गुड फ्राइडे सिनेमा
यो कथा आफ्नो जीवनको निर्णय आफै लिने चाहना बोकेकी मारियाको हो।
१७ वर्षीया मारिया अल्भारेज एक फूल कारखानामा काम गर्छिन्। उनी गर्भवती छिन्। यस्तो बेला काम गर्ने ठाउँमा मालिकको दुर्व्यवहार उनलाई चित्त बुझ्दैन। जागिर छोड्छिन्।
मारिया बेरोजगार भएपछि उनीसँगै उनका आमा र दिदीको पनि चिन्ता बढ्छ।
अर्कातिर, उनका प्रेमीले बिहे गरौं भने पनि मारियालाई प्रेमीको मायामा शंका छ। उनी प्रेमीसँग सम्बन्ध तोडेर अघि बढ्ने निर्णय गर्छिन्।
कोलम्बियाको राजधानी सहर नजिकै बस्ने उनी बोगोटा गएर साथीको सहयोगमा काम पाउने आशामा छन्। यही क्रममा उनी राम्रो पैसा पाउने लोभमा लागुपदार्थ तस्करी गर्ने गिरोहसँग ठोक्किन्छिन्।
यो प्रस्ताव स्वीकार गरेसँगै बोगोटा सहर नजिकैको सानो गाउँमा हुर्किएकी निर्दोष मारियालाई अर्कै दुनियाँमा पुर्याउँछ। उनी एकै पटकमा दर्जनौं लागुपदार्थ भएका क्याप्सुल एकै पटक निल्ने विधि सिक्न थाल्छिन्।
फिल्मको केन्द्रमा कोलम्बिया र अमेरिकाबीच हुने लागुऔषध तस्करीको अँध्यारो पाटो देखाइएकोले यो भागलाई विस्तारमा देखाइएको छ।
यो चरणमा मारिया, लुसी र ब्लान्काजस्ता पात्र एकआपसमा जोडिन्छन्। उनीहरू सबैको पेटमा दर्जनौं क्याप्सुल लुकाइएको छ जुन अमेरिका पुगेर कसैलाई सुम्पिनु छ।
मारियाको पेटमा मात्रै ६२ वटा क्याप्सुल छन्। तर न्यूयोर्क एयरपोर्टका सुरक्षाकर्मीलाई छलेर यो काम गर्न सजिलो छैन।
यसपछिका घटनाक्रमले मारिया र उनका साथीको जीवनलाई सजिलो बनाउला या अझ अप्ठ्यारोमा फसाउला?
यसका लागि फिल्म स्पेनी फिल्म 'मारिया फुल अफ ग्रेस' हेर्नुपर्छ।
सन् २००४ मा सार्वजनिक यो फिल्मबाट अभिनेत्री र निर्देशकको कामको निकै प्रशंसा भएको थियो।
फिल्ममा मारियाको भूमिकामा धेरै अवार्ड जितेकी कैटेलिना स्यान्डिनोको अभिनय तारिफयोग्य छ। आत्मविश्वाससँगै चरित्रको भूमिका र उमेर सुहाउँदो चञ्चलता, संकोच, रिस र डरका भाव उनको अनुहारमा देखिन्छ।
कैटेलिना यही फिल्मबाट ७७ औं एकेडेमी अवार्ड्स (अस्कर) मा उत्कृष्ट अभिनेत्री विधाको अवार्डका लागि मनोनयनमा परेकी थिइन्।
फोटोग्राफी पत्रकारिताको पृष्ठभूमिसमेत भएका निर्देशक जोसुआले अमेरिकाको न्यूयोर्क, क्विन्स लगायतका ठाउँमा बस्ने आप्रवासी क्याम्बोडिनका वास्तविक कथाको जगमा यो फिल्म बनाएका हुन्।
'मारिया फुल अफ ग्रेस' ले दुई दर्जन हाराहारी राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। यही हाराहारीमा मनोनीत पनि भएको थियो।
हेर्नुस् पूरा फिल्म अंग्रेजी सबटाइटलमा