कोभिड १९ को महामारीपछि केही खुकुलो हुँदै गएको अवस्थामा नेपाल पर्यटन बोर्डले नजिकका छिमेकी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बंगलादेशको ढाकामा नोभेम्बर २३ मा पर्यटन सेल्स मिशन कार्यक्रम सम्पन्न गरेको छ।
नेपालका १४ वटा टुर अपरेटरले बंगलादेशका ६० भन्दा बढी पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई पर्यटनसँग सम्बन्धित आकर्षक प्याकेजबारे जानकारी गराउनुका साथै नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्य तथा नेपालमा उपलब्ध पर्यटकीय सुविधाको बारेमा सूचना तथा ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशी पर्यटकका लागि सहजरूपमा प्रवेशाज्ञा उपलब्ध हुने बारेमा जानकारी गराइएको थियो।
दक्षिण एशियाका मुलुकमध्ये सबैभन्दा बढि आर्थिक वृद्धिदर भएको बंगलादेशले कोभिड १९ को महामारीलाई पनि कुशलतापूर्वक व्यवस्थापन गरिरहेको सन्दर्भमा बंगलादेशीमाँझ अन्तर्राष्ट्रिय पर्यटनको माग बढ्दै गएको देखिएको छ। नेपाल नजिकको गन्तव्य भएको, नेपाल र नेपालीहरुको छवि बंगलादेशमा अत्यन्त राम्रो रहेकाले नेपाल भ्रमणका लागि बंगलादेशीको गहिरो चासो र उत्सुकता रहेको पाइएको छ।
विश्व बैंकको तथ्याङ्क अनुसार बंगलादेशको कुल ग्राहस्थ उत्पादन सन् २०२१–२०२२ मा ६.४ प्रतिशतले बृद्धि हुने अनुमान गरेको छ। जुन दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा उच्च आर्थिक वृद्धिदर मानिन्छ। आर्थिक बृद्धिसँगै नागरिकको खर्च गर्न सक्ने सामार्थ्य पनि बढ्ने भएकाले बंगालदेशीमाँझ अन्तर्राष्ट्रिय भ्रमणको माग उच्च देखिएको छ।
नेपालको पर्यटन आगमन तथ्याङ्क अनुसार सन् २०१८ मा बंगलादेशबाट २६ हजारभन्दा बढी पर्यटकले नेपालको भ्रमण गरेको थिए। तत् पश्चात विश्व महामारीको कारणले पर्यटन आगमनमा उच्च गिरावट आएको छ। तर हाल नेपाल र बंगलादेश दुवै देशले अन्तर्राष्ट्रिय पर्यटकको लागि सीमाना खुला गरिसकेका छन्। यसै सन्दर्भमा दुवै देशका टुर अपरेटर आगामी वर्षमा पर्यटनको आगमन उच्च वृद्धि हुनेमा निकै आशावादी छन्।
कोभिड–१९ ले थला परेको नेपालको पर्यटनलाई छिमेकी राष्ट्र बंगालदेशबाट हुनसक्ने पर्यटकको आगमनले ठूलो राहत पुग्नसक्ने कार्यक्रममा सहभागीको धारणा छ। साथै निकट भविष्यमै ढाकादेखि भारतको जलपाईगुडी रेलवे स्टेशनसम्म सिधा रेल सेवाको सुरूआत हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगालदेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ।
नेपालको बंगलादेशस्थित राजदूतावासका उपनियोग प्रमुख कुमार राईले दूतावासबाट हुने सहयोगमा कुनै कमी नहुने आश्वासन दिँदै नेपाल र बंगालदेशको अत्यन्त सुमधुर सबन्ध रहेको र ढाकाबाट केवल एक घण्टामा काठमाडौं पुग्न सकिने र स्थलमार्ग भएर पनि नेपाल सहज रूपमा पुग्न सकिने भएकाले आगामी दिनमा बंगलादेशी पर्यटकहरुको संख्या ह्वात्तै बढने सम्भावना रहेको बताए।
सन् २०१९ को मार्चदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ पश्चात् बोर्डले हालै मात्र श्रीलंकाको कोलम्बोमा पनि यस्तै कार्यक्रम गरको थियो। स्थिति सामान्य हुँदै गए अन्य स्रोत बजारमा पनि पर्यटन प्रवर्धनका कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट बोर्डका वरिष्ठ निर्देशक श्री काशीराज भण्डारी तथा अधिकृतहरु श्री सुशिला कुमारी बराल र श्री सिद्धार्थ विश्वकर्मा सहभागी थिए। साथै नेपाल एशोसियशन अफ टाभल एण्ड टुर एजेन्टस् का अध्यक्ष श्री अच्युत गुरागाँइले व्यवसायीहरुको टोलीको नेतृत्व गरेका थिए।