ग्लोबल नेपाली
हरिप्रसाद भुसालले चितवनमा अस्पताल, कलेज, प्याथोलोजी ल्याब लगायतमा लगानी गरेका थिए।
मौलाकालिका अस्पताल र नर्सिङ कलेजमा उनको लगानी थियो। म्यानेजमेन्ट भ्याली स्टेट कलेज र सिड मेडिकल ल्याबोरेटरीको पनि नेतृत्वमा थिए। एचए (हेल्थ असिस्टेन्ट) र नर्सिङ विद्यार्थीलाई मेडिकल बायोकेमेस्ट्री पढाउँथे।
सन् २०१९ सेप्टेम्बरमा भने उनी क्यानडा गए। उनकी श्रीमतीले क्यानडाको स्थायी आवास अनुमतिपत्र (पिआर) पाएकी थिइन्। हरि उनीसँगै गए।
क्यानडामा उनले मेडिकल बायोकेमेस्ट्रीमा पिएचडी (विद्यावारिधि) अध्ययन गरे।
'क्यानडा पुगेको तीन महिनामै कोरोना महामारी फैलियो। धेरै क्षेत्र ठप्प भए,' हरिले सम्झिए, 'तैपनि पढाइ अघि बढाएँ। त्यसै वर्ष मेडिकल ल्याबोरेटरी सम्बन्धी लाइसेन्स पनि लिएँ।'
हाल उनी क्यानडाको 'डाइनाकेयर ल्याब' मा काम गर्छन्। उनी चिकित्सा प्रयोगशाला वैज्ञानिक र अनुसन्धानकर्ता हुन्। ल्याबको नियमित कामबाट फुर्सद भएपछि अध्ययन–अनुसन्धानमा लाग्छन्।
उनीसहितको एउटा टिमले रिपोर्ट लिन लामो समय लाग्ने परीक्षणको समय घटाउन अनुसन्धान गरिरहेको छ।
उनका अनुसार हाल बायोप्सीको रिपोर्ट तयार गर्न सामान्यतया १५ दिन लाग्छ। यो परीक्षण तीन–चार दिनमै पूरा गर्ने सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ।
'केही अनुसन्धानमा लगभग सफल भइसकेका छौं,' हरिले भने, 'गम्भीर किसिमको घाउ भएर कुनै अंग फाल्नुपर्ने अवस्थामा घाउको मात्र उपचार गरेर अंग जोगाउने विषयमा पनि अनुसन्धान गरिरहेका छौं। यसमा पनि सफलताको नजिक छौं।'
कुनै परीक्षणको रिपोर्ट चाँडो वा ढिलो आउनुले उपचारमा प्रभाव पार्ने उनको भनाइ छ।
उनको टिमले गरिरहेका केही अनुसन्धान पूर्ण रूपमा सफल भयो भने प्याथोलोजी प्रणालीमै परिवर्तन हुने उनको दाबी छ। सफल अनुसन्धानको प्रविधि नेपाल भित्र्याउने उनको धोको छ।
उनी 'मोर्डन ल्याबोरेटरी टेक्नोलोजी' विषयमा एउटा किताब पनि लेख्दैछन्। किताब ल्याबको आधुनिकीकरणमा केन्द्रित हुनेछ।
हरि नेपालमा सामाजिक काममा समेत संलग्न छन्। यसनिम्ति 'डा. हरि भुसाल फाउन्डेसन' स्थापना गरेका छन्। आफ्नो कुल आम्दानीको एक प्रतिशत रकम फाउन्डेसनमार्फत सामाजिक काममा खर्च गरिरहेको उनको भनाइ छ।
उनी नेपालमा व्यवसाय विस्तार गर्न चाहन्छन्। तत्काल भने परिस्थिति सोचेजस्तो नभएको उनले बताए।
'नेपालमा एउटा होटल चलाउने योजना छ। तर अहिलेको समयले हच्किएको छु। फेरि राम्रो समय आउने विश्वास छ,' उनले भने।
चितवनका सहकर्मीका साथमा हरि भुसाल (दायाँ)
स्वास्थ्य क्षेत्रमा अझै एकाध अनुसन्धान गर्ने योजना रहेको पनि उनले बताए। यस्तो अनुसन्धानका लागि क्यानडामा उत्कृष्ट प्रबन्ध भएको उनी बताउँछन्।
क्यानडा जान चाहने नेपालीको संख्या बढ्दो छ तर पछिल्ला दिनमा भिसा सफलता दर केही कम छ। क्यानडा जान चाहने नेपाली विद्यार्थीका लागि उनका केही सुझाव छन्। उच्च शिक्षाका लागि जान चाहनेले स्नातक तहको पढाइ पूरा गरेर मात्र प्रक्रिया सुरू गर्नु भन्ने उनको मुख्य सुझाव हो।
माध्यमिक शिक्षा (१२ कक्षा) मात्र पढेर क्यानडा गएका विद्यार्थीहरूले अनेक समस्या भोग्नुपरेको उनले देखेका छन्।
'१२ कक्षा मात्र पढेर आएका अधिकांश विद्यार्थी घर न घाटका भएका छन्। यस्ता विद्यार्थीको पढाइ बिग्रिने र कुलतमा फस्ने समस्या देखेको छु,' उनले भने, 'नेपालबाट सन्तान विदेश गएको छ भन्ने हुन्छ तर खासै प्रगति भएको हुँदैन। वेयर हाउसमा सामान्य काम गर्नेभन्दा बढी केही भएको हुँदैन।'
स्नातक तह पूरा गरेर जाँदा ज्ञान, उमेर, पढाइ र कामको क्षमता बढेको हुन्छ। यस्ता विद्यार्थीका लागि विभिन्न क्षेत्रमा अनुसन्धानको अवसर भएको उनले बताए।
क्यानडामा अवसर छ भन्नुको अर्थ नेपालमा कुनै अवसर छैन भनेर बुझ्न नहुने पनि उनले बताए।
'मेहनत गर्नेका लागि नेपालमा पनि प्रशस्त अवसर छ। विदेश गए मात्र ठूलो प्रगति हुन्छ भन्ने गलत बुझाइ हो। विकसित मुलुकमा केही अध्ययन, अनुसन्धान र अनुभवका साथ केही पैसा लिएर नेपाल जान सकियो भने त्यसले धेरै बाटो खोल्छ। तर सधैंका लागि विदेश बस्ने सोच राम्रो होइन।'
उनी आफै पनि नेपाल फर्किने सोचमा छन्। अहिले पनि नेपालमा आफ्नो निकै ठूलो लगानी भएकाले आफूलाई विदेशिएको पनि मान्दैनन्।
'मैले क्यानडाको नागरिकता लिएको छैन। म विदेश भासिएको पनि होइन,' ४६ वर्षीय हरिले भने, 'केही विशेष अध्ययनका लागि क्यानडा आएको हुँ। अब छोराको पढाइ पूरा भएपछि नेपाल फर्किन्छु।'
परिवारका साथमा हरि भुसाल
***