केही दिनअघिसम्म निरन्तर रुपमा आकासिएको तरकारीको भाउ विस्तारै ओरालो लाग्न थालेको छ।
पुराना तरकारीको सिजन सकिएको तथा नयाँ फल्न सुरु नभइसकेको अवस्था (सिजनल ग्याप) र फलेका थोरै पनि चुनाबका बेला स्थानीय स्तरमै खपत बढेकाले आकासिएको तरकारीको मूल्य विस्तारै नियन्त्रणमा आउन थालेको छ।
करिब एक महिनाको अवधिमा तरकारीको मूल्य ६४ प्रतिशतसम्मले घटेको छ। यस अवधिमा गोलभेँडा, आलु, काउली, बोडी, भान्टा, बन्दा, तिते करेला, लौका, फर्सी लगायतका सबैजसो तरकारीको मूल्यमा गिरावट आएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको खुद्रा मूल्य विवरण अनुसार एक महिना अघिसम्म प्रतिकेजी १२५ रहेको बोडीको भाउ ६४ प्रतिशतले घटेर ४५ रुपैयाँमा आइपुगेको छ।
त्यसैगरी ११० रुपैयाँ रहेको ठूलो गोलभेडाको मूल्य २६ प्रतिशतले घटेर ८५ मा झरेको छ। रातो आलु ५५ बाट ४८, सेतो आलु ४५ बाट ४३ रुपैयाँ प्रति केजीमा कायम भएको छ।
त्यस्तै काउलीको एक महिनाअघिको ८५ रुपैयाँ प्रति केजी मूल्य हाल ४७ प्रतिशतले घटेर ४५ भएको छ। बन्दा प्रतिकेजी ८५ बाट ४५, भान्टा ७५ बाट ४५, लौका ५५ बाट ४५ तथा तिते करेला ८५ बाट ७५ रुपैंयाँमा पुगको छ।
हाल सिमीको मूल्य ४५ रुपैयाँ छ जुन एक महिनाअघिसम्म सो दरभन्दा ५२ प्रतिशतले बढी अर्थात ९५ रुपैयाँ पर्थ्यो। कालिमाटी बजारका खुद्रा तरकारी व्यापारी गुणराज सापकोटका अनुसार सहजरुपमा आपूर्ति हुन थालेपछि तरकारीको भाउ ओरालो लागेको हो।
‘चुनाबका बेला स्थानीयस्तरमै खपत बढेको थियो। कालीमाटीमा थोरै मात्र तरकारी आइपुग्थ्यो तर अहिले आवश्यक परिणाममै भित्रिन थालेको छ। त्यसैले मूल्य पनि घट्दै गएको छ’ सापकोटाले भने।
पुस लागेपछि विवाहको लगन सकिने हुँदा हालको जस्तो माग नहुने भएकाले तरकारीको भाउ अझ ओरालो लाग्ने सापकोटाले दाबी गरे।
‘मंसिर विवाहको लगन धेरै जुर्ने महिना हो, भोज भतेर लगायतका कार्यक्रम धेरै हुने भएकाले खपत पनि बढेको छ’ उनले थपे ‘तर पुसमा त्यस्ता कार्यक्रम घटेर जान्छन्। यसको प्रत्यक्ष असर तरकारी बजारमा पर्छ र मूल्य अझ घटाउँछ।’
तर सोही अवधिमा अन्य तरकारीको भाउ सस्तिँदा प्याजको मूल्यमा भने त्यसको कुनै प्रभाव परेको छैन। एक महिनाअघि ८५ रहेको प्याजको भाउ १०५ रुपैयाँ प्रति केजी पुगेको छ। अघिल्लो अवधिको भन्दा यो मूल्य २३ प्रतिशतले बढी हो।
अन्य खुद्रा बजारमा भने प्रतिकेजी १३० रुपैयाँसम्म प्याजको कारोबार हुने गरेको छ। व्यापारीका अनुसार निरन्तररुपमा बढ्दै गएको प्याजको मूल्य तत्काल घट्ने कुनै छाँटकाँट देखिँदैन। नेपाल प्याजमा पूर्णरुपमा भारतमा निर्भर हुँदै आएको छ।
समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार मुलुक प्याजमा भारतनिर्भर भएकाले त्यहाँको नियमले यहाँ महँगो पर्न गएको हो। ‘प्याज भारतबाटै आयात हुन्छ, भारतले निर्यात दरमा कडाई गरेपछि त्यसको असर परेको हो’ उनले भने। नयाँ सिजनको उत्पादन बजारमा नआइसकेको र बाढीका कारण यसअघि ठूलो परिमाण नष्ट भएकाले भारतले निर्यात नीति कसिलो बनाएको हो।
निर्यातसम्वन्धी नयाँ नीति लागू गर्दै उसले दर बढाएपछि महँगो हुन गएको हो। श्रेष्ठका अनुसार भारतले अहिले प्याजमा प्रतिटन ८५० डलर निर्यात शुल्क लगाउने गरेको छ। डिसेम्बर (पुस मध्य) महिनासम्म यो शुल्क लागू हुने भएकाले त्यसयता प्याजको मूल्य नघट्ने भएको छ।
नयाँ प्याज आउन थालेपछि भारतले नीति परिवर्तन गर्ने बताइएको छ। डिसेम्बरपछि नयाँ प्याज आउने र त्यसपछि मात्रै नीति परिवर्तन भई सस्तिने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ मा भारतबाट ४ अर्ब २० करोड रुपैयाँ बराबरको प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ।