६ दिनदेखि काँकडभिट्टामा तयारी चिया बोकेका ११ वटा ट्रक अड्किएका छन्।
भारतीय भन्सारको अवरोधका कारण गत बिहीबारदेखि ट्रक भारत प्रवेश गर्न पाएका छैनन। ७ वटा सिटीसी र ४ वटा अर्थोडक्स चिया बाकेर ट्रक भारतका लागि छुटेका थिए।
भारतीय भन्सारले नमुना परीक्षण गराएर मात्र प्रवेश गर्न दिने भन्दै ट्रकलाई सीमापार गर्न रोक लगाएपछि सीमामा ट्रक अडकिएका हुन्।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश कुमार अग्रवालले भारतीय भन्सारको अवरोधका कारण चिया बोकेर कलकत्ता हिँडेका ट्रक सीमामा रोकिएको बताए।
अग्रवालले पूर्वसहमति विपरित भारतीय भन्सारले नमुना परीक्षणको बखेडा झिकेर चिया निकासीमा अवरोध पुर्याएको बताए। यसअघि व्यवसायी र भारतबीच नमुना परीक्षण गराएपछि त्यसको ६ महिनासम्म चिया निर्यात गर्न सकिने सहमति भए पनि त्यसको उलंघन गर्दै भारतले ट्रक रोकेर राखेको उनले बताए।
‘हामीसँग एक पटक नुमना परीक्षण गराएपछि त्यसको ६ महिनासम्म गराउनु नपर्ने सहमति भएको थियो, तर उताको भन्सारमा नयाँ हाकिम आएसँगै पुर्व सहमति विपरित भन्सार पास गराएका छैनन्’, अग्रवालले भने।
दुई महिनाअघि मात्र नमुना परीक्षण गराइएको भन्दै उनले अर्को ४ महिनासम्म सहज रुपमा चिया निकासी गर्न पाउनुपर्ने बताए। लामो समयदेखि ट्रक भन्सारमै थन्किएको भन्दै चिया नष्ट हुने खतरा बढेको उनको भनाई छ। ‘यो वर्खाको मौसम भएकाले पानी त्रिपालबाट पसेर चियासम्म पुग्यो भने त्यसले पुरै नष्ट गर्दिन्छ’, उनले भने।
त्यस्तै लामो समयसम्म लोड भएका ट्रक रोकेर राख्दा त्यसको प्रतिदिन भाडाबापतको लागत समेत बढ्ने भएकाले उद्योगी चिन्तित देखिएका छन्।
‘ट्रकलाई प्रति दिनको हिसाबले भाडा तिर्नुपर्छ। जति दिन रोकिन्छ त्यसको भाडा पनि बढ्दै जान्छ,’ उनले भने, ‘यदी यथासिघ्र अवरोध नहट्ने हो भने क्रेताले हाम्रो चिया नकिन्न पनि सक्छ।’
नेपाल चिया तथा कफी विकास बोर्डले भने चियाको सहज निकासामा भारतीय पक्षबाट गरिएको अवरोधलाई अस्वभाविक तथा अव्यवहारिक बताउँदै यसबारे सरकारलाई अवगत गराइएको बताएको छ।
‘नेपाली बस्तुको सहज निर्यातमा अवरोध पुयाउने नीति भन्सारको मात्र हो या केन्द्रीय सरकारको हो, हामी अनविज्ञ छौँ’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने ‘यसबारेमा सरकारलाई जानकारी गराएका छौँ। पटक पटकको अवरोधप्रति कुटनैतिकरुपमा समाधान खोज्न पहल गछौँ।’
अन्य वस्तु निर्यातमा भारतले पटकपटक अवरोध पुर्याउँदै आएको भन्दै गौतमले तयारी चिया निकासीमा दोश्रो पटक समस्या सिर्जना गरेको बताए। उनले केही वर्षअघि समेत सोही बहानामा अवरोध खडा गरिएको स्मरण गर्दै नेपाली व्यवसायीलाई दुख दिने भारतको नियत देखिएको आरोप लगाए।
उनले लामो समयसम्म सीमामा अड्किँदा चिया नष्ट हुने जोखिमलाई ध्यानमा राखेर नुमना परिक्षणका लागि कलकत्तास्थित केन्द्रीय खाद्य ल्याबमा पठाइएको जानकारी दिए।
‘चिया नष्ट नहोस भन्ने सावधानीका साथ हामीले केही व्यवसयीलाई भारतीय पक्षले भनेझैं कलकत्ता ल्याबमा नमुना परिक्षणका लागि पठाएका छौँ’ उनले भने ‘त्यो एक हप्ताभित्रमा आइपुग्छ, तर पटकपटक यसरी दुख दिन खोज्नुका कारणतबारे भारतसँग गम्भीर रुपमा प्रश्न उठाउन सरकारलाई आग्रह गरेका छौँ।’
यसअघि भारतले अदुवा, अलैँची लगायत कृषि उत्पादनको निकासीमा अवरोध पुर्याएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामै पुनः चियामा अवरोध खडा गरिएको छ।
यो समस्या नेपाली पक्षले जोडतोडका साथ उठाएर दिगो समाधानका लागि पहल नगरेसम्म नेपाली किसानहरु बारम्बार भारतीय अवरोधका कारण मारमा परिरहने छन्।