'ती खानेकुराले तपाईंलाई सन्चो गर्दैनन्, तिनलाई नखानू नै उत्तम हुन्छ,' आफ्नो स्वास्थ्यको ख्याल राख्न बेलाबेलामा आमालाई भन्थेँ।
'आफ्नो स्वास्थ्यको ख्याल गर्नू भनेर तैँले जति नै भने पनि, सम्झाए पनि खानेकुराहरू हेरेर मात्र बस्न सक्दिनँ। जसले जे नै भने पनि खानेकुरा देखेपछि मन थामिँदै थामिँदैन। हेरेर मर्नुभन्दा छेरेर मर्नु नै जाति भन्ने चलनै छ। त्यसैले मर्नका डरले नखाई-नखाई बस्न झनै सक्दिनँ,' आमाले जवाफ फर्काइहाल्ने।
'स्वास्थ्यको ख्याल गर्नू, डाक्टरले भनेको मान्नू भन्दै अरुलाई सल्लाह दिन धेरै सजिलो हुन्छ। तर अरूलाई सजिलै दिने गरेका ती नै सल्लाहहरू आफूले व्यवहारमा उत्तार्नु परेपछि भन्नु र व्यहोर्नुमा आकाश-जमिनको अन्तर रहेको छर्लङ हुन्छ। त्यसैले धेरै सल्लाह नदिएकै राम्रो।
मन लागेका खानेकुरा धेरै खाँदा रोग बढ्छ, दु:ख पाउँछु भन्ने थाहा भए पनि मन बुझाएर नखाइकन बस्न सक्तिनँ भने किन कचकच गरिरहन्छेस्? फेरि भोलि कसले देखेको छ र? जे पर्ला-पर्ला। आखिर हुने कुरो टर्दैन। आज खान पुग्ने अवस्थामा आइसकेपछि भोलि दु:ख होला भन्ने डर देखाएर खानामा रोक नलगा, मन लागेका खानेकुराहरू चुप लागेर खान दे,' आमाले आदेश नै दिनुभयो।
'हेर्! अहिले मेरा हातभरि पैसा छन् र तिनलाई खर्च गर्ने स्वतन्त्रता पनि पाएकी छु। यो उमेरमा आइपुगेर पाएको यो स्वतन्त्रतालाई भरपूर सदुपयोग गर्न दे। पहिले मन लागेका खानेकुराहरू अघाउन्जेल खान पाएकी भए सायद अहिले मन बुझाउन सक्थेँ होला। तर खाउँ-खाउँ, लाउँ-लाउँ उमेरमा तैँलेजस्तो पेटभरि धानको भात समेत खान पाइनँ।
त्यो बेलामा आमाले, 'नानी मेरा पालामा ५/६ वर्षकै उमेरमा विवाह गर्ने चलन थियो। अहिले पनि छोरी रजस्वला हुनुअगाडि नै कन्यादान गरेमा मात्र पुण्य पाइन्छ भन्ने चलन नै छ। हामीले सामाजिक चलन मान्नै पर्छ। त्यसैले तँ अब विवाहयोग्य भइसकिस्। हामीले तँलाई १२ वर्षकी हुन्जेल घरमा राखिसक्यौँ। अब योभन्दा ढिलो गर्नु हुँदैन। पारि गाउँका मुखियाको घरबाट विवाहको प्रस्ताव आएको। नौ गाउँमा कहलाएका मुखियाजस्तो ठूलो घरबाट कुरा आउनु भनेको भाग्य चम्कनु हो। तेरो विवाह मुखियाका घरमा हुनु भनेको हाम्रा निम्ति पनि सौभाग्य नै हो। त्यो घरमा तेरो विवाह भएपछि मुखियाका परिवारसँग हाम्रो पारिवारिक नाता सम्बन्ध त जोडिन्छ नै साथमा तेरो भविष्य कस्तो होला भन्ने चिन्ताबाट हामीले सजिलैसित मुक्ति पाउछौँ।
