क्यानडाको नेपाली समुदायले बालाचतुर्दशी पर्वको अवसरमा सतबीज छर्दै पितृहरूको स्मरण गरेको छ।
क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय जम्मा भएर सतबीज छरिएको हो।
मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको हो।
नेपाली संकृतिको संरक्षण र आफ्ना दिवंगत पितृहरूको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लिला भण्डारीले बताइन्।
हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याइएको छ।
ठूलो पशुपति मन्दिर निर्माण र बौद्ध स्तुप निर्माणका लागि सेन्टरले १० एकड जमिन समेत खरिद गरेको छ।
सतबीज मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायकै जमिनमा आयोजना गरिएको हो।
मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेशस्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरूआत गरेका थिए।
पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने यस्ता सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताए।
अध्यक्ष सापकोटाले नेपाली समुदायका लागि गरिने साना तथा ठूला कार्यक्रमहरूमा सकेको योगदान गर्नुपर्ने र नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षण गर्नुपर्नेमा जोड दिए।