गाउँ गाउँ जस्तै रहेन, अब गाउँमा मान्छे देखिनै मुस्किल परेको छ। घरका भर्याङ चढ्ने पाइला हराएका छन्। चौतारोका ढुंगा माटोले छोपिएका छन्, अब त्यहाँ न गीत गाउने मान्छे छन्, न त गफ गर्ने मान्छे छन्।
एक समय थियो गाउँमा बिहान अन्न बोक्दै भिर-पाखातिर लाग्नेहरूका पाइला सुरु हुन्थे। गहुँ काट्दै, कोदो पिस्दै, पानी ल्याउँदै हाँसीखुसी रमाइला गीत गाउनेहरू थिए। अब त न कोदो छ, न खेत। सुक्खा जमिन अनि झाडीले ढाकिएको बारी छ। कुनै बेला हाँसो रोदन दुखसुख र कर्मले भरिएका गाउँहरू आज शून्यताको मौनतामा डुबेका छन्।
पहिले पहिले गाउँका खेतबारीमा हलो जोत्दा हलीका आवाजहरू गुन्जन्थे, गाई भैँसीका आवाजहरू सुनिन्थे। अहिले गाउँका बस्तीमा घाँस उम्रिएको छ, बाल्यकाल बिताएका ती पँधेरा जहाँ पानी लिन जानेको भिड हुन्थ्यो, पालो कुर्नु पर्दथ्यो। आज ती ठाउँमा केवल कुवा मात्र बाँकी छन्, पानी खस्न छोडिसकेको छ। खोला-नालाहरू पनि विरक्त लागेर सुक्दै गएका छन्। गाउँलेहरू एक-एक गर्दै काम खोज्न सहर पसे, कोही देश छोडेर प्रवासीय गाउँमा आजकाल बाँकी रहेको भनेको बूढाबूढीको एक्लोपन, सुनसान घर अनि कहिलेकाहीँ मात्र गुन्जिने कुनै पन्छीको आवाज मात्रै हो।
गाउँमा जमिन बाँझिएका छन्। गाउँलेहरूले खेती गर्न छोडेर जीवन चलाउन भन्दै कोही विदेश पलायन भए, कसैले सहरलाई आफ्नो गन्तव्य बनाए। गाउँमा थिएन कि अवसर सिर्जना गर्ने सोच? सहरले गाउँलाई शोषण गर्यो कि गाउँलेहरूले सहरलाई अब्बल ठाने? प्रश्न त अनगिन्ती छन् नि तर जवाफ शून्य छ।
सरकारले गाउँमा विकासका योजनाहरू ल्याएको सुनिन्छ तर यस्ता योजनाले गाउँलाई बाँध्न सकेन। बिजुली आयो, इन्टरनेट पुगेको छ तर गाउँबाट मानिस हराउँदै गएका छन्। समृद्धिको सपना देखेर हिँडेका धेरैले आफ्नो माटो बिर्से, आफैले खेतीपाती गरेका खेतबारी बिर्से, बालापनमा घुमफिर गरेका पाखा-पखेरा बिर्से र लेकबेसी बिर्से। हुँदा हुँदा गाउँघर नै बिर्सिए।
यसरी चटक्कै सबै बिर्सिएर पलायन भएपछि खै कस्तो समृद्धि आउने हो, त्यो पनि बुझ्न सकिएको छैन।
गाउँ रित्तिँदै जानुका पछाडि थुप्रै कारणहरू पनि छन्। संसाधनको अभाव, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्यको असहजता अनि सरकारी उदासीनता, पावर र पहुँच बिना काम नहुने जस्ता समस्याले गर्दा पनि गाउँका मानिसहरू बाँधिन सकेनन्। सहर विकास भयो, गाउँ भत्कियो। नीति त बन्यो समान विकास भनेर तर कार्यान्वयन भयो सहरमुखी विकास मात्र। यसले गर्दा पनि गाउँका मानिसहरू बिरक्तिएर पलायन हुँदै गएका हुन्।
कुनै समय मानिसहरूले जीवनको शान्ति, सामूहिकता र आत्मीयताको नाममा गाउँलाई रोज्थे। तर आजको दिनमा गाउँ अवसरविहीन ठाउँ बन्न पुगेको छ। शिक्षाका लागि सहर, उपचारका लागि सहर, रोजगारीका लागि खाडी वा कोरिया अनि बाँच्नकै लागि परदेश लाग्नुपर्ने बाध्यताको मारमा गाउँ बसोबास गर्नेलाई बाँच्न नसकिने ठाउँ जस्तै लाग्न थालेको छ।
रोजगारको अभाव, खेतबारी त छन् तर जोत्ने मान्छे छैनन्। युवा सबै परदेशिएका छन्। शिक्षा र स्वास्थ्य सेवा अझै कमजोर छ। गाउँमा न त राम्रो विद्यालय छ, भएका विद्यालयमा पनि शिक्षक छन्, विद्यार्थी छैनन्, उपचारको भरपर्दो सुविधा छैन। सडक, सञ्चार, बिजुली जस्ता आधारभूत सुविधा अझै कमजोर छन्।
कृषि र पशुपालनलाई व्यावसायिक रूपमा विकास गरियो भने गाउँमै रोजगारी सिर्जना हुन्छ। साना उद्योग, सीपमूलक तालिम र प्रविधिको पहुँच गाउँसम्म पुर्याइयो भने युवा फर्किन सक्छन्। शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिई सरकारी लगानी बढाइयो भने गाउँ टिकाउ बन्छ। गाउँलाई पालनपोषणको होइन, उत्पादनको केन्द्र बनाउने रणनीति ल्याउनुपर्छ अनि मात्र गाउँमा मान्छे बस्ने वातावरण बन्छ नत्र भने उहीँ कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने झैँ हुन्छ।
राजनीतिमा गाउँको नाम चुनावको बेला मात्रै आउँछ। घोषणापत्रहरूमा गाउँमै रोजगारी, गाउँमा सेवा प्रवाह स्थानीय सरकार सबल भन्ने कुरा लेखिन्छ तर कार्यान्वयनको स्तर कमजोर हुन्छ। गाउँमा बस्ने बूढाबूढीले अब सरकारलाई होइन, आफ्नो भाग्यलाई दोष दिन थालेका छन्। गाउँमा बोल्ने कोही नभए पनि उनीहरूको मन अझै भरिपूर्ण छ गाउँप्रतिको मायाले
गाउँ रित्तिँदै जानु, मान्छे नबस्नु, गाउँ सुनसानपन हुनु कुनै एक व्यक्तिको मात्र असफलता होइन, यो राज्यको, समाजको, हाम्रो सबैको सामूहिक असफलता हो। गाउँ केबल कुनै भूगोल मात्र हैन, यो हाम्रो पहिचान हो। हाम्रो जरा हो। यसलाई पुनर्जीवन दिन युवाहरू फर्किनु पर्छ, उद्यमशीलता भित्र्याउनु पर्छ। उद्योग, पर्यटन, कृषि, शिक्षामा गाउँलाई समेट्न सकियो भने मात्र गाउँ फेरि जीवन्त बन्न सक्छन्। नत्र भने भविष्यका पुस्ताले सायद भन्छन् हाम्रो गाउँ त थियो रे!