नेपालको शान्त पहाडहरूमा ज्येष्ठ नागरिक र बालबालिकाहरूले भरिएका गाउँ बस्तीहरू देख्नु सामान्य कुरा हो। पछिल्लो तथ्याङ्क र प्रवृत्ति हेर्ने हो भने अधिकांश उत्पादक युवा पुस्ता विदेशी भूमिमा पुगिसकेका छन्।
बिरामी पर्दा अस्पताल लैजाने, मर्दा लास बोक्ने व्यक्ति समेत नहुँदा जीवन कष्टकर बनेको यथार्थ थुप्रै राष्ट्रिय समाचारमा देख्ने सुन्ने गरिएको छ, जुन हामी प्रत्यक्ष गाउँ-बस्तीहरूमा जाँदा अनुभव गर्न सक्छौँ। कतार, साउदी अरब, मलेसिया, दुबई, क्रोएसिया हुँदै अस्ट्रेलिया, क्यानडा, जापान, कोरिया आदि देशहरूसम्म नेपालीहरू राम्रो अवसरको खोजीमा देश छाडिरहेका छन्।
देशको लगभग हरेक जिल्लाहरूलाई प्रभावित पारेको यो ठुलो आप्रवासन समकालीन नेपालको सबैभन्दा महत्त्वपूर्ण आर्थिक सामाजिक प्रवृत्ति मध्ये एक हो। जीवनको संकट समाधान गर्ने उपाय खोज्दै आफ्ना प्रमाणपत्रहरू बोकेर आशा र निराशाका बिच वैदेशिक रोजगारीका लागि रोजगार एजेन्सी र सरकारका सम्बन्धित निकायहरूमा लामबद्ध छन्।
सरकारी तथ्याङ्क हेर्ने हो भने दैनिक २७०० भन्दा बढी व्यक्तिहरू वैदेशिक रोजगार र अध्ययनको लागि देश छोडिरहेका छन्। आर्थिक आवश्यकता, व्यक्तिगत महत्त्वाकांक्षा र संरचनागत चुनौतीहरूका कारण उत्पन्न यो वैदेशिक यात्रा लहरले व्यक्ति र परिवार मात्र हैन समग्र नेपाली समाजमा गहिरो र बहुआयामिक प्रभाव पारिरहेको छ।
यसरी युवा शक्ति पलायन हुनुका कारणहरू भनेको देशको सामाजिक, आर्थिक र राजनीतिक परिवेश नै हो। देशको अधिकांश जनसंख्या बसोबास गर्ने ग्रामीण क्षेत्रमा सम्मानजनक र दिगो रोजगारीको अवसरहरू अत्यन्तै न्यून छन्। अधिकांश मानिसहरूको जीवनयापन कृषिमा निर्भर छ तथापि ग्रामीण भेगका खेतबारीहरू बाझो बस्न थालेका छन्, कृषि ज्ञान हराउँदै गइरहेको छ।
जलवायु परिवर्तन, आधुनिक कृषि प्रणालीको अभाव, राज्यको श्रोतको समुचित बाँडफाँड नहुनु आदिले उत्पादकत्व घटेको छ जसले गर्दा आधुनिक परिवारको आवश्यकता पूरा गर्न समेत कठिन छ। उद्योग तथा सेवा क्षेत्रका रोजगारी पनि सीमित र पहुँचमा आधारित छन्। अर्को महत्त्वपूर्ण पक्ष भनेको गरिबी, विकास र अवसरमा असमानता हो जुन अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको छ।
राजनीतिक अस्थिरता र कमजोर शासन व्यवस्थाले नागरिकहरूको राज्यप्रतिको विश्वास र आशा नै दिन प्रतिदिन हराउँदै गइरहेको छ। अस्थिर सरकार, भ्रष्ट्राचार, चुस्त दुरुस्त र निष्पक्ष नीतिको कार्यान्वयन नहुँदा स्वदेशमा नै लगानी र उद्यमशीलताको वातावरण कमजोर बनेको छ। त्यसैले पनि युवाहरूको विदेश पलायन रहरभन्दा पनि आधारभूत जीवनयापनका लागि अवसरको खोजी र आवश्यकता बन्न पुगेको छ।
वैदेशिक बसाइसराइ आर्थिक जरुरतसँगै सामाजिक मान्यता बनिसकेको छ। विदेशमा काम गर्ने र अध्ययन गर्ने, परिवार र समुदायमा एउटा गर्वको विषय बन्ने गरेको छ। वैदेशिक रोजगारीको कमाइले परिवर्तन ल्याएको जीवनशैली, हाम्रो समाजमा एउटा हैसियतको प्रतीक बन्ने गरेको छ जसले अरू युवाहरूलाई पनि विदेश जान प्रेरित गरिरहेको छ।
