देखेपछि छिमेकमै ब्ल्याकमा बिक्री भइरहेको थाहा पाएर केही बोरा किनिहालेँ,’ उनले भने, ‘विस्तारै सरकारले ल्याउला, त्यसपछि हालौंला भन्ने सोचेको थिएँ। आउँदै आएन।’
बेलैमा मल हाल्न नपाउँदा धान बिग्रन थालेको उनले बताए। उनको धानलाई पुग्ने गरी हाल्दा ८ बोरा मल चाहिन्छ। प्रतिबिघा ३० क्वीन्टलसम्म धान उत्पादन गर्दै आएका गुरूङलाई यसपालि उत्पादन घट्ने चिन्ताले सताउन थालेको छ। अघिल्ला वर्ष उनले ५० क्वीन्टलभन्दा बढी धान बिक्री गर्ने गरेका थिए।
‘पर्याप्त मल नभएपछि धानको स्तर पनि खस्किन्छ, उत्पादन त घटिहाल्छ,’ उनले भने, ‘परिवार कसरी पाल्ने, छोराछोरी के ले पढाउने?’
उनका एक छोरा, एक छोरी क्याम्पस पढ्छन्।
मल नपाएर आजित बनेका धान उत्पादक किसान शिव भुर्तेल पनि अर्को वर्षबाट धान छाडेर घाँस रोप्ने निर्णयमा पुगेका छन्।
‘यो पाराले धान रोप्नुभन्दा त घाँस रोप्दा फाइदा हुन्छ,’ भुर्तेलले भने, ‘गरिखान पनि नपाइने भयो।’
उनले कृषि बुझेका व्यक्ति मन्त्री हुँदा किसानहरूले ठूलो अपेक्षा गरेका भए पनि किसानहरू पहिलेभन्दा बढि निरास भएको सुनाए। मल नपाएको गुनासो राख्दा कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा करिब ३० हजार हेक्टर जमिनमा ९७ हजार ५ सय टन धान उत्पादन हुने गरेको छ। किसानहरूको मागअनुरूप मल उपलब्ध गराउन २ हजार ४ सय टन आवश्यक पर्छ। यसपालि चितवनमा युरिया मल मागभन्दा १२ गुणा कम उपलब्ध भएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले जिल्लामा अनुदानको मल उपलब्ध गराउँछन्। कृषि सामग्री कम्पनीमा अहिलेसम्म युरिया आइपुगेको छैन। साल्ट ट्रेडिङले करिब २ सय टन बाँडेको छ।
साल्ट ट्रेडिङन चितवन प्रमुख बुद्धिविनोद दाहालका अनुसार गत वर्ष साउन र भदौमा ७ सय टन मल वितरण गरिएको थियो। यसपालि तीन सय टन आउने भनिएकोमा २ सय मात्रै आइपुगेको छ।
चितवनस्थित कृषि सामग्री कम्पनीका प्रमुख रवीन्द्र गौतम गत वर्ष यो समय ८ सय टन युरिया मल वितरण गरिएको बताउँछन्। ‘यसपालि त कत्ति पनि आइपुगेको छैन,’ उनले भने, ‘यहाँको मागको विषयमा जानकारी गराएका छौं तर कोरोना महामारीका कारण आउन ढिलाइ भएको जानकारी पाएका छौं।’
कतिपय किसानले दोब्बर मूल्य तिरेर एमोनियम सल्फेट (चिनी मल) खरिद गर्ने गरेका छन्। निजी एग्रोभेट र साल्ट ट्रेडिङले यो मल बिक्री गर्छन्। चिनी मलको मूल्य ५० किलोको १३ सय ३५ रुपैयाँ छ। अनुदानको युरिया ५० किलोको ७ सय ६५ रुपैयाँ पर्थ्यो।
साल्ट ट्रेडिङ र कृषि सामग्रीले उपलब्ध गराउने मल कृषि ज्ञान केन्द्रको सिफारिसमा सहकारी संस्थाहरूलाई उपलब्ध गराइने गरिएको छ। किसानले उक्त मल सहकारी संस्थामार्फत् किन्छन्।
जिल्लामा निषेधाज्ञा जारी गरिएको भए पनि किसानहरू यसको पर्वाह नगरी मलको आशमा सहकारी संस्थामा लामबद्ध हुने गरेका छन् । सहकारी संस्थाहरूले भने किसानलाई दस किलोका दरले मल उपलब्ध गराउँदै आएको छ।
चितवनस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना चितवन धान उत्पादन राम्रो हुने जिल्ला भए पनि यस वर्ष मल अभावले उत्पादन घट्ने बताउँछन्।
धानमा लागेको ब्लास्ट (पहेँलो हुने), सीथ ब्लाइट (धानको जरा डढ्ने र पात सुक्ने) रोग तथा गवारो किराको प्रकोपले धानको उत्पादन घट्ने संकेत देखिएको उनले बताए।
यी पनि हेर्नुहोस्: