तुलनात्मक रूपमा अहिले धेरै प्रकारका तरकारीको अफसिजन हो। व्यवसायीहरूका अनुसार साउनदेखि असोजसम्मको समयलाई तरकारीका लागि अफसिजन मानिन्छ। तर यो समयमा पनि सीमित तरकारी भने असाध्यै सस्तो छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अहिले भण्टा र स्कुस प्रतिकिलो थोक मूल्य अधिकत २० रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
बुधबार लाम्चो भण्टा प्रतिकिलो थोक मूल्य १० देखि २० र स्कुस १५ देखि २० रूपैयाँमा कारोबार भएको तथ्यांकले देखाएको छ।
‘स्कुस र भण्टाको सिजन सुरू भइसक्यो,’ तरकारी व्यवसायी खोम प्रसाद घिमिरेले भने, ‘उत्पादन धेरै भएकाले सुरूआतमै धेरै सस्तो भयो।’
उनका अनुसार अहिले स्कुस पालुङ र साँखु लगायतका विभिन्न ठाउँबाट आइरहेको छ। त्यस्तै भण्टा भने पहाडदेखि तराईका विभिन्न जिल्लाबाट पनि आएको छ।
हाेलसेल मूल्य सस्ताे भएसँगै उपभाेक्ता मूल्य पनि न्यून छ। अहिले उपभाेक्ताले यी तरकारी प्रतिकिलाे ३० देखि ४० रुपैयाँमा पाइरहेका छन्।
अहिले बजारमा काउली, सिमी, बोडी लगायतका तरकारी भने अत्यधिक महँगो छ।