हरितालिका तीजको अवसरमा पोखरा आएका विदेशी महिला पर्यटकलाई भिन्न तरिकाले स्वागत गरिएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजनामा भएको कार्यक्रममा सोमबार जहाज र पर्यटक बसबाट पोखरा आएका महिला पर्यटकलाई साडी र चुरा उपहार दिइयो।
जहाजबाट पोखरा आएकी न्युजिल्याण्डकी बुनेलाई सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराईसहितको टोलीले नेपाली पोसाक र गहना रातो साडी, चुरा तथा पोते लगाइदिए।
साडीसहित नेपाली महिलाको भेषमा सजाएपछि पोखरा घुम्न आएकी उनले खुसी व्यक्त गरिन्।
स्वागत कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलसहित विभिन्न संघ सस्थाका प्रतिनीधिले स्वागत गरेका थिए। तीज पर्वका बारेमा विदेशीलाई जानकारी दिन कार्यक्रम आयोजना गरेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराईले जानकारी दिइन्।