जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा समेत आगजनी भएको छ।
संघका अध्यक्ष डा. बद्री केसीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा र त्यसपछि पनि देशभर भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाप्रति एनआरएनए स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
बालुवाटारस्थित संघको मुख्य सचिवालय र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीप्रति गहिरो दुःख प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ।
'प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले गैरआवासीय नेपाली संघ स्तब्ध भएको छ,' विज्ञप्तिमा भनिनएको छ, 'बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको छ।'