पछिल्लो समय नेपाली विद्यार्थीहरूको शीर्ष रोजाइमा पर्ने देशहरूमा अस्ट्रेलिया पनि एक हो। अस्ट्रेलियामा अहिले नेपालीहरूको उपस्थिति बाक्लिदो छ।
पछिल्ला दिनमा त्यहाँको आप्रवासी नीतिमा भएको फेरबदलका कारण धेरैको चासो बढेको छ। अस्ट्रेलियाको अध्ययन भिसासम्बन्धमा विभिन्न हल्ला पनि फैलिएको छ। धेरैले अस्ट्रेलियन सरकारले विद्यार्थी भिसामा कडाइ गरेको बुझे भने केहीले अब विद्यार्थी भिसा नै नदिने अनुमान लगाइरहेका छन्।
के साँच्चै अस्ट्रेलियन सरकारले नेपाली विद्यार्थीलाई भिसा नदिने भनेको हो? योसँगै अस्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थीहरूले के-के कुरामा ध्यान दिनुपर्छ लगायत विषयमा हामीले आइडिपी एजुकेसनको अस्ट्रेलियाका लागि डेस्टिनेसन म्यानेजर मन्जु तामाङसँग कुराकानी गरेका छौं।
यस्तो छ कुराकानीको सम्पादित अंशः
१.अन्तर्राष्ट्रिय अध्ययनको लागि नेपाली विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया किन परिरहेको छ?
अन्तर्राष्ट्रिय अध्ययन अहिले धेरै नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। तीमध्ये अस्ट्रेलिया शीर्ष रोजाइमा पर्ने गर्छ। यसको पछाडि थुप्रै कारणहरू छन्। पहिलो भनेको अस्ट्रेलियन डिग्री विश्वव्यापी रूपमा मान्यता प्राप्त डिग्री हो। त्यहाँको अधिकांश विश्वविद्यालयहरू टप २०० मा पर्छन्।
अस्ट्रेलियन विश्वविद्यालयले डिजाइन गरेको पाठ्यक्रमले आजको औद्योगिक आवश्यकताहरू पूरा गर्छ। विद्यार्थीहरूले आफ्नो पाठ्यक्रममा भएका विषयहरूसँगै इच्छा लागेको विषयमा अनुसन्धान गर्न सक्छन्। उनीहरूलाई इन्टर्नशीपको अवसर प्रदान गरिन्छ। यस प्रकारको अभ्यासले विद्यार्थीहरूलाई पढाइ सकेपछि रोजगार बजारको लागि तयार हुन मद्दत गर्छ।
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पोस्ट स्टडीको अधिकार दिएको छ। अर्थात् पढाइ सकेपछि काम गर्न पाउने अधिकार दिएको छ। सँगै विद्यार्थीहरूको लागि पार्ट-टाइम काम गर्न सकिने अधिकार पनि दिएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीले पाक्षिक (१५ दिनमा) ४८ घण्टासम्म काम गर्न सक्छन्।
२. अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षाको नजरबाट के-के कुरा प्रस्ताव गर्छ?
हरेक अभिभावकलाई आफ्नो बच्चा सुरक्षित देशमा गएर पढुन् भन्ने हुन्छ। अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि निकै सुरक्षित छ। विशेष विद्यार्थीहरूको लागि थुप्रै ऐनहरू छन्। जस्तै ट्युसन प्रोटेक्सन सर्भिस (टिपिएस) जसअन्तर्गत भोलिको दिन कुनै कारणले विद्यार्थीले पढिरहेको कलेज बन्द भयो वा उनीहरूले छनौट गरेको विषयको कार्यक्रम बन्द भयो भने अस्ट्रेलियन सरकारले विद्यार्थीको रकम फिर्ता गर्छ। अथवा अरू कलेजमा सोही पाठ्यक्रमको लागि स्थानान्तरण गराइन्छ। यस्तै अस्ट्रेलियमा ओभरसिस स्टुडेन्ट हेल्थ कभर भन्ने हुन्छ। यसले विद्यार्थीको शैक्षिक सत्र भरी स्वास्थ्य बीमा कभर गर्छ।
३. अस्ट्रेलियाले अहिले कुन-कुन महिना विद्यार्थी भर्ना लिन्छ?
अस्ट्रेलियाले अहिले मुख्यतः दुई वटा इनटेक लिन्छ। अर्थात् वर्षको दुई पटक नयाँ सत्र सुरू हुन्छ। फेबुअरी र जुलाईमा हुन्छ। केही विश्विद्यालयले नोभेम्बरबाट पनि नयाँ सत्र सुरू गरिरहेको हुन्छ। तर यो सत्रमा निकै कम विषयको लागि भर्ना खुलाइएको हुन्छ।
४. अध्ययनको लागि अस्ट्रेलिया जानुभन्दा अघि विद्यार्थी र अभिभावकहरूले के-के कुरामा ध्यान दिनुपर्छ?
अस्ट्रेलियामा पढ्ने सोच बनाएका विद्यार्थीले सुरूमा आफू कुन विश्वविद्यालय जान चाहेको भन्ने बुझ्नुपर्छ। यसबारे अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यस्तै कुन विषय वा पाठ्यक्रम पढ्न जाने पनि स्पष्ट हुनुपर्छ।
विद्यार्थीले आफू कुन इनटेकको लागि जाँदैछु भन्ने कुरामा ध्यान दिनुपर्छ। यदी तपाईं जुलाईको लागि जाने सोचमा हुनुहुन्छ भने अहिलेबाटै प्रोसेसिङ थाल्नुपर्ने हुन्छ। अहिले अस्ट्रेलियामा धेरै कुराहरू स्ट्रिमलाइन भएको छ। अन्तिम समयमा कागजात तयार गर्न सम्भव नहुन सक्छ।
त्यसैले समयमै प्रोसेसिङहरू सुरू गरे सहज हुन्छ। कम्तीमा पनि ४-५ महिना अघिदेखि प्रोसेसिङको काम सुरू गर्नुपर्ने हुन्छ। यसमा झन् विशेष अभिभावहरूले वित्तीय कागजात देखाउनुपर्ने हुन्छ। व्यवसाय वा जागिर भए त्यसको सम्पूर्ण विवरण देखाउनुपर्ने हुन्छ। सरकारलाई कर बुझाएको प्रमाणहरू पनि देखाउनुपर्ने हुन्छ।
५. विश्वविद्यालय कसरी रोज्ने? विश्वविद्यालय रोज्दा के-के कुरामा ध्यान पुर्याउनुपर्छ?
विश्वविद्यालय छनौट गर्दा त्यो विश्वविद्यालय कति औं श्रेणीमा पर्छ भन्ने हेर्नुपर्छ। तपाईंले पढ्न चाहेको पाठ्यक्रम उक्त विश्वविद्यालयमा छ कि छैन भन्ने हेर्नुपर्ने हुन्छ। त्यसबाहेक पाठ्यक्रमको समयावधि र शुल्कहरूबारे बुझ्नुपर्छ।
अधिकांश विश्वविद्यालयले छात्रवृत्ति पनि दिइरहेको हुन्छ। विश्वविद्यालयमा आवेदन दिनुअघि यी कुरा पनि बुझ्न जरुरी हुन्छ।
६. कस्ता विद्यार्थीले छात्रवृत्ति पाउँछन्?
छात्रवृत्तिहरू विद्यार्थीको शैक्षिक योग्यताअनुसार दिइन्छ। विद्यार्थीको जिपएमा आधारित हुन्छ। त्यो बाहेक आइएलटिएसको स्कोरको आधारमा पनि छात्रवृत्ति प्रदान गरिन्छ। त्यस्तै कतिपय विश्वविद्यालयले बर्सरी छात्रवृत्ति दिन्छ। त्यो भनेको निश्चित शुल्क दिने हो। यसबाहेक क्षेत्रीय छात्रवृत्ति पनि हुन्छ। विश्वविद्यालयले पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति वा अनुदानमा आधारित छात्रवृत्तिहरू प्रदान गर्छ।
७. अगाडि कुरा गर्नुभएको पोस्ट स्टडीको अधिकार कसले पाउने हो? यसको लागि के गर्नुपर्छ?
अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि पोस्ट स्टडी वर्क अधिकार दिएको हुन्छ। सहरी क्षेत्रको विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीले स्नातक र स्नातकोत्तर पढाई सकेपछि दुई वर्षसम्म पोस्ट स्टडी वर्क भिसा पाउँछ। क्षेत्रीय ठाउँमा रहेका विश्वविद्यालयबाट अध्ययन सकेका विद्यार्थीले ६ वर्षसम्म काम गर्न पाउँछ। पिएचडी सकेका विद्यार्थीले भने ७ वर्षसम्मको पोस्ट स्टडी वर्क भिसा पाउन सक्छ। पढाई सकेपछि यसको लागि आवेदन दिन सकिन्छ।
८. अहिले बजारमा अस्ट्रेलियाको विद्यार्थी भिसा पाउन गाह्रो छ भन्ने हल्ला छ। कतिले भिसा दिइरहेको छैन समेत भनेको सुनिन्छ। के साँच्चै अष्ट्रेलियन सरकारले भिसा नदिएको हो?
त्यस्तो होइन। भिसा आवेदन गर्न आवश्यक कागजातहरू सक्कल र पूरा छन् भने भिसा रिजेक्सनकको सम्भावना कम हुन्छ। यसको लागि पूर्व-तयारी पनि आवश्यक पर्छ। अस्ट्रेलियन सरकारले भिसामा केही कडाइ भने गरेको हो। अस्ट्रेलियाली उच्च आयोगले तोकेअनुसारको नियममा रही साँचो कागजातहरू पेस गर्ने हो भने हल्लाको पछाडि लाग्नै पर्दैन। कागजात लगायत विषय यसको आधिकारिक वेबसाइटबाट बुझ्न सकिन्छ। अथवा कमलादी हात्तीसारमा रहेको आइडिपी एजुकेसनको कार्यलय आएर पनि यसबारे विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ।
९. अस्ट्रेलियाको भिसामा कडाई गरेपछि विद्यार्थीहरूले अन्य गन्तव्य रोज्न खोजेको घटनाहरू छन्?
छन्। अहिले थुप्रै विद्यार्थीहरू अस्ट्रेलियाको भिसा पाउन गाह्रो हुने सुनेर अरू देशलाई आफ्नो गन्तव्य बनाउन खोजिरहेका छन्। तर अघि भनेजस्तै कागजातहरू वास्तविक छन् र सबै प्रक्रिया मिलेको छ भने यस्तो सोच्नुपर्दैन। प्राथमिकतामा अस्ट्रेलिया छ भने यसैको लागि आवेदन दिन सल्लाह दिन्छु।
१०. अन्तिममा अस्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थी र उनीहरूको अभिभावलाई केही विशेष सल्लाह-सुझाव दिन चाहनुहुन्छ?
विद्यार्थीलाई मुख्य भनेको आफूले के पढ्ने र कहाँ पढ्ने विषयमा प्रस्ट हुन सल्लाह दिन्छु। यदी तपाईं अभिभावक हुनुहुन्छ र तपाईंको बच्चाले अन्तर्राष्ट्रिय अध्ययन गर्ने सोच बनाएको छ भने यसको लागि आवश्यक प्रक्रियामा सुरुआती दिनदेखि सक्रिय हुन सल्लाह दिन्छु। यसको लागि आवश्यक परामर्शहरू विशेषज्ञहरूबाटै लिन सुझाव दिन्छु।
हात्तिसारस्थित आइडिपी एजुकेसन नेपाल विश्वव्यापी शिक्षा सेवा प्रदायक अस्ट्रेलियन कम्पनी हो। ५० वर्षभन्दा लामो इतिहास बोकेको आइडिपीले हालसम्म लाखौं विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सपना पूरा गर्न मद्दत गरेको छ।
आइडिपी नेपालले हाल अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, न्युजिल्यान्ड र आयरल्यान्ड जस्ता देशका लागि निःशुल्क परामर्श दिँदै आएको छ। यसको मुख्य उद्देश्य विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामार्फत् करिअरमा सक्षम बनाउन मदत गर्नु हो।
आइडिपीले सुरुआती परामर्शदेखि भिसा आएका विद्यार्थी अन्तर्राष्ट्रिय विश्वविद्यालय पुगेपछि समेत आवश्यक निर्देशन दिइरहेको हुन्छ।