कुन्ती मोक्तानको गीतले भनेझैं शैलुङमा चौरी चर्ने मात्र होला जस्तो लाग्थ्यो। 'माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई' बोलको गीतले धेरैको मन तानेको छ।
मलाई पनि यही गीतले १४ वर्षअघि डोर्याउँदै शैलुङ पुर्याएको याद अझै ताजै छ। जनै पूर्णिमाको दिन मात्र मान्छेहरू पूजा गर्न पुग्थे शैलुङ। अहिले शैलुङ जान साइत कुर्नै पर्दैन।
सदरमुकाम चरिकोट चरिघ्याङबाट यसो हात लम्ब्याउँदा भेट्लाझैं गर्छ शैलुङ। हिउँदमा हिउँ पर्दा सेताम्मे देखिन्छ भने वर्षायाममा हरियाली।
यही प्राकृतिक सुन्दरताकै कारण यस ठाउँमा बेला बेलामा फरक किसिमका कार्यक्रम हुन थालेका छन्। यही ठाउँमा धेरै म्युजिक भिडिओहरू बनाएका छन्। फिल्मका गीतहरूको सुटिङमध्ये बढी यही शैलुङमा भएको छ। यहाँबाट गौरीशंकर हिमाललगायत प्रशस्तै हिमश्रृङ्खलाहरूको अवलोकन गर्न पाइन्छ। त्यसैले पछिल्लो अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ।
यिनै विशेषता सम्झेर म बेला बेलामा शैलुङ पुग्ने गर्छु। ३१४६ मिटर उचाइमा रहेकाले जुनसुकै मौसममा पनि घुम्न सकिन्छ। धार्मिक दृष्टिकोणले पनि महत्वूर्ण मानिन्छ शैलुङलाई। तामाङको मुख्य बाजा डम्फुको आविष्कारक पेङदोर्जेको जन्मथलो पनि मानिन्छ शैलुङ। त्यसैले बेला बेलामा ताम्बा संघ नेपाल शैलुङले डम्फु मेला आयोजना गर्दै आएको छ।
म पनि यही डम्फुको तालमा कम्मर मर्काउन शैलुङ पुगें।