धेरै नेपाली युवाहरू उच्च शिक्षाका लागि विदेश जान्छन् र उनीहरू त्यहीँ नै स्थायी रूपले बसोबास गर्ने गर्छन् किनकि त्यहाँको विकसित शिक्षा प्रणाली र रोजगारीको विविध अवसर र आर्थिक समृद्धिले युवाहरूलाई आकर्षित गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सले नेपालको कुल ग्राहस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी ओगटेको छ। यसले देशको आर्थिक सन्तुलन कायम राख्न मात्रै होइन ग्रामीण भेगका धेरै परिवारहरूको जीवनयापनमा सहजता ल्याएको छ। उनीहरूको राम्रो स्वास्थ्य, शिक्षा, आवास लगायत आधारभूत सेवाहरूमा पहुँच अभिवृद्धि भएको छ। तथापि वैदेशिक बसाइसराइले ल्याइरहेको बहुआयामिक प्रभावहरूले दिगो विकास र सामाजिक सकारात्मक रूपान्तरणमा चुनौती थपेको छ।
सबैभन्दा सोच्नै पर्ने कुरा के हो भने स्वास्थ्य, शिक्षा, विकास निर्माण आदीको प्राविधिक विज्ञ र दक्ष युवाहरू नै विदेश पलायनको अग्रपङ्क्तिमा छन् जसले गर्दा गुणस्तरीय सेवा पाउनबाट आम सर्वसाधारण वञ्चित हुँदै गइरहेका छन्। विदेशमा अध्ययन गरेर नेपालमा नै सेवा गर्ने विज्ञहरू नभएका भने होइनन् तर अत्यन्तै न्यून मात्र छन्। स्थानीय नेतृत्वमा भूमिका खेल्न सक्ने युवाहरूको अनुपस्थितिले स्थानीय शासन सञ्चालनमा समेत प्रभाव पारेको छ।
अर्को सतहमा नै देखिन थालेको ठुलो चुनौती भनेको सामाजिक सम्बन्धहरूमा आएको उतारचढाव हो। युवाहरू आफ्ना बालबालिका र अन्य परिवारका सदस्यहरूबाट वर्षौँ टाढा बस्न बाध्य छन्। वृद्ध बा-आमा एक्लै परेका छन्। बालबालिका आफ्ना बुवा आमाको रेखदेख तथा असल अभिभावकत्वको प्रत्यक्ष अनुभव बिना नै हुर्किरहेका छन्।
अझ चिन्ताको विषय भनेको वैवाहिक सम्बन्धमा आउने दरारले पारिवारिक विखण्डन, हत्या, हिंसा, सम्पत्तिको दुरुपयोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू बढ्दै गइरहेका छन्। कयौँ नेपाली कामदार र विद्यार्थीहरूले शोषण, दुर्व्यवहार र ज्यानै गुमाउनु पर्ने अवस्थाको सामना गरिरहेका छन्। कयौँ युवा विदेश पलायनको हृदय विदारक उदाहरण बनेर काठको बाकसमा स्वदेश फर्कन्छन्।
अर्को कुरा, राज्य अत्यधिक रेमिट्यान्समा निर्भर हुँदा स्वदेश मानै रोजगारीको अवसर सिर्जना गर्ने र नीतिगत सुधारमा ध्यान नै दिइँदैन। एकातिर वैदेशिक रोजगारीबाट भएको आम्दानीलाई उत्पादकभन्दा पनि अनुत्पादक क्षेत्रमा बढी लगानी गर्ने गरिएको छ। यसले दिगो आम्दानी तथा भविष्यको आर्थिक संकट समाधानमा कठिन बनाउँछ भने अर्कोतिर वैदेशिक श्रम बजार साँघुरियो भने नेपालको अर्थतन्त्र पनि गम्भीर संकटमा पर्दछ।
अध्ययन वा रोजगारीको लागि वैदेशिक बसाइसराइ आफैँमा नराम्रो हैन बरु यसको सही व्यवस्थापन हुनुपर्छ। मुख्यतः सुरक्षित र लाभदायक बसाइसराइ सुनिश्चित गर्नु पर्छ, यसले व्यक्ति र राष्ट्र दुबैलाई फाइदा पुग्दछ। राज्यले श्रम बजारअनुसार सीप विकासमा लगानी गर्नु पर्दछ। श्रमिकको हक, सुरक्षा र कार्य अवस्था सुधारमा केन्द्रित भई आवश्यक सहयोग प्रणाली मजबुत बनाउनु पर्दछ।
महत्त्वपूर्ण कुरा त के छ भने, सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्दै तिनीहरूको अनुभव, पुँजी, ज्ञान र सीपको समेत समुचित प्रयोगको लागि सहजीकरण र प्रोत्साहन गर्नुपर्दछ। युवामा उद्यमशीलता प्रवर्द्धन, सहुलियत 󠅜ऋण र प्रशासनिक झन्झट घटाउँदै निष्पक्ष र अनुभूति हुने गरी दिगो र बलियो अर्थतन्त्र बनाउन प्रेरित गर्नु अपरिहार्य बनेको छ।
आर्थिक फाइदा स्पष्ट देखिएता पनि सामाजिक, मानसिक र समाज विकासमा पर्ने असरहरू उत्तिकै गम्भीर छन्। तसर्थ राज्यले समावेशी विकास, प्रभावकारी शासन र मानव अधिकारको सम्मानमा आधारित रणनीतिको सबलीकरण गर्दै प्रभावकारी कार्यान्वयन गर्न सके मात्र राज्यले आफ्ना जनशक्तिको पूर्ण सम्भावना उपयोग गर्न सक्छ।