प्रसिद्ध देवी मनकामनाकाे बारेमा थाहा नहुने प्रायः काेही छैनन् हाेला। तर इच्छाकामना देवीकाे नाम बिरलै मानिसहरूले मात्रै सुनेका हाेलान्, त्यसैले त्यहाँ पुग्ने मानिसकाे संख्या पनि मनकामनाकाे तुलनामा नगण्य नै छ।
प्राचीन धार्मिक महत्त्वकाे स्थान भएर पनि किन याे क्षेत्र उपेक्षितझैं छ त? के प्रचारप्रसार नभएरै हाे त? इच्छाकामना मन्दिर पुगेर फर्कंदा मनमा यस्तै कुराहरू खेलिरहे।
आफूले त्यहाँ पुग्दा देखेका, भाेगेका, सुनेका र केही पढेका कुराहरू लिपिबद्ध गर्न पाए यसबाट त्यहाँ जान चाहनेहरूलाई केही जानकारी मिल्न सक्ने ठानी यी पंक्तिहरू काेरिएका हुन् र याे आफ्नो भ्रमण अनुभवमा आधारित छ।
चितवनको इच्छाकामना गाउँपालिकाकाे ५ नम्बर वडामा पर्ने कफेक डाँडामा रहेको इच्छाकामना देवीको मन्दिर पुग्न कुरिनटार (काठमाडौंबाट जाँदा मनकामना केवलकार स्टेसन नपुग्दै) काे फिस्लिङ बजारबाट माथि झण्डै १५ किलोमिटर घुमाउरो कच्ची बाटाे (ठाडो उकालाे) चढ्नु पर्छ।
यहाँदेखि मन्दिर रहेको स्थानमा पुग्न सवारी साधनबाट सवा एक घण्टा र पैदल जाँदा साढे तीन घण्टा लाग्छ। तर, बाटोकाे दुबैतर्फ लटरम्म फलेका सुन्तलाका पहेंलपुर बगैंचाहरू, छर्लङ्गै देखिने हिमालहरू लगायतका प्राकृतिक साैन्दर्यता हेर्दै जाँदा बाटो काटेको भने पत्तै हुँदैन।
मन्दिर पुगेपछि प्राप्त हुने स्वर्गीय आनन्दकाे त झन् वर्णन गर्न सकिने कुरै भएन।
यही २०७९ साल मंसिर २४ गतेका दिन चालक दलसहित तीस जनाकाे हाम्रो पारिवारिक टाेली इच्छाकामनाकाे दर्शनका लागि बिहान पाँच बजे बसबाट प्रस्थान गर्याे।
चियापान र शाैच कार्यकाे लागि केहीबेर बाटोमा राेकिँदै हामी पाँच घण्टामा मन्दिर पुग्याैं।
मन्दिरकाे वातावरण रमणीय थियो। मन्दिर परिसरकाे अवलोकन गर्ने काम भयाे।
साधारण तले शैलीको दुइटा छानायुक्त इच्छाकामनाकाे मन्दिरकाे निर्माण कार्य हुँदै रहेछ।
देवीको मूर्तिलाई मन्दिरको अलिक अगाडि पूर्वतर्फ सानाे काेठा बनाएर राखिएको ठाउँमा हामीले दर्शन र पूजा अर्चना गर्यौं।
हामीले घरबाटै खाना तयार गरेर लगेका थियौं। खानपिन गरिसक्दासम्म तीन घण्टा समय व्यतीत भयाे। दिउँसो साढे एक बजे हामी त्यहाँबाट तल्तिर ओर्लियाैं।
बाटाेमा चियाखाजा गरेर ठाउँ-ठाउँको सवारी जामलाई छिचोल्दै साँझ साढे सात बजे घर आइपुगेर हाम्रो एकदिने भ्रमण टुंगिएकाे थियो।
किंवदन्ती अनुसार, गाेरखास्थित मनकामना र चितवनस्थित इच्छाकामना दिदीबहिनी मानिन्छन्। यी दुवै देवीको मन्दिर आमनेसामने उत्तर-दक्षिण डाँडाकाे वारिपारि छ।
दुवै देवीको मन्दिर परिसरबाट प्रचुर वातावरणीय सुन्दरता देख्न सकिन्छ। तापनि समुद्री सतहबाट १३०३ मिटर उचाइमा रहेको मनकामना मन्दिरभन्दा करिब ५०० मिटर अर्थात् १८०० मिटर उचाइमा रहेकोले हिम श्रृङ्खला, हरियाली, डाँडाकाँडा लगायतका प्राकृतिक साैन्दर्यता नियाल्न इच्छाकामना मन्दिर अझै उपयुक्त छ।
स्थानीय बुढापाकाका अनुसार, आजभन्दा ११४ वर्ष अगाडि १९६५ सालमा स्थानीय मनिराज दर्लामी नामका ब्यक्तिले गोठालाे जाँदा देवीको दर्शन पाएका र त्यसपछि गाउँलेहरूले ढुंगाको मन्दिर निर्माण गरी पूजा-आजा गर्ने परम्पराकाे सुरूआत गरेका हुन्।
दर्शन गर्ने भक्तहरूकाे मनको इच्छा पूरा गरिदिने भएकोले देवीको नाम इच्छाकामना रहेको हाे भन्ने स्थानीयहरूकाे मत छ।
स्थानीयवासीहरू गाेरखाकाे मनकामना, गोरखकाली, तनहुँकी छिम्केश्वरी र इच्छाकामनालाई दिदीबहिनी मान्ने गर्दछन्। जनश्रुति अनुसार, परापूर्वकालमा एकपटक मनकामना र इच्छाकामनाकाे बीचमा 'को ठूलो' भन्ने विषयमा झगडा परेछ। विवादकाे क्रममा इच्छाकामनाले मनकामनालाई 'तिम्रो मन्दिरमा सुँगुरकाे पनि बलि चढाइनेछ' भन्ने श्राप दिइछन्। त्याे सुनेर रिसाएकी मनकामनाले 'तिम्रो मन्दिरमा भक्तजनहरू नपुगुन्' भनेर इच्छाकामनालाई पनि श्राप दिइछन्। जनश्रुतिकाे सच्चाई जेसुकै भएता पनि मनकामनामा दैनिक हजारौं भक्तहरूको भिड लाग्नु र इच्छाकामनामा नगण्य मानिसहरू पुग्ने गरेकाे वर्तमान अवस्था देख्दा त्यो श्रापकाे कुरा भने ठ्याक्कै मिलेझैं देखिन्छ!
प्रशस्त सम्भावना बाेकेकाे पर्यटकीयस्थल हुँदाहुँदै पनि यहाँ दर्शनार्थीहरूको आवागमनमा वृद्धि हुन नसक्नुमा यातायातकाे असुविधा र प्रचारको अभाव भएको स्थानीयहरूकाे मत छ।
तर, सार्वजनिक यातायात नचलेतापनि मोटरबाटाे पुगेकाले विगतको तुलनामा अहिले पर्यटकहरूकाे इच्छाकामना मन्दिर पुग्ने क्रम बढेको छ। पर्यटक बढेसँगै फिसिङ्गबाट मन्दिरसम्म पुग्दा यात्रुहरूका लागि खाजा, खाना, पानी, पूजाका सरसामान लगायतका सामग्रीका पसल खुल्नु पर्नेमा साे नहुनु, विश्रामस्थल, पिकनिकस्थल, शाैचालय र पानीकाे स्राेत आदिकाे समुचित ब्यवस्थापन नहुनुले पनि पदयात्रा र धार्मिक पर्यटनको उपयुक्त गन्तव्य रहेको त्यस स्थानमा हुनुपर्ने जति पर्यटन प्रवर्द्धन भइरहेको छैन।
मन्दिरकाे निर्माण कार्य चाँडै सकेर सडककाे स्तराेन्नति र पर्यटक लागि आवश्यक पूर्वाधारहरूकाे समेत समुचित व्यवस्था गरी सबैतिर प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवर्द्धनकाे माध्यमबाट आगामी दिनमा यस क्षेत्रले विकासको फड्को मार्ने कुरामा विश्वस्त हुन सकिन्छ।