प्रकृतिलाई भगवान मान्ने हाम्रो दर्शन र भगवानलाई प्रकृतिको रूपमा पूजा गर्ने संस्कारलाई हाम्रो भौगोलिक विविधताले थप बढावा दिइरहेको छ।
करिब १९३ किमिको छोटो दुरीमा समुद्र सतहदेखि ६० मि. बाट ८८४८.८६ मि. सम्मको उचाइ हाम्रै देशमा पाउँछौं। करिब ८८५ किमिको यो लम्बाईमा भएका विविधताका फरक आयामहरू (जस्तैः भाषा, संस्कृति, पहिरन, वेशभूषा आदि) नै हाम्रो अचुक सम्पत्ति हुन् र हामीले बेलैमा आफ्नो परिवेशमा भएका सम्पत्तिको पहिचानमा ध्यान दिन जरूरी छ।
पर्यटनका असीमित आयामहरूमध्ये मुख्य गरी तीन वटा आयामहरू: कृषि पर्यटन, धार्मिक पर्यटन र साहसिक पर्यटन छन्। यी आयाममध्ये पनि कृषि र धार्मिक पर्यटनलाई सगोल रूपमा अघि बढाउन सकियो भने थोरै लगानीमा सहजै आम नागरिकहरूले अंगाल्न सकेर आर्थिक वृद्धिको क्षेत्रमा दिगो रूपमै टेवा पुर्याउन सकिने वातावरण सृजना हुन्छ।
हाम्रो देशमा भएका ती अमूल्य सम्पत्तिलाई सही सदुपयोग गर्नुअघि व्यक्ति स्वयम्, सामाजिक संघ -संस्था र सरकारी संयन्त्र सबैको प्रथम दायित्व भनेको तिनीहरूको खोज, पहिचान र प्रचारमा ध्यान पुर्याएर जनमानसमा सहजै अवगत गराउनु हो।
यस्तै कार्यहरूमध्ये ढिलै भए पनि स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरी कालीकोट जिल्लामा रहेको पचाल झरनालाई नेपाल सरकारले हाल नेपालको सबैभन्दा अग्लो (करिब ३८१ मि.) झरना भनेर घोषित गर्नु हो। यद्यपि हालसम्म पनि नापी विभागबाट प्रतिवेदन सार्वजनिकरण गर्न सकेको छैन। यो कार्यबाट प्रष्ट रूपमा बुझ्न सकिने कुरा भनेको हामीसँग भएका कतिपय पचाल झरनाजस्ता धेरै ठाउँहरू जुन सधैं उही अवस्थामा छरपष्ट छन्। तर, राज्यको खोज र अनुसन्धानको क्षेत्रमा अझ पनि ध्यान पुग्न सकिरहेको छैन। फलस्वरूपः तिनीहरू ओझेलमा त पर्दै आएका छन्, थप भावी पुस्ताहरूलाई प्रदान गरिने शिक्षामा पनि सही कुरा दिन नसकिरहेको अवस्थालाई चित्रण गरिएको छ। कालिकोटकै अर्को धार्मिक-कृषि पर्यटन तथा रारासँगको पर्यटनलाई जोड्न मिल्ने, हाई-अल्टिच्युड ट्रेकिङको लागि प्रमुख गन्तव्य बन्न सक्ने क्षमता बोकेको पुगेली माईको मन्दिर तथा यस क्षेत्रको पाटन हालसम्म पनि सरकारी तवरबाट आधिकारिक रूपमा सूचिकृत गरी प्रचारमा ल्याउन नसक्नु दुःखको कुरा हो।
यो क्षेत्रको केन्द्रबिन्दुको रूपमा रहेको पुगेली माईको गात (देवीस्थान) हाल अग्लो ठाउँको देवीस्थान मानिँदै आएको पाथीभराभन्दा समुद्री सतहबाट करिब ७०० मि. अग्लो स्थानमा रहेता पनि राज्यले यो स्थानलाई हालसम्म पनि अग्लो स्थान भनेर घोषणा गर्न न कुनै पहल गर्यो न त कुनै खोज। अतः व्यक्तिगत तवरमा भए पनि सरोकारवालासँग यो पुगेली माईको गात (देवीस्थान) लाई नेपालको अग्लो स्थानमा रहेको देवीस्थानको रूपमा घोषणा गरेर सूचीकृत गरिनुपर्ने आधारहरूलाई निम्नानुसार प्रस्तुत गर्दछु:-
