दुई चार जना अगाडि पछाडि लगाएर मिटर समातेर एउटा अनि छेउमा बसेर हेर्दै हिँडेको एक भलादमी व्यक्ति अनि गाउँको अलि धनी व्यक्ति जसकोमा अलि सुकिला र नरम विस्तारा छन् उसकोमा बसाल्ने सल्लाहमा जुटेका एक हुल मान्छे। बास्ने भाले कसकोमा छ भन्दै खोजी गरी व्यवस्था गरेर खानपिन अनि बसाइँ व्यवस्था अनि बोली पिच्छे 'साप' को 'साप' लगाएर अरूले सम्बोधन गरेको सुन्दा कसलाई लाग्दैन होला र! मेरो छोरो पनि इन्जिनियर भैदिए त भन्ने!
तिनीहरूलाई के थाहा मिटर समात्ने मात्र हैन अन्य पनि धेरै थरी इन्जिनियर हुन्छन् भन्ने।
हुन त एक त पढाइ नै कम भएका अनि गाउँमा बस्ने सोझा र इमानदार मान्छेहरूलाई यस बारेमा के थाहा?
जिल्लाको सदरमुकाममा हुने कार्यालय अनि थोरै व्यक्तिहरूको बसाइँ सदरमुकाममा हुने अनि कसरी थाहा हुन्छ त इन्जिनियर कति थरी हुन्छन् भन्ने!
जब गाउँ गाउँमा सिंहदरबार भन्दै संघीयता आयो अनि गा.वि.सहरू जोडेर गाउँपालिका अनि नगरपालिका बनेपछि मात्रै त हो गाउँमा बसेका मान्छेले वर्षमा धेरै पटक इन्जिनियरलाई देख्न पाएको।
आयोजना सुरू गर्ने बेलामा, अनि समय समयमा अनुगमन हुँदा, अनि आयोजना अन्य गर्ने समयमा इन्जिनियर आउँछन् है भन्ने कुरा सबैलाई थाहा पहिलेदेखि छ।
इन्जिनियर आएसी आयोजनाको काम कहाँ भएको छ भन्ने थाहा नै नदिइ पहिला थाहा दिइन्छ 'इन्जिनियर साप खाजाको व्यवस्था यता है,' लोकल भालेको मासु अनि ब्राण्डेड रक्सी व्यवस्था नभई इन्जिनियरले साइट हेर्दैनन् भन्ने भाष्य जताततै भाएर होला कि अलि पढाइमा अब्बल अनि पैसावाल घरको छोराछोरीको रोजाइ इन्जिनियर भयो।
हुन त पढाइ सकेपछि जागिर पाइने र सोझै समुदायसँग जोडिएर काम गर्ने अवसर पाउँने हुदा नेपालमा बुझिने इन्जिनियर भनेसी सिभिल इन्जिनियरतर्फ धेरैको ध्यान गएको हो।
समयको माग र परिर्वतनसँगै अहिले कम्प्युटर अनि मेकानिकल लगायत अन्यतर्फ पनि रूचि राख्नेको संख्या बढ्दैछ।
कमाइ राम्रो, समाजमा इज्जत पनि बढी नै पाइने। त्यसैले त सबैतिर छोराछोरी इन्जिनियर पढाउने सख्या बढ्दै गयो।
त्रिभुवन, पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्य पश्चिम, सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय र सम्बन्धन प्राप्त क्याम्पसमा तोकिएको मूल्यमा गाउँबाट चामल बोकेर छोराछोरी इन्जिनियर पढाइरहेकै छन्।
छोराछोरी आफ्नो रहरभन्दा बुबाआमाको रहरले इन्जिनियर पढ्ने पनि धेरै छन। तर जे होस् इन्जिनियर भएरै छोडेका छन्।
चार वर्षमा आठ सेमेस्टर अनि प्रत्येक सेमेस्टरमा छ/ सात विषय अनि छ/सात विषयको सैद्धान्तिक कक्षा, प्रयोगात्मक कक्षा तिनको नोट, फाइल अनि आन्तरिक परीक्षा अनि बाह्य परीक्षा सबै भ्याइनभ्याई त छँदैछ। त्यहीमाथि साथीको बर्थ डे, अलिअलि घुमघाम त हुनैपर्यो। यति धेरै व्यस्तताले हो कि या जाँगर नभएर हो कपडा पनि मैलो मैलो अनुहार चुसुक्क परेको, आँखाभित्र गडेको अनि झुस्स दारी सितको कोही झोला बोकेर बाटोमा हिँडेको छ भने सोच्नुस् त्यो इन्जिनियरिङको विद्यार्थी हो। पत्यार नलागे सोधेर हेर्नुस् फरक पर्दैन।
कहाँ बाउआमाले सोचेको भलादमी खाइलाग्दो इन्जिनियर मान्छे, कहाँ यहाँ सुकेको ज्यान अनि भुस्स दाह्री मात्रै देखिने छोरो।
कहाँ कुन ब्राण्डको रक्सी खाऊँ भन्ने सोच्दै गरेको ऊ बेलाको इन्जिनियर, कहाँ कुन सेमेस्टरमा कुन कुन विषय व्याक छन् भनेर सोच्दै छोरा।
पास गर्ने बित्तिकै पैसा हस्ताक्षर पिच्छे कमाउँछ भन्ने सोच्दै गरेको घर अनि पास गरेपछि कहाँ जागिर पाइन्छ अनि कुन देश जाने भनेर सोचिरहेको छोरो कति अन्तर छ है यसमा?
पढेर सकेका हातमा डिग्री मात्रै अरू केही सीप नभएका अनि सपना र माग ठूलो बोकेर बसेका थुप्रै बाउका इन्जिनियर छोरा।
पढाइ सकेर अब छोराले बिहेवारी गरेर यही बस्ला भनेर सोचेको छोरा अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान भनेको सुनेका आज भोलिका बाउआमालाई छोरा इन्जिनियर पढाम् पढाम् लाग्दैन होला है।
निजीमा थोरै तलब धेरै काम त्यसैमा आफ्नो मान्छे खोज्ने, राम्रो कम्पनीमा अनुभव खोज्ने, संघ संस्थामा पार्टी र आफ्ना मान्छेले भर्ने ठाउँ भएसी एउटै गरिब दुखी अलि भनसुन नचल्ने देखेको ठाउँ छ लोकसेवा। जेनतेन इन्जिनियरिङ पढ्यो, पास गर्यो। त्यसपछि लाइसेन्सको लागि पनि पढ्नुपर्ने। लाइसेन्स पनि आयो चार वर्ष देखिको सपना पूरा भएको दिन पनि आउँछ।
मनमा एक किसिमको छुट्टै आनन्द आउँछ अनि मनमनै आउछ 'अब त म जागिर खाएनि इन्जिनियर नखाए पनि इन्जिनियर'।
काम खोज्न हिँड्यो काम कसैले दिई नै हाल्यो भने पाउने भनेको साइट सुपरभाइजर!
पढ्ने बेलामा सोचेका कत्रो सपना अब के भन्नु घरमा!
घरमा छुट्टै सान हुन्छ छोरा इन्जिनियर भयो जागिर नि खायो तर के गर्नु छोरालाई खाएको जागिर एकरती मन परेको छैन।
अब कम्प्युटर इन्जिनियरको पनि छुट्टै रोइलो छ। अरूले सुनाउँछन्- घरमै बसेर २/४ लाख आउँछ भन्छन्।
तर के गर्नु मेरो त दिनरात तनाव मात्रै आउँछ।
जागिरको लागि कहीँ गयो अनुभव सोधेर हेरेको हेर्यै बनाउँछन्। जेनतेन जागिर सुरू गर्यो, तलब चिया खाँदैमा सकिन्छ। विदेश जाऊ भने फेरि भाषा परीक्षा अनि त्यसमा नि पैसा नै चाहियो घरमा भन्नुको विकल्प छैन।
अब जागिर छोड्यो समाजमा यत्रो इन्जिनियर पढेर जागिर नपाएर खाली बसेको छ भन्ने हल्ला गरम् भने जागिर खाँदै पैसा घरमा पठाउँदै, रमाइलो गर्दैगर्दै जीवन जाने छाँटकाट छैन।
पढ्नै पर्यो अब भएन लोक सेवा सरकारी जागिरे भनौं भने घरमा के मुखले भन्ने मलाई अझै पढ्छु भन्ने रहर छ, भनेर।
इन्जिनियरिङको चार वर्षमा पढाइको फी छोडेर छ/आठ लाख चपाइ सकिएको हुन्छ। तै पनि भित्रैदेखि आँट बटुलेर बाआमालाई भन्यो- म सवारी इन्जिनियर हुन्छु, काठमाडौं जान्छु।
काठमाडौं गएर बेजोडले पढ्यो सरकारी इन्जिनियर भएर कार्यालय जाऊँ, देख्नेले परै देखि बाटो बिगार्ने, पुल समयमा नबन्ने, बनेको संरचना छिटो भत्किए भने सबै दोष इन्जिनियर दिनु सिवाय अरू केही छैन।
काम राम्रो गराउन लाग्ने हो भने कहाँबाट कसले धम्की दिने हो कि घरसम्म पुग्छ सबै कुरा अनि आफू त तनाव हुने नै भैयो घरकालाई पनि तनाव सुन्नुपर्छ। काम नराम्रो गरम मुद्दा हालेर हैरान अनि समाचार आएर हैरान हुन्छ अहिले सबै पत्रकार बन्छन्। त्यत्रो रात दिन नभनी पढेर जागिर खाएर सुख होला भन्नी बेला दुनियाँको धम्की खाँदै हिँडेको छोरो देख्दा बाआमा इन्जिनियर पढाएर यस्तो दिन देख्नुपर्यो भन्ने लाग्दो हो।
जागिर नखाम् समाजमा कुरा काटेर हैरान, खाम भने टाउको लुकाउनी ठाउँ छैन यो देशमा।
इन्जिनियरलाई तिर्न ठाउँ कहीँ हुन्न लिने ठाउँ मात्रै हुन्छ भनेर इन्जिनियर पढाएका बाआमालाई छोराछोरी यो हालत देखेसी अनि मनमा आउँछ होला सुख भन्नी कहीँ छैन।
निजीमा जागिर खाऊँ, पैसा अनि सम्मान छैन। सरकारी जागिर खाऊँ भने सुख छैन शान्ति छैन। आज भोलि सरकारीतर्फ पनि बढ्दो प्रतिस्पर्धा अनि जागिर खाइहाले पनि जागिर जोगाउन गाह्रो देखेर मलाई लाग्छ 'अब त कसैले सोच्दैन होला है छोरा इन्जिनियर होस्!'