कलेजको स्टाफ कक्षमा शिक्षक साथीहरूको माझ दिनहुँ जसो शिक्षा, अर्थतन्त्र, राजनीति, समाज र जीवन शैलीका चिया गफ हुन्थे। धेरैजसो हास्य रसले भरिएका र कहिलेकाहीँ मन र मस्तिष्कको संयोजनबाट निस्केका अत्यन्त गम्भीर।
एक दिन 'मिलेनियल्स' पुस्ताका साथीहरूको बाल्यकाल र तत्कालीन सामाजिक जनजीवनको कुरा भयो। नदीमा पौडी खेलेका, काँक्रा र सुन्तला चोरेका, सिनेमा हेर्न गएका, रोदी घरमा सोल्टिनीसँग नाचेका आदि प्रसंगहरूको छताछुल्ल साटासाट भयो साथीहरूको माझमा। पालो पाएर आफ्नो प्रसंग सिद्ध्याउने प्रतिस्पर्धा जस्तै भएको थियो।
मैले पालो कुर्नै परेन। किनकि मसँग त्यस्ता कुनै पनि किस्साहरू थिएनन्। दिउँसो सँगै स्कुलबाट फर्केका साथीहरूले बेलुका सुन्तला र काँक्रा चोरिसकेका हुँदा रहेछन्। शनिवार र छुट्टीका दिनहरूमा पौडी खेलेर मादी नदी तर्दा रहेछन्। सहरमा गएर सिनेमा हेर्दा रहेछन्। सोल्टिनीको हात समाएर मन र मुटु साटिसकेका हुँदा रहेछन्। थोर बहुत पढाइको मोर्चा सम्हालेको हुनाले साथीहरूको मिसन अनुसारको साथी रहेछु म त्यस बखत।
स्टाफ कक्षमा तँछाडमछाड आएका प्रसंगहरू सुनेँ। मन भनौँ कि मस्तिष्क सीमा नभएको हुँदो रहेछ। अनुभव शून्य विषयमा पनि विचरण गरिदिन सक्छ। हुन त मानवीय सञ्चारको माध्यम भाषाको देन पनि होला। हाम्रो भाषाले हामीलाई आफूले नभोगेको र नदेखेको परिस्थितिको पनि विचार विमर्श गर्न सघाउँछ। मैले आफूले नभोगेर के भो र! समय र परिवेश उही थियो। अरूको कथामा आफैलाई नायक बनाउँथेँ र जीवनका रसहरू लिन्थेँ।
‘तपाईंले त त्यस्तो केही गर्नुभएन होला?,’ चिया गफको अन्ततिर एक जना रमाइलो साथीले मलाई प्रश्न गर्नुभयो।
आफूले देखे जानेको आफ्नो बाल्यकालको परिवेश र जीवनशैली बिरानो हुँदै गएर उत्पन्न भएको गह्रुङ्गो नोस्टाल्जियाले निरन्तर थिचिरहन्थ्यो। त्यसमाथि त्यो सिधा प्रश्नले आफ्नै समयबाट पनि पराई बनाइदियो। हुन त उमेर अनुसारको भावना नै नभएको निरस र कठोर मान्छे पनि थिइनँ। दृश्यहरूलाई सुन्ने र ध्वनिलाई हेर्ने प्रयास गर्दथेँ। तर देवकोटा जस्तो 'पागल' नै त हुन सकेको थिइनँ। हाँसोले भन्दा आँसुले बढी मन बहलाउँथ्यो। सप्रेको कुरामा खुसीभन्दा बिग्रेको कुरामा दुख बढी लाग्थ्यो।
विभिन्न कालखण्डका परिवेशहरूले दुखी बनाउँथे। कहिलेकाहीँ चाहिँ खुसी पनि बनाउँथे! आफू भित्र भित्रै मिश्रित संवेदनाले भरिन्थेँ। त्यस दिन पनि मन त्यसै भरिएको हुँदो हो। हृदयमा बढ्ता कम्पन भएछ। प्रश्नको उत्तर दिनुको साटो प्रतिप्रश्न गरेछु, ‘कोही किन फरक हुन्छ ख्याल गर्नुभा'छ?’
