अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गतमा प्रवेश गर्न नेपाली नागरिकले पनि प्रवेश शुल्क लिएको बिरोधमा कास्कीको विरेठाँटीमा स्थानीयले एक्यापको कार्यालयमा तालाबन्दी गरेका छन्।
सरकारले नै निर्णय गरेर नेपालीसँग शुल्क लिन निर्देशन गरेपछि अहिले एक्यापका क्षेत्रमा प्रवेश गर्दा नेपालीले शुल्क तिर्नु पर्छ।
तर कास्कीको साविक घान्द्रुक, लुम्ले र दाङसिङका नागरिकले शुल्क लिने निर्णय फिर्ताको माग गर्दै एक्याप कार्यालयमा आइतबार तालाबन्दी गरेका छन्। एक्यापले नेपालीसँग प्रवेश शुल्क शीर्षकमा १ सय रूपैयाँ प्रतिब्यक्ति तोकेको छ। माग पूरा नभए कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्।
यसैबीच स्थानीय टेकबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भएको छ। उनीहरुले एक्यापको चेकपोष्ट बीरेठाँटीबाट हटाउनुपर्ने, विदेशी पर्यटकसँग उठाउने शुल्कबाट स्थानीय पूर्वाधार विकास गर्नुपर्ने, स्थानीय तहको सिफारिसमा रुख कटान र चिरान गर्न पाउनुपर्ने, अन्नपूर्ण गाउँपालिकाभित्रका सबै चेकपोष्ट हटाउनुपर्ने लगायत माग राखेका छन्।