मुखियाको खानदानी परिवारमा पुगेपछि खानलाउनमा दु:ख पाउँदिनस्। ठूला घरमा कामधन्दा धेरै गर्नुपरे पनि तैँले गर्न नसक्ने काम पक्कै नलाउलान्। फेरि घरधन्दाको काम अरूले गरेको देखेर विस्तारै जानिन्छ। ठूलो परिवार धेरै काम भनेर पिर नगर्, बिहान-बेलुका पेटभरि खान पाएपछि काम गर्ने शक्ति आफै आउँछ, नानी। त्यसैले तेरो राम्रो होस्, भलो होस्, भनेर मुखियाका साइला छोरासँग तेरो विवाह गरिदिने निधो गर्यौं' भन्नुभयो।
आफ्नै बिहेमा धेरै कसार-चिउरा, सेलरोटी खान पाइन्छ अनि फेरि बेहुलाले नयाँ लुगा पनि ल्याइहाल्छन् भन्ने लोभले विवाह हुने भो भन्दै रमाएकी थिएँ। १२ वर्षको उमेरमा खान लाउनभन्दा बढी अरू के कुराको मतलब हुन्थ्यो र? त्यसमाथि बाआमाले हाम्री छोरी भाग्यमानी रहिछे, मुखियाकी बुहारी हुने भई भनेर बारम्बार छरछिमेकीसँग कुरा गरेको सुनेर वास्तममै अरूको भन्दा गतिलो, ठूलो घरकी बुहारी हुने सौभाग्य पाएछु अरूका बेहुलाले भन्दा मेरो बेहुलाले राम्रा गुन्युचोली, चुरापोते ल्याउँछन् भन्ने सम्झेर मख्ख पर्दैमा बेहुली बनेर अन्मिएँ। केही दिन घरमा बसेपछि चलनअनुसार माइत फर्किएँ अनि अरू दुई वर्ष माइतमा नै बसेँ।
विवाह गरेकी भए पनि माइतमा रहुन्जेल मेरो दिनचर्यामा केही फरक परेन। पहिला जे-जस्तो गर्थेँ त्यही गरेर रमाएरै दिनहरू बिते। आमाले ठूला घरमा परेकी छस्, त्यहाँ गएपछि धेरै काम गर्नुपर्छ भनेर खुब माया गरेर राख्नुभयो। १५ वर्षकी हुँदा मैतालु फर्काएपछि भने सधैँका निम्ति घर गएँ। माइतीघरबाट घन्टाभरमा पुगिने ठाउँमा मूलघरकै वरिपरि टारमा झुरूप्प बनाइएका घरमध्येको एक घर मेरो कर्म घर थियो।
दाजुभाइ छुट्टिएर एउटै आँगन झैँ भइबसेकाले घरहरू अलग भए पनि परिवार एकै झैँ लाग्थ्यो। पाँच जनाको सानो परिवारबाट आएकी मेरा निम्ति परिवार सदस्य मात्र १५/१६ जना भएको मुखियाको ठूलो घरपरिवारको बुहार्तन अनि गाउँभरिका समस्या परेर आउनेजाने मान्छेको जमघटले बढाउने घरको कामधन्दा फर्साउन अत्यत गाह्रो भयो।
माइतमा मेरो काम आफू मुनिका दुइटा साना भाइलाई हेर्ने मात्र थियो। बा-आमाले दिदी खसेपछि यति माया गर्नुभयो कि कहिलेकाहीँ आफ्नै रहरले धाराबाट पानी ल्याउनेभन्दा बढी काम मैले अरू केही गरेकी थिइनँ। तर ठूला घरको ठूलै चाला, बिहान अँध्यारै सुरु भएको काम रातको अँध्यारोमा समेत सकिँदैन थियो। बिहान भालेको डाकसँगै आँखा मिच्दै अँध्यारोबाट सुरु भएको दिन सकिएर रात हुँदासम्म पनि व्यस्त भइरहनुपर्थ्यो।