त्यो मेरो प्रश्नभन्दा उत्तर नै बढी थियो। अरू केही भनेँ कि भनिनँ कुन्नि। अहिले याद छैन। तर त्यस दिन चिया गफको समापन सामान्य भएन मेरो लागि। म किन त्यस्तो थिएँ र किन यस्तो छु बुझाउन सकेको भए हुन्थ्यो। अरू किन त्यस्ता थिए र यस्ता छन् खोतलेको भए हुन्थ्यो। मानिसको जीवनको पहिलो पाँच वर्षको महत्त्व व्यवहारिक रूपमा स्पष्ट देखाउन सकेको भए हुन्थ्यो। तर समय आएको रहेनछ। त्यस बेला अनुभवहरू मात्र थिए तर ती अनुभवहरूलाई बाँड्ने भाषा र ज्ञान दुवै थिएनन् मसँग।
पहिलो पाँच वर्ष अर्थात् जन्मदेखि पूर्व बाल्यावस्था सम्मको समय। यो समय मानव जीवनको सबैभन्दा संवेदनशील, कोमल र निर्णायक चरण हो जुन कालखण्डमा शारीरिक, मानसिक, सामाजिक र भाषिक विकास तीव्र गतिमा अघि बढ्छ। यस अवस्थालाई ‘जीवनको आधारशिला’ पनि भनिन्छ किनभने यी नै वर्षहरूले भावी व्यक्तित्व, सोच, व्यवहार र क्षमताको जग हाल्ने काम गर्दछन्।
यही समयभित्र मानवीय मस्तिष्कको ८५% भन्दा बढी खाका तयार भइसक्छ। बालबालिकामा यसै अवधिमा आत्मविश्वास, जिज्ञासा, सामाजिक सम्बन्ध, अनुशासन, नैतिक मूल्य आदिको विकास हुन्छ। जोसुकैको पनि जीवनको पहिलो पाँच वर्षको बनोट बुझेपछि तिनको वयस्क व्यक्तित्वको सालाखाला चित्रण गर्न सकिन्छ रे।
पहिलो पाँच वर्षले बाँकी जीवनमा पार्ने जादुमयी प्रभावका बारेमा सुनेपछि मनोविज्ञान र मानव विकास बारे रुचि जाग्यो। मानिसहरू किन अनेक थरी चित्त, सुद्धी र क्षमताका हुन्छन् भन्ने कुराले अझ बढी ध्यान तान्यो। सबै कुरा फरक पार्ने त्यही वंशाणु र वातावरणको अन्तरक्रियाको कारणले हो भन्ने ठम्याई गर्दा रहेछन् विद्वानहरू।
एक थरी वंशाणुलाई बढ्ता महत्त्व दिन्छन्। उनीहरू भन्छन्- तपाईंको भाग्य र भविष्य जन्मँदा नै निर्दिष्ट भइसकेको हुन्छ। अर्का थरी वातावरणलाई प्रमुख ठान्दछन्। यस मार्काका विद्वानहरू स्वस्थ शरीरलाई काँचो माटो जस्तो ठान्छन्। चाहे अनुसारको साँचोमा राखेर चाहे अनुसारको आकार दिन सकिने।
वातावरणका हिमायती व्यवहारवादी विद्वान जेबी वाटसनले त चुनौती नै दिए। सन् १९३० तिर उनले भने 'मलाई एक दर्जन स्वस्थ, सुगठित शिशुहरू देऊ र तिनीहरूलाई हुर्काउन मैले नै तोके अनुसारको वातावरण पनि देऊ, म ग्यारेन्टीका साथ भन्न सक्छु कि तीमध्ये जसलाई भए पनि जाँचिन नगरी उठाएर म जे चाहन्छु जस्तै डाक्टर, वकिल, कलाकार, व्यापारी र यहाँसम्म कि भिखारी वा चोरसमेत बनाउन सक्छु, चाहे उसमा जन्मजात प्रतिभा, रुचि, झुकाव, क्षमता, पेसा वा उसका पूर्वजहरूको जातीय पृष्ठभूमि जेसुकै होस्।'