पुगेली माई कर्णाली प्रदेश कालिकोट जिल्ला तिलागुफा नगरपालिकास्थित समुद्री सतहदेखि करिब ४४७८मि.(जिपिएस अनुसार) करिब ४४९० मि. (गुगल अर्थअनुसार) उचाइमा अवस्थित रहेको छ। जसलाई चित्र नं. १ ले राम्रोसँग बताएको छ।
हाल अग्लो ठाउँको देवीस्थान मानिँदै आएको पाथीभरा समुद्री सतहदेखि करिब ३७९४ मि. उचाइमा मात्र रहेको छ। जुन पुगेली माईभन्दा करिब ७०० मिटर कम उचाइमा रहेको देखिन्छ।
पाथीभराभन्दा अग्लो बडीमालिका समुद्री सतहदेखि करिब ४२१४ मि.(google earth अनुसार), करिब १४६००फिट (४४५०मि.) (सुदुरपश्चिम विकास आयोग अनुसार), र करिब १५००० फिट(४५७२ मि.) सूचना विभागको नेपाल परिचयमा उल्लेख छ। एउटै ठाउँमै यति धेरै भिन्नता हुन्छ भने कसलाई आधिकारिक मान्ने, कसलाई नमान्ने? सर्वेक्षणमा शंका अवश्य गर्न सकिने ठाउँहरू प्रशस्त छन्।
जिपियस अनुसार पुगेलीमाईस्थित ठाउँको उचाइ
अब पुनः पुगेली माईको छोटो परिचय अनि स्वर्णिम दिनमा फर्किंदा,
कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनमोहक पुग पाटनमा श्रावणशुक्ल पुर्णिमा (जनैपूर्णिमा) को दिन नवदुर्गा भवानीमध्यकी एक बहिनी पुगेली माईको आस्था विश्वास र धरोहर परापुर्वकालदेखि रहि आएकाले कालिकोट, जुम्ला, बाजुरा, दैलेख, सुर्खेत लगायत विभिन्न स्थानबाट हजारौं श्रद्धालु भक्तजनहरूद्वारा दर्शन, पूजाआराधना गरिँदै आइरहेको छ। पुगेली माईसँग मनले सोचेको वर माग्दा पुग्ने भएकाले पनि पुग नामाकरण भएको किंम्बदन्ती छ।
स्थानीय भाषामा भुवानी भनेर पुजिने पुगेली माईको मूर्ति २०५३/५४ को द्वन्द्वकालमा पुगबाटै चोरी भै काठमाडौं बेच्न लगी तौल गर्दा कहिले बढी तौल कहिले कम तौल भइदिनाले बेचबिखन हुन नसकेको अवस्थामा फोईमहादेवकै स्थानीयले पत्ता लगाएर प्रशासनमार्फत विशेष सम्मानका साथ फिर्ता ल्याइएको थियो। पुगेली माई अन्य ठाउँमा बस्न नमानी आफ्नै रोजेको ठाउँमा नै बस्ने अद्भूत क्षमता रहेको जनमानसमा विश्वास रहेको छ। श्रावण शुक्ल चतुर्दशीको दिन पुगेली माईका भारा, मूर्तिको पूजा गरी धामी पतुर्दै (एक प्रकारको धामी नाच) पुगेली माईको जय बोलाउँदै, विभिन्न स्थानीय भाकाः
'हल्लरी लल्लरी पाटन शिवहरिव, गोठ हाम्मी कैलु छैनन् दिया बरिअ' जस्ता निम्न आशा खुसी र उत्साहभावका
असाण साहान्या मइका, कटाँसका दाँदा,
रक्ष्या अर्या पुगेलि माईऔ,वर माग्न जाँदा,
गोठ हाम्मी कैलु छैनन्, वर माग्न जाँदा,
घाणा हाम्मा मौरी छैनन्, वर माग्न जाँदा,
धजा खुटो मुठो चामल, ल्हिकन माईका थान जाँदा,
दाजु भाईलु मिलिकन, वर माग्न जाँदा ओ वर माग्न जाँदा,
मनको इच्छा पुर्याइदिया, हाँस्दै खेल्लै जाँदा ओ हाँस्सै खेल्लै जाँदा। आदि...'