धारामा गई अँध्यारोमै नुवाइधुवाई सकी पानी बोकेर ल्याएपछि घर लिप्नेपोत्ने, त्यसपछि व्यासी झरेर गाईवस्तुलाई खोले, घाँस, मेलापात सकेर साँझमा घर आइपुग्दा गलेर भुतुक्क हुइन्थ्यो। जसोतसो बेलुका सात/आठ बजे रातको खाना खान पाइन्थ्यो। रातको खाना खाएपछि दिनभरिको कामले गलेँ भन्न नपाइ ढिकीजाँतो सुरु गर्नुपर्थ्यो। ढिकीजाँतो सकेर मध्यरातमा बल्लबल्ल ओछ्यानमा पुगेर आँखा झिमिक्क हुँदा भाले बासिसक्थ्यो। कहिलेकाहीँ लाग्थ्यो, यी भाले पनि बास्न बिर्सिनु नि, भाले बास्न बिर्सिएको निहुँमा कमसेकम उज्यालो हुन्जेलसम्म सुत्न त पाइथ्यो।
'हामी तेरा बाआमा, कुनै पनि बाआमा सन्तानको दु:ख देख्न सक्तैनन्। तेरो खुसी नै हाम्रो खुसी, मुखियाको घरमा तेरो विवाह भएपछि तेरा दिनहरू सुखमय बित्नेछन्' भन्दै बाआमाले मेरा लागि देखेका ती सुन्दर सपनाले साकार हुने अवसर नै पाएनन्। ठूलाघरमा छोरीले धेरै काम गर्नुपरे पनि खान लाउन दुःख हुँदैन भन्दै बा-आमाको चिन्ताबाट मुक्त गरिदिए पनि मेरा दिनहरू भने एकनास रहेनन्।
समयसँगै घरमा केटाकेटी थपिँदै गए। परिवार संख्या बढ्दै गयो र ठूलो परिवार अझ ठूलो बन्दै गयो। तर परिवार संख्या र खानेमुख थपिए जसरी खेतबारी थपिएन। त्यो समयमा पहाडमा नगदेबाली लगाउने चलन थिएन। त्यसैले खेतबारीका अतिरिक्त आम्दानीको स्रोत बढाउने अरू केही उपाय नै थिएन।
आम्दानीको स्रोत नबढे पनि नातिनातिनाको न्वारन, पास्नी, छेवरजस्ता सामाजिक कार्यहरूमा पुरै गाँउमा आफ्नै दाजुभाइको बसोबास भएका कारण ठूलै उपस्थिति रहन्थ्यो। ती खर्चका साथमा छोराहरूको पढाइ खर्च, छोरीहरूको विवाह खर्च जुटाउने क्रममा लागेको कर्जा चुकाउँदा अन्नबाली खेतबाट नै साहुले लान थाले। बाचेको अन्नले परिवारको छाक टार्न धौँ-धौँ हुनथाल्यो। त्यसैले दिनभरिको कामले गले समेत भन्न नपाइ रातभर लगाएर कुटेका धान, मकैका चामल पाहुना, बुढाबुढी र केटाकेटीलाई छुट्याएपछि आफ्ना भागमा पिठो मात्र आइपुग्न थाल्यो।
काम गर्नेसक्ने छोराहरू पढ्न घरबाहिर गएकाले घरभित्रको चुलोचौको र गोठ (गाईबाख्रा) रेखदेखका साथमा खेताला, मेलापर्म सबै काम बुहारीहरूले नै फर्स्याउनु पर्यो। दिनहुँ घण्टौँ लगाएर घरबेँसी धाउनु पर्ने, खेतबारीको काम, घाँस, दाउरा, गोठको काम गर्नुपर्ने र काम गरे अनुसारको खान पनि नपाइने परिथिस्ति सिर्जना भयो।
मुखियाको घर, गाउँका विभिन्न समस्याहरूलाई लिएर दिनहुँजसो छलफल भइरहन्थे। मुखियाको घरको इज्जत, सान, मान, प्रतिष्ठामा बाहिरबाट हेर्दा केही फरक थिएन। तर आर्थिक अवस्था भने धमिराले भित्रभत्रै जीर्ण बनाएको माटोको ढिस्को बनिसकेको थियो। विभिन्न समस्याका कारण मुखियाको घर भित्रको आर्थिक अवस्था यति दयनीय बन्दै थियो कि बुहारीहरूले धानको भात र मासु खान दसैं पर्खनुपर्ने अवस्था आउन धेरै समय लागेन।
मेरो विवाह भएको केही वर्षमा नै मुखियाको घरको चमकधमक देखावटी रूपमा मात्रै सीमित हुन आइपुग्यो। समयसँगै म पनि दुई सन्तानकी आमा बनिसकेकी थिएँ तर न त मैले सुत्केरीले झैँ खानपिन र स्यहारसुसार पाएँ न मेरा छोराले नै केटाकेटीले पाउनुपर्ने हेरचाह पाए। बिहानै कोक्रामा छोडेर हिँडेको नानी बेलुका बेँसीको काम सकेर फर्किंदा दिसापिसाबमा डुबिरहेको हुन्थ्यो।
सधैँभरी चुलोचौको, गाईगोठ, भकारो, घाँसपानी साथमा खेतबारी, मेलापर्ममा व्यस्त हुनुपर्ने, बिरामी हुँदा आराम गर्ने फुर्सद समेत नपाइने, फेरि ज्यान माया मारेर मरिहत्ते काम गर्दा पनि कहिल्यै जस नपाइने भएर कहिलेकाहीँ आफैसँग दिक्दार लाग्थ्यो। मेरो मैतालु फर्काएको दुई वर्षपछि बाआमा पनि मधेसतिर झर्नुभयो। त्यसैले 'कपाल कोर्ने काइयो यौवन हेर्न एैना, कहिले भेट्न पाउँला मेरा भाइ बहिना' भन्दै भिरपाखामा घाँसदाउरा गर्दै मनका बहहरू भाका हालेर गाउँथे अनि मन बुझाउँथेँ।
धेरै वर्षपछि मधेसबाट भाइ आयो। भाइलाई आफ्नो अगाडि देखेर सपना हो कि विपना झैँ भएँ। ७/८ वर्षदेखि नदेखेका माइतीलाई देखेर मनसँगै तन पनि हलुका भयो। माइतीले आफ्नो आँगनमा टेकेपछि आफ्ना दुःखपीर सबै भुलेर माइत जान पाउने आशामा मख्ख परेँ। माइत जाने, दुई/चार दिन बस्ने सुन्दर सपना बुन्दै अति नै खुसी हुँदै दिन बिताएँ।
माइत जाने आँतुरीले त्यस दिन 'चाँडो भोलि बनाइदेऊ प्रभु' भनेर ओछ्यानमा पुगेकी थिएँ। तर धेरै वर्षपछाडि बाआमासँग भेट हुने, दुःखसुखका कुरा सुनाउने, पहिलो पटक मधेस हेर्ने, तेर्सो बाटामा हिँड्ने, बसमा चड्ने अनि मिठामिठा खानेकुरा खाने सपना सजाउँदैमा ननिदाइ चुड्की भरमा रात बित्यो।
भोलिपल्ट बिहान 'दिदीलाई लिन आएको मेरो व्रतबन्ध पनि छ, पठाइदिनु पर्यो' भनेर भाइले भन्यो। ससुराबाले, 'यो मानो खाएर मुरी उब्जाउने समयमा दिदी लिएर जाने भए जाऊ तर फर्काएर मेरो घरमा ल्याउनु पर्दैन' भनेको सुनेपछि अत्यन्त बेचैनीका साथ माइत जाने हतारमा बसेकी म अवाक् भएँ। भाइ र ससुराबाका बीचमा भएको संवाद सुनेपछि चारैतिर अन्धकारमात्र देखेँ। एक्कासी आकाश खसेर थिचे झैँ भयो। हिजो भाइलाई देखेर पाएको खुसी क्षणभरमा असह्य पीडामा परिणत भयो।
२०१९ सालमा मेरो विवाह हुँदा भाइ २२ महिनाको मात्र थियो। आज यतिधेरै वर्षपछि मधेसदेखि दिदी छ भनेर लिन आएको छ। बाआमासँग भेट नभएको वर्षौं भएकाले कहिले भेट्नु भएको छ। मन त पुगिसक्यो, तनलाई पनि चराजस्तो भुर्र उडाएर माइतीघरको आँगनमा पलभरमा ओराल्नुजस्तो भएको बेलामा बल्लबल्ल कति वर्षमा तेरा माइती आए, जा दुईचार महिना बसेर आइज भन्नुको साटो जाने भए जा तर घर छ भनेर फर्केर नआउनू भनेर ससुराबाले माइत जान बन्देज लगाउनु मेरा निम्ति अन्याय भयो।
आजसम्म मैले जुन घरलाई आफ्नो सम्झेर सकि-नसकी काम गर्दै घरका सबै सदस्यलाई रिझाउने कोसिस गरिरहेकी थिएँ, त्यो सबै मेरो एकतर्फी कर्तव्यमा मात्र सीमित रहेछ। हुन त धेरै पहिलादेखि नै परिवारमा सबैले मन नपराएकी, हेपिएकी बुहारी हुँ भन्ने महसुस गरिरहेकी थिए। हेपिनुको कारण मेरा माइती टाढा भएर, लिन नआएर होला, माइती आएपछि सबै राम्रो हुन्छ जस्तो लाग्थ्यो। तर हात्ती आयो, हात्ती आयो फुस्सा भयो।
धेरै वर्षदेखि मनमा अंकुराएको माइती आएपछि पक्कै ठिक हुन्छ भन्ने जुन आशा थियो त्यो क्षणभरमा बिलायो। वर्षौंसम्म सम्हालेको आशा एकपलमा निराशामा परिणत भएसँगै वास्तममै यो घर मेरो होइन रहेछ र म यो घरमा बुहारीको दर्जामा रहिनछु भन्ने सोच्न बाध्य बनायो। त्यो व्यवहारबाट घरमा मेरो हैसियत के रहेछ भन्ने बुझ्न सजिलो भयो।
म घरकी बुहारीको दर्जामा भएकी भए केही दिनलाई माइत जान पाउनु पर्थ्यो। यत्रो वर्षमा एक महिनाको लागि माइत जाने छुट्टीसम्म नपाउने गरी आफ्नै घरमा कमारीको झैँ बाँचिरहेकी रहेछु भन्ने बुझेँ। एक महिनाको लागि माइत जाने छुट्टी पनि नपाउने घरमा म केका लागि फर्केर आउँ? न पेटभरि मन लागेको कुरा खान पाइन्छ, न बिरामी हुँदा आराम गर्न समय नै पाइन्छ। कमारी भएर यो घरमा बसिरहनुभन्दा माइतीको शरणमा जानु वेश।
'यो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन घर छोड्नैपर्छ, आज घर छोड्ने आँट गरिनँ र भाइको साथ लागेर गइनँ भने मेरा भोलिका दिनहरू अझ कष्टकर हुनेछन्। श्रीमान पनि पढाइ सकेर मधेसतिर नै हुनुहुन्छ। उहासँग भेट भएपछि जेहोला होला, आखिर सिधैँ नजा भनेका होइनन्, भाका पुर्याएर जा तर फर्किएर नआइज भनेर चुनौती दिएका हुन्' भन्ने लाग्यो।
त्यसैले आँट गरेर चुनौती स्वीकार्दै भगवान भरोसामा घर छोडेँ। मधेस आएको केही समयपछि माइतीका नजिकै उहाँहरूको संरक्षणमा श्रीमानको साथमा शून्यबाट जीवनचर्या सुरू भयो। बाँझो धर्तीमा बगाएको पसिनाले अहिले चाहेजस्तै सबै कुराहरू पाएकी छु। एउटा पनि रूखविरूवा नभएको उराठलाग्दो ठाउँ सबै हरियोपरियो भएको छ। गाईबाख्रालाई खुवाउने डालेघाँस किम्बु, ताप्रे, टाकी, निवारो, बाँस, अम्रिसो सबै आफ्नै बारीमा छन्।
मेवा, केरा, अनारस, अम्बक, सरीफा, दारिम, अमलाजस्ता सिजन अनुसारका फलफूलहरू खान पुग्ने गरिछन्। सुपारी नरिवलका बोटले आम्दानी दिन थालेका छन् अनि बारीमा लगाएको तरकारी घरमै आएर किनिदिन्छन्। मेहनत गरे अनुरुप नै वर्षमा १०/१२ वटा खसीबाख्रा बेच्छु। कोरली, बहर, दूध, घ्यू बेचेर पनि पैसै आउँछ।
पहाडमा हुँदा चाहेर पनि हाटबजार जान पाइन तर हिजोआज दिनौं बजार जान्छु भन्दा पनि पुगेको छ। अहिले जब आफ्ना हातभरि पैसा छन्, मन लागेको खाने स्वतन्त्रता पाएकी छु। त्यहीबेला रोग पनि लागेको छ तर अब यो रोगसँग डराएर नखाई बस्न मन मान्दैन। अहिले मन लागेका कुरा किनेर खाने सक्ने हैसियतमा पुगेकी मलाई अरूले खटन गरेको पनि मनपर्दैन।
आखिर खाने मनले मागेर नै त हो। मनैबाट नखाउँ भएपछि त खा भने पनि सकिँदैन। खान मन नलागेपछि आफै खान छोडिदिन्छु। पहिले पहाडमा डोकाभरि घाँस बोकेर सकिनसकी बेँसीबाट बाख्रा धपाउँदै घर फर्किंदा कमसेकम दुईजीउकी भएका बेलामा खान पाए जन्मिने बच्चो र्याले हुँदैन्थ्यो होला, यी बथान मध्येबाट हिँड्दा-हिँड्दै एउटा मात्र बाख्रो लडेर पर्लक मरे पनि हुने नि, मासु त खान पाइन्थ्यो भन्ने आशामा जिउँदा बाख्रा हेरेरै दिन बिते।
जब तँ पेटमा आइस्, यही छिमेकीका घरमा खसी काटेको थाहा पाएर रहर पुग्ने गरी खान्छु भनेर किनेर ल्याएँ, मेहनेत गरेर पकाएँ तर खान मन लागेन। त्यस दिनदेखि यता आजसम्म फेरि मासु खान मन लागेको छैन। कसैले यो त अमृत नै हो भनेर दिएँ भने पनि अब मासु खान मनलाग्छ होला जस्तो पनि लाग्दैन। त्यसैले जबसम्म मनलाग्छ तबसम्म अघाउने गरी खान दे' भन्दै आमाले आफूले भोगेको जीवन कथा सुनाउनु भयो।
वास्तवमै आमाका कुरा सही थिए। स्वास्थ्य सम्बन्धी सामान्य जानकारी हासिल गरेका आधारमा खानेकुरा स्वास्थ्यकर छैनन्, तिनलाई खानु हुँदैन, स्वास्थ्यको ख्याल गर्नुपर्छ भनेर मात्र कसरी हुन्छ? रोग र खानेकुरा सम्बन्धमा सम्झाउनु अघि उसले खान पाएको छ कि छैन भन्ने जान्न जरूरी छ कि छैन?
जसले जीवनको अधिकांश समय पेटभरि खान नपाइ बिताउनु परेको छ, उसैलाई आज खानपुग्ने अवस्थामा आएपछि खानेकुरामा रोक लगाउनु कत्तिको जायज छ? फेरि जुन सिजनमा जे फल्छ त्यही खाएर बाँच्नुपर्ने परिवेशमा स्वस्थ खानेकुराको छनौट नै कसरी हुनसक्छ? समयअनुसार जे फल्छ त्यही मात्र खाएर जीवन निर्वाह गर्नुपर्नेहरूका लागि कुन खानेकुरामा कति क्यालोरी छ? कति सुगर छ? कति भिटामिन छ? भन्दै खोजेर खाने वातावरण कसरी तयार हुन्छ?
अझ आजलाई त खाइयो भोलि के खाउँ भन्नुपर्ने अवस्थामा स्वस्थ खानेकुराको छनोट कसरी गर्न सकिन्छ? भोक मेटाउनका लागि खानुपर्ने बाध्यता नहटेसम्म स्वस्थ जीवनशैलीको निम्ति खाने विषयले कसरी प्राथमिकता पाउनसक्छ? जे-जति खानेकुरा उपलब्ध छन्, त्यसलाई परिवारका सबैले थोरै-थोरै बाडेर बाँच्नका खातिर खानुपर्ने बाध्यतामा पोषिलो, स्वस्थ खानेकुराको कुरा गर्नु भनेको गरिबीको मजाक उडाउनु मात्र हो।
अझै पनि हाम्रोजस्तो विकासन्मुख मुलुकमा सहजरूपमा पेट भर्न नपाई कति आमाहरू बाँचिरहनु भएको होला। जसले भोक लागेका बेला अघाउन्जेल खान पाउनु भएको छैन। उहाँहरूसँग स्वस्थ खानेकुराको विषयमा छलफल गर्न उचित होला? पहिले नियमितरुपमा पेटभरि खान पुग्ने सबल आर्थिक अवस्था हुनुपर्यो। त्यसपछि मात्र स्वस्थ्य शरीरका लागि चाहिने खानेकुराको छनोट हुनसक्छ।
फेरि कसैको आर्थिक अवस्था सबल नै छ भने पनि बजारमा बिक्रीमा राखेका सबै सामानहरूमा लेबल लगाउने चलन छैन। यस्तो परिवेशमा खानेकुराका विषयमा कुरा गर्नु कति सान्दर्भिक होला? अर्कोतर्फ मनद्वारा नियन्त्रित मान्छे सबै विषयमा जानकार भए पनि ती कुरा व्यवहारमा लागु गर्न असक्षम हुन्छ।
मेरी आमा स्वास्थ्यका बारेमा नबुझेरभन्दा पनि मनलाई नियन्त्रण गर्न नसकेर खान विवश हुनुहुन्थ्यो। रोग र खानेकुराका विषयमा जति नै बहस गरे पनि मन लागेको कुरा खान पछि नहट्ने आमाले आफ्ना कुरा सुनाउन थालेपछि म चुप लागेर सुनिरहन्थे। त्यसैले होला आमासँगै हुँदा त मैले कहिल्यै सम्झाउन नसकेको विषय मेरो विवाहपछिको छोटो भेटघाट अथवा फोन संवादमार्फत कसरी सम्भव हुन्थ्यो?
'आमा, खबर के छ?' भन्दा 'राम्रो छ, ठिक छ' भन्नुहुन्थ्यो।
मेरो विवाह भएको दुई वर्षपछि ५६ वर्षको उमेरमा हृदयघातका कारण उहाँले क्षणभरमा मृत्युवरण गर्नुभयो। आखिर यो धर्तीमा जन्म लिएपछि मर्नु सबैले पर्छ। जन्मसँगै हामीले मृत्युलाई साथ लिएर आएका हुन्छौँ। छायाजस्तै बनेर हामीसँगै रहने मृत्यु जीवनको शाश्वत सत्य हो। नियतिले मृत्युका लागि तयार पारेको मिति आएपछि न त कुनै उपाय लगाएर मृत्युसँग भाग्न सकिन्छ न त भागेर जाने कुनै ठाउँ नै हुन्छ।
मर्नुको विकल्प नै नभएको हाम्रो जीवनमा कमसेकम आमाले बुढेसकालको शारीरिक अस्वस्थता व्यहोर्नु परेन। शारीरिक अस्वस्थताका कारण ओछ्यानमा कैद भएर बाँच्नु परेन। आफ्नो काम आफै गरिरहेकै अवस्थामा मृत्युवरण गर्न पुग्नुभयो। नियतीले प्रदान गरेको बाँच्ने समयावधिको (जीवनको) उत्तरार्धतिर आइपुग्दा भए पनि खानेकुराको विषयमा बहस हुँदा हार्न नचाहने उहाँको स्वभावका कारण मन लागेका खानेकुरा खान पाउनुभयो।
आज आमाको तिथीका दिन श्राद्ध सकेर थालभरि खानेकुरा लिएर खान लाग्दा त्यो बेला आमासँग गरिएका कुराकानीहरू स्मृतिमा ताजा बनेर आए।