मनोविज्ञानमा पनि मध्यमार्गीहरू हुँदा रहेछन्। उनीहरूका अनुसार वंशाणुको सीमाभित्र वातावरणले विकास गर्दो रहेछ। म पनि कम्ती भ्रममा थिइन् र! ब्रह्माजीको कथा सुन्न छोडेर आफूलाई फ्रान्सिस गाल्टन र जेबी वाटसनकै वरिपरि उभ्याउँथेँ। आफै उभिन त पाइयो नि! अरूले जेसुकै ठानुन् न! अन्धभक्त नभईकन अलिअलि पढेझैँ गर्दा ती दुइटै मन परेनन्। बरु वंशाणुको सीमाभित्र वातावरणले जीवात्माको बहुआयामिक रूपमा विकास गर्दछ भन्ने मध्य मार्ग चित्तबुझ्दो लाग्यो।
सुख-दुःख, सफलता-असफलता, काँक्रा चोर्ने, सुन्तला चोर्ने, जागिर खाने, बिहे गर्ने सबै कुराको बहसमा पनि म मध्य मार्ग नै पछ्याउँछु। अझ त्यो मध्यमार्गी व्याख्या पहिलो पाँच वर्षसम्मको अवधिको लागि र अन्ततोगत्वा जीवनभरको लागि ज्यादै महत्त्वपूर्ण हुँदो रहेछ। त्यसैले आजभोलि जो कोहीको जीवनको पहिलो पाँच वर्षको हुर्काइ, बढाइ र बनोट जान्न मन लाग्छ। एउटै परिवारका हौँ, एकै ठाउँमा बस्छौँ, एकै ठाउँमा पढ्छौँ, एकै ठाउँमा एउटै काम गर्छौँ भनेर पनि हुँदैन। हाम्रो वंशाणु र सूक्ष्म वातावरण अन्तरक्रिया गर्ने लाखौँ सम्भावनाहरू हुन्छन्। मुण्ड मुण्ड बुद्धि त्यसैको उपज रहेछ।
मनोवैज्ञानिकहरूले भनेको पहिलो पाँच वर्ष एउटा औसत मान र सामान्यीकरण हो। देश, काल, परिवेश र परिस्थितिअनुसार पहिलो पाँच वर्षमा निर्माण हुने व्यक्तित्वको जग र संरचना प्रत्येक मानिसमा केही अघि र केही पछि सम्ममा बनेको हुन सक्दछ। जे होस्, हामी आज जे छौ, जस्तो सोच्दछौँ, के गर्न खोज्छौँ, केलाई महत्त्व दिन्छौँ, के ठुलो ठान्छौँ, केको पछि दौडिन्छौँ सबै कुरा हाम्रो आ-आफ्नो पाँच वर्ष वरिपरि सम्मको बनोटको उपज हो।
बाल्यावस्था खासमा कम्प्युटरको सफ्टवेयर जस्तै हो; देखिँदैन तर सबै कुरा त्यसैको नियन्त्रणमा हुन्छ। बाल्यावस्था पछिको लामो शिक्षा, दीक्षा, संगत, वातावरण, अनुभव आदिको बाबजुद बाल्यावस्थासम्ममा बनेको व्यक्तित्व जीवनका महत्त्वपूर्ण निर्णयहरूमा हाबी भइरहन्छ।
देशमा समस्या छन्। थिति बसेको छैन। किन? यस्तो पनि बहस हुन्थ्यो बेलाबेला चिया गफमा। हुन त कहाँ हुँदैनन् होला र यस्ता कुरा! घर, अफिस, सडक, पार्क, मेला, जात्रा, सामाजिक सञ्जाल, गीतसंगीत, सिनेमा जताततै हुन्छन्। किशोरावस्थामा मैले मेरा साथीहरू जस्तै हिम्मत नगर्नुमा पनि हाम्रा तिनै अठार हजार बढी दिनहरूको योगदान छ। ती अठार हजार बढी दिनहरूमा जीवनभरिको लागि आवश्यक पर्ने करोडौँ वैचारिक र व्यावहारिक संरचनाहरूको रूपरेखा तयार भएको हुन्छ।