गीत गाउँदै मूर्ति बोकेर घरबाट पुग प्रस्थान गरी पाटनको बीच बाटोमा बसेर भारा नुहाउने, रातभरि आरती गर्ने धामी पतुर्ने भजनकिर्तन आदि गरिन्छ। बिहानै नुहाएर त्यहाँबाट पुगेली माईका गात (मुख्य मन्दिर/देवीस्थान) मा भोजपत्रको हाँगामा ध्वजापाता सहितको पुगेलीमाईको टाँगो ठड्याइन्छ। यस्तै प्रकारले खल्लाबाट कालिकाको भारा पनि ल्याइन्छ। विभिन्न स्थानबाट श्रद्धालुहरूले बुकी, फलफूल ध्वजापाता टाँगो चढाइ दर्शन गरी मनले सोचेको वर मागिन्छ जय बोलाइ मागिन्छ, जनै फेर्ने साथै ब्रतबन्ध पनि गरिन्छ। तर पशुपन्छीको बली भने चढाइँदैन।
यहाँ दर्शन पूजापाठ सकिएपछि तिलक बनाएर माईलाई चढाइसकेपछि माईको प्रसाद स्वरूप सबैले तिलक लगाउँछन्। त्यसपछि माईसँग अर्को साल भेट्ने बाचासहित नाच्दै, गाउँदै निम्न विरह र बिछोडका भावका खेल लगाउँदै पाटनबाट गाउँतिर झर्छन् र आफ्ना विभिन्न थान हरूमा पैठ गर्छन्।
पुगबाट फर्किंदा (अलि निराशाका भावले);
'असाण साहान्या मइका, घनै हाल्या दाँदा
बस्या है पुगेली माईऔ, हामी घर जाँदा
बुकीतिलक चढाइकन,शिर सिंन्दुर चढाइकन
हातभुत्केस समाईकन, हामी घर जाँदा
अर्को साल भेट्ने अरि,हामी घर जाँदा ओ हामी घर जाँदा। आदि....
शिरशैनको मुला चोतो चिर भाइऔ खाउँ
शिर बुइनी छोडिकन कसै घर जाउँ
एक्लै बुइनी छोडिकन कसै घर जाउँ। आदि...'
यसर्थ, भौगोलिक विकटता, अध्ययन, अवलोकन, पहुँच र प्रचारप्रसारको कमीका कारण सम्बन्धित निकायमा आधिकारिक रूपमा सूचीकृत र प्रचार हुन नसकेको पुगेली माईस्थानको संरक्षण, व्यापक प्रचारप्रसार, मौलिक व्यवस्थापन गरी स्थानीय, प्रदेश र संघीय प्रमुख धार्मिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न जरूरी देखिन्छ। पुगको इतिहास पुगमा दर्शन गरिने भवानी र कालिकाको मूर्ति बनेको समय बनावट लगायतका रहस्यमय कुरा अनुसन्धानको विषय बनाइनुपर्छ। यसको लागि सम्पूर्ण स्थानीय नागरिक, जनप्रतिनिधि, विशेष गरी तिलागुफा नगर सरकार, कर्णाली प्रदेश सरकार साथै संघीय सरकारको सहयोग, समन्वय र अपनत्व अति आवश्यक छ।