आफ्नो छोराछोरी अमेरिका पुगे भन्ने खबर सुन्नासाथ आमाबाबुको मनमा जुन गर्वको तरंग उठ्छ, त्यो स्वाभाविक हो। आफ्ना सन्तानले विशाल सपना बोकेर उडेका छन् भनेर आत्मसन्तोषको अनुभूति हुनु कुनै गलत कुरा होइन। तर त्यो गर्वको घडी कतिसम्म यथार्थमा टिकाउ छ भन्ने मुख्य कुरा हो।
स्थलगत रूपमा धेरै नेपाली विद्यार्थी भाइबहिनीहरूले अपनाएको गलत बाटो देखेपछि आजको यस आलेखमा त्यसलाई खोतल्ने प्रयास गरिएको छ। किनभने छोराछोरी अमेरिका पुग्दा सगरमाथा चढेको जस्तै अनुभूति हुने नेपालको मानसिकता र अमेरिका पुगेपछि छोराछोरीलेले उठाउनु पर्ने यथार्थको भारी, दुई फरक यथार्थ हुन्।
नेपालमा रहेका बाबुआमाको नजरमा उनका छोराछोरी अब एक समृद्ध देशको हिस्सा भएका छन्। फेसबुकको फ्रेममा देखिएको त्यो गाडी, रेस्टुरेन्टको फोटो, ब्राण्डेड कपडा, चम्किलो अपार्टमेन्ट- यी सबै उनीहरूका लागि सफलता हुन्। तर त्यो फ्रेम बाहिरको चित्र भने पूर्णतः भिन्न छ।
विशेषतः विद्यार्थी भिसामा अमेरिका आउनेहरूको उद्देश्य शिक्षामा केन्द्रित हुन्छ भन्ने भ्रम मात्र रहनेछ। पढ्न गएका छन् भनेर बाबुआमाले सोचेका हुन्छन् तर उनीहरू भिजेको लुगाझैँ कामको चक्रमा सुक्न नपाउँदै अल्झिरहेका हुन्छन्।
पहिलो महिना होस्, दोस्रो महिना होस्, तेस्रो महिनादेखि नै उनीहरूमा पैसा कमाउने होड सुरु हुन्छ। कोही रेस्टुरेन्टमा, कोही ग्यास स्टेसनमा रात बिताउने गर्दछन्। तर केही यस्ता पनि छन् जो छिटो पैसा कमाउने चक्करमा गैर कानुनी बाटो रोज्न पछि पर्दैनन्। कसैको आत्मा बेचिन्छ, कसैको शरीर।
मन मिलोस् या नमिलोस् एक अर्कामा समर्पित हुन्छन्। बैँस बेचेरै भए पनि डिनरको फोटो हालिन्छ अनि लेखिन्छ— ‘लाइभ योर ड्रिम्स।’ उनीहरू बैँस मात्र होइन, आत्मसम्मान, नीतिगत मूल्य, संस्कार सबै त्यागेर उडानमा छन्। उनीहरू आज चार वटा गाडी, तीन वटा आइफोन, दुइटा क्रेडिट कार्ड, एउटा अपार्टमेन्ट अनि शून्य आत्मा बोकेर बाँचिरहेका छन्।
नेपालबाट हेर्दा त त्यो सफलता जस्तो देखिन्छ तर वास्तवमा उनीहरू अमेरिकाको प्रणालीले थिचेको, घिसारिएको एउटा गुमनाम नाटकको पात्र मात्र हुन्। आज होइन भने भोलि, भोलि होइन भने २० वर्षपछि पनि अमेरिकाको कानुनले उनीहरूलाई बिर्सँदैन। डिपोर्टेसनको घडी कहिले टिक्क गर्छ, थाहा हुन्न। तर त्यो घडी टक्क टक्क बजिरहेको छ।
घरमा राखिएको नगद र नक्कली आइडी फेला पर्ने दिन कहिले हो सोचेका छैनन् उनीहरूले। किनकि उनीहरू अहिले नाच्न व्यस्त छन्, गीत बनाउन व्यस्त छन्, पैसा देखाउन व्यस्त छन्। अनि बाबुआमाले भन्छन्— ‘छोरो त अमेरिका पुग्यो, अब त सब ठिकै होला’।
तर बुझ्नुस्, यदि तपाईंको छोराछोरीको जीवन एक्कासि बदलियो, गाडी आयो, घर आयो, ब्राण्डेड कपडा देखिन थाल्यो अनि त्यो सबै २–३ वर्षमै भयो भने बुझ्नुस् उनीहरू कुनै सही बाटोमा छैनन्।
अमेरिकामा यी सबै सपना यथार्थमा परिणत हुन्छ। तर त्यो सपना यथार्थमा बदलिन वर्ष लाग्छ, आँसु बगाउनु पर्छ, रात हराउनु पर्छ अनि मात्र एक पाइला अघि बढ्न सकिन्छ। यदि त्यो सबै बिनाको सफलता देख्नु भयो भने त्यो सफलता होइन। त्यो छल हो। अनि त्यस छलको मूल्य उनीहरूले एक दिन तिर्नै पर्ने हुन्छ। चाहे त्यो डिपोर्टेसनको रूपमा होस्, जेलको रूपमा या त आजीवन अपराधको पछुतोको रूपमा।
त्यसैले ढुक्क नहुनुहोस्। अमेरिकामा तपाईंका छोराछोरी छन् भन्ने खबरले अब तपाईंलाई गर्व मात्र हैन होइन, सजक पनि बनाओस्। किनकि उनीहरूको जीवनको वास्तविकता त्यो फेसबुकको फोटोभन्दा धेरै फरक छ।
उनीहरू यदि साँच्चिकै संघर्ष गरिरहेका छन् भने उनीहरूले ५ वर्षमा सर्टिफिकेट ल्याउनेछन्। तर यदि उनीहरूले ५ वर्षमै चार वटा गाडी र ब्राण्डेड लाइफस्टाइल देखाए भने बुझ्नुस् उनीहरूले आफ्नो जीवन, आत्मा, भविष्य सबै बरबाद गर्न थालिसकेका छन्।
कसैले आफ्नो बैँस बेचिरहेको छन्, कसैले कानुनको आँखा छलिरहेको छन्। उनीहरू ठुला-ठुला सपना देखिरहेका छन् तर बाटो गलत हुनाले त्यो सपना दुःस्वप्न बन्ने बाटोमा छ। राम्रो जीवन त्यति बेला सुरु हुन्छ जब इमानदारीको बाटोमा पाइला चालिन्छ। तर जब जीवनमा छोटो बाटो अपनाइन्छ तब त्यो यात्रा होइन, त्यो पतनको सुरुवात हुनेछ।
जुन समाजमा एक्कासि सम्पन्नता देखिन्छ तर त्यसका पछाडि कुनै मेहनत छैन भने त्यो समाज एक दिन आत्मघाती बन्न पुग्छ। यदि तपाईं सजग हुनुभएन र समयमा सम्झाउनु भएन भने त्यस्तै हुनेछ तपाईंका छोराछोरीको जीवन पनि। उनीहरू यदि धेरै अगाडि बढे जस्तो देखिन्छन् भने एक पटक हेर्नुस्, उनीहरूले कुन बाटो समातिरहेका छन् ? किनभने अमेरिकामा सजिलो बाटो धेरै छन् तर सही बाटो एकदमै कम।
अमेरिकामा छिटो सम्पन्न हुने सपना देखेर आएका धेरै युवायुवतीहरू वास्तविकता बुझ्न ढिलो गर्छन्। उनीहरूको जीवनशैली, तामझाम, चमकधमकको पछाडि दिनको १६–१८ घण्टासम्मको मेहनत होइन, अक्सर त्यस्तो बाटो हुन्छ जसले उनीहरूलाई एक दिन कानुनी संकटमा पुर्याउँछ।
कसैलाई लाग्न सक्छ, ‘थोरै समय नै त हो, केही गरे के हुन्छ र?’ तर यिनै क्षणिक निर्णयहरूले पूरै भविष्यमा कालो छाया ल्याउनेछ।
कहिले कोही २५ वर्षको उमेरमै हजारौँ डलरको गाडी चलाइरहेका छन्, लाखौँको घडी लगाइरहेका छन्, हजार डलरभन्दा माथिको पार्टीमा साथीहरू जमाइरहेका छन् भने सम्झनोस् त्यो पतनको आडमा कमाएको सम्पत्ति हो।
अनि यस्ता जीवनशैली देखेपछि नेपालका आमाबाबु पनि ‘राम्रो गरेछ, नत्र कसरी यत्रो खरिद गर्यो?’ भने सोच्छन् भने उनीहरू पनि भ्रममा छन्। आमाबाबुले यो बुझ्न सक्नुपर्छ कि तपाईंका छोराछोरीले यो सबै देखाउन इमान बेचेका छन्।
अमेरिकाले हरेक मेहनतीलाई पुरस्कार दिन्छ। तर समय लाग्छ। यो देशको कानुन स्थिर छ। जसले छल गर्छ, ऊ आज होस् या भोलि कानुनको घेरामा आउँछ।
यो जीवन हो जसको सुखद कथा लेख्न धेरैले दुखद अध्याय छोड्न तयार भएका छन्। र त्यो सुखद सपना गलत बाटोबाट सुरु हुँदैन। त्यसैले हरेक आमाबाबुलाई अनुरोध, यदि तपाईंका छोराछोरीको जीवनमा एकाएक परिवर्तन देख्नुभयो भने उनीहरूलाई सोध्नुस्, सम्झाउनुस्। उनीहरूको भविष्य बरबाद हुनबाट जोगाउनुस्। किनभने यो अमेरिका हो जहाँ तपाईं जे रोप्नुहुन्छ, त्यही फल पाउनुहुन्छ।