नेपालमा अहिले देशको बागडोर समातेका सम्पूर्ण व्यक्तिहरू 'बेबी बूमर्स' पुस्ताका छन्। व्यक्तिगत र पारिवारिक विशिष्टताहरू छोडेर यो पुस्ताको सुनौलो बाल्यकाल देशमा प्रजातन्त्र ल्याउने र संस्थागत गर्ने प्रयासको अस्तव्यस्त माहौलमा बित्यो। राजनीतिको दोस्रो तह र राष्ट्र सेवाको पहिलो तहका सबै 'एक्स' पुस्ताहरू प्रजातन्त्र र पञ्चायत व्यवस्थाको लडाइका पाठहरू सिक्दै हुर्के।
'वाई' पुस्ताका 'मिलेनियल्स' हरू प्रजातन्त्र पुनर्स्थापनाको हुटहुटीदेखि जनयुद्धको डर त्रासमा हुर्के। त्यसपछिका 'जेड' र 'अल्फा' पुस्ताहरू विद्युतीय सङ्केतसँगै हुर्के। दुई खुट्टाले हिँड्ने बित्तिकै गह्रुङ्गो झोला भिरेर स्कुल जान थालेका यिनीहरूले काट्नु कहर काटिसके। तिनलाई अब न डर छ न चिन्ता। क्याफेमा डबल सट अमेरिकानोको साथमा समुद्रपारिको डलर भित्र्याउँछन्। ती विश्व नागरिकहरू मन लागे हुम्ला/जुम्ला घुम्छन्, मन नलागे भुर्र उडेर समुद्र पार गर्छन्। यी नै पुस्ताका पछिल्ला र तल्ला वर्गहरू फेरि चाहेर वा नचाहेर भएको पारिवारिक खण्डीकरणको मारसँगै हुर्केका छन्; आमाले मात्र हुर्काएका, बाले मात्र हुर्काएका, आमा र बा बिना हुर्किएका आदि। 'बेटा' पुस्ताहरू कृत्रिम बुद्धिसँगै जन्मेका छन्। आमा र बा भन्न नजान्दै स्कुल जानेछन्। अनि उही कहरले थिचिने छन्। तिनले अब मेशिनको जस्तै गरी सोच्नेछन्।
नेपालमा अहिले जीवित कुनै पनि पुस्ताको पहिलो पाँच वर्ष एक सूत्रीय राष्ट्रिय हित र प्रगतिको विशिष्ट एजेन्डासहित आम भ्रातृत्व र कर्मशीलताको सौम्य समयमा बितेको रहेनछ। अनि कसरी हुन्छ हामीबाट देशको विकास? कसरी बस्छ देशमा रीति र थिति? यस्तै डर, त्रास र उथलपुथलमा पनि उछिट्टिएर आफ्नो सुनौलो बाल्यकालको भरपुर विकास गरेका कोही मानवहरू छन् भने आशा गर्ने ठाउँ छ। हैन भने हामीबाट सम्भव छैन।
बरु हामीले अब एउटा संकल्प गरौँ। हामीले बनाउन सकिने भनेको यही सन् २०२५ पछिको बेटा पुस्ता हो। भर्खर जन्मेको छ, जन्मिँदै छ। हामीले देशलाई सपार्न सकेनौँ तर अब थप बिग्रन नदिऊँ। अबको पाँच/दश वर्ष यी हाम्रा सन्तानलाई सबै क्षेत्रमा सकारात्मक ऊर्जाले मात्र सिञ्चित गरौँ। मनुष्यकै वंशाणु लिएर जन्मेको यो पुस्तालाई विशिष्ट वातावरण दिएर पाँच/दश वर्ष हुर्कायौँ भने यही पुस्ताले बनाउने छ हाम्रो देश नेपाल।