रामेछापको खाँडादेवी चरिकोटमा मात्र होइन, काठमाडौंमा समेत धेरै सुनेको, देखेको नाम हो।
रामेछापबाट चरिकोट, काठमाडौं गुड्ने अधिकांश ट्याक्सी, गाडी र विभिन्न संघसंस्थाको साइनबोर्डमा समेत खाँडादेवी नाम देखेकै हो। यही नामले मलाई तानिरहन्थ्यो। जाउँ जाउँ लागिरहन्थ्यो। तर कतिपय ठाउँमा समयले साथ दिएर मात्र नहुने रहेछ। धार्मिक स्थलमा जानको लागि भगवान स्वयमले बोलाउनुपर्छ कि जस्तो लाग्छ।
यस पटक त्यस्तै भयो। मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ र पर्यटन व्यवसायी हरि ओलीसँग चियागफमा रामेछापको खाँडादेवी दर्शन गर्न जाउँ भन्ने सल्लाह भयो। त्यही सल्लाहलाई स्वीकार्दै कात्तिक २ गते बिहान ८ बजे चरिकोटबाट यात्रा सुरू भयो।
तामाकोशी नयाँ पुलमा पुगेपछि मेलुङ–१ का वडा अध्यक्ष ईश्वर कोइरालाले पनि साथ दिनुभयो।
हामी ४ जना देवीटार, खिम्ती, मन्थली हुँदै खाँडादेवी गाउँपालिका अन्तरगत खाँडादेवी मन्दिरमा दर्शन गर्न पुग्यौं।
यात्राको क्रममा असोजमा आएको अविरल वर्षाले नखोसिएका समथर खेत, खोला, चिल्लो मोटर बाटो हुँदै खाँडादेवी मन्दिरमा पुग्यौं। यस मन्दिरमा दर्शन गर्न बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको बाक्लो उपस्थिति देखियो।
१९८५ मिटर उचाइमा अवस्थित यस खाँडादेवी मन्दिरको दर्शन गरेपछि खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङले स्वागत गर्नुभयो।
यस पालिकामा पुगेपछि मलाई लाग्यो धेरै घुम्न बाँकी रहेछ। धेरै देख्न बाँकी रहेछ। आन्तरिक पर्यटनलाई मात्र प्राथमिकता दिने हो भने आर्थिक, भौतिक रूपमा धेरै विकास हुन्छ होला भन्ने ठानेँ।
स्थानीय सरकारले पर्यटकलाई चाहिने बाटो घाटो, बिजुली, खानेपानी र होटलहरू सञ्चालनमा ल्याउने हो भने धेरै नेपालीहरू विदेश होइन, नेपालभित्र नै घुम्थे होलान्। गाउँठाउँको धर्म, संस्कृति, मठमन्दिर, डाँडाकाँडा, खोलानाला, खेतीपाती अवलोकन गर्ने मौका पाउँथे होलान् भन्ने सोचेँ।
अहिले घुम्ने सिजन भएकाले मन्थली विमानस्थलमा विदेशीहरू प्रशस्तै देखेँ। उनीहरू नेपाल घुम्नको लागि लाखौं रुपैयाँ खर्च गरेर आएका हुन्छन्। काठमाडौंबाट मन्थली हुँदै लुक्ला, नाम्चे जानको लागि जहाजहरू मन्थलीमा अवतरण गरेका